
सिरहा : अनिता सदाको विहे भएको झण्डै ९ वर्ष भयो । यो ९ वर्षको दौरानमा उहाँले धेरै उतारढाव भोग्नु भएको छ। सिरहाको कर्जन्हा नगरपालिका १ वयरवनीमा विहे भएर आएको दुई वर्ष सम्म उहाँको घरमा चर्पी थिएन । अलिक अवेर भयो भने डर लाग्ने र शौचालय जान पनि साथी खोजेर जानुपर्ने स्थिति रहेको अनिताले बताउनुभयो।
विहे भएको डेढ वर्ष पछि गाउँमा खुला दिसामुक्त अभियानको थालनी भयो र अनिताको घरमा पनि चर्पी वन्यो । अनिता भन्नुहुन्छ ‘त्यस पछि घरका सवै सदस्यहरुले चर्पीमै दिसा पिसाब गर्ने गरेको छ ।’
चर्पी त वन्यो, तर खानेपानीको समस्या भने छँदै थियो।
‘चर्पीको लागि तथा खानेपानी लगायत अन्य वस्तुभाउको लागि पनि पानी नभई नहुने कुरा हो’ अनिता भन्नुहुन्छ ‘आफनो घरमा कल नभएकोले गाउँको सार्वजनिक कलबाट पानी वोकेर ल्याउनुपर्ने अवस्था थियो । कहिलेकाहीं सार्वजनिक कल विग्रदा, कलमा पानी लिनेको धेरै भीड हुँदा अरुको घरबाट पानी सापटी समेत चलाउनु पथ्र्यो।’

अनिता लगायत वयरवनी गाउँका अन्यले चाहेर पनि निजी कल गाड्न सक्ने अवस्था थिएन । किनकि जमिन मुनि ढुँगे माटो भएकाले पानीको श्रोत जमीनको सतहबाट धेरै तल थियो । त्यसको लागि कल भन्दा पनि डिप बोरिंग जडान गर्नुपर्ने हुन्थ्यो । जुन गाउँलेको औकात भन्दा टाढाको कुरा थियो।
करिव ४ वर्ष अगाडि सबल नेपालले गाउँमा सरसफाइ सम्बन्धी अभियान सञ्चालन गर्न थाले पछि पानीको महत्व र स्वस्थ जीवन जिउनका लागि अति आवश्यक कुरा नै सुरक्षित पानी हो भन्ने कुरा बुझेको अनिताले बताउनुभयो। ‘स्वस्थ पानीमा हाम्रो पहुँच थिएन तर सबल नेपालले यहाँको जनताका लागि सुरक्षित पानीमा पहुँचका लागि गरेको प्रयास, स्थानीय तहको सक्रियता, नगर प्रमुख, नगर उपप्रमुख एवं वडा अध्यक्ष तथा यस वडाका समितिको अथक प्रयासले आज शुद्ध र सुरक्षित पानी पिउन पाएका छौं’ उहाँले भन्नुभयो।
कर्जनहा नगरपालिका वडा नं १ वयरवनीका प्रत्येक घरको अनिता सदाकै जस्तो अवस्था थियो। १६ देखि २० घरधुरी रहेको सदा वस्ती अहिले सरसफाइको क्षेत्रमा नमुना वस्तीको रुपमा परिचित भएको छ। यहाँ प्रत्येक घरमा चर्पी, खानेपानीको लागि धारा एवं स्वच्छता व्यवस्थापन गरिएको छ ।

सबल नेपालले सन् २०१८ देखि सिरहा जिल्लाको विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा Up-scaling WASH System Strengthening Approach in the Terai Region of Nepal (NPL 1082-22) परियोजना BMZ/VCA तथा WelthHungerHilfe WHH को सहयोगमा सञ्चालन गरिरहेको छ ।
यस परियोजनाको मुख्य लक्ष्य सामुदायिक संलग्नता मार्फत पानी सरसफाइको उपलब्धता र दिगो व्यवस्थापनलाई प्रवर्द्वन गर्नु, उपभोक्तालाई गुणस्तरीय खानेपानी सरसफाइ र स्वच्छता सेवा उपलब्ध गराउनु तथा स्थानीय शासनको क्षमतामा अभिवृद्धि गराई उनीहरुको अपनत्व बोध गराई नेतृत्व कायम गराउनु रहेको छ ।
यस कार्यक्रमको माध्यमबाट कर्जन्हा नगरपालिकाको सक्रियता तथा साझेदारीमा स्थानीयलाई सुरक्षित पानीमा पहुँचको लागि १ करोड ६४ लाख ६८ हजार ८ सय १५ रूपैयाँको लागतमा खानेपानी आयोजनाको निर्माण गरिएको छ । जसका लागि कुल लागत मध्ये सबल नेपालले ७० लाख ५ हजार ९ सय ५५ रूपैयाँ, कर्जन्हा नगरपालिकाले ९० लाख ७४ हजार ३ सय ७३ रूपैयाँ र उपभोक्ताले ३ लाख ८८ हजार ४ सय ८६ रूपैयाँ व्यहोरेका छन्।
कर्जन्हा नगरपालिकाको वडा नं १ का ६ सय १९ घरधुरीको अहिले सुरक्षित पानीमा पहुँच पुगेको छ । यसको दिगोपनाको लागि उक्त खानेपानी आयोजनालाई उपभोक्ता समितिलाई जिम्मा दिईएको छ भने वडाले प्रति घरबाट महिनाको एक सय रुपैयाँ महसुल बापत लिने गरेको छ ।


1297 पटक हेरिएको 

