अवलोकन स्थलको रुपमा विकास हुँदै दिसाजन्य लेदो व्यवस्थापन केन्द्र

  वास खबर सम्वाददाता  980 पटक हेरिएको


सिरहा : ठूलो लागत र प्रविधिमा निर्माण भएका दिसाजन्य लेदो व्यवस्थापन केन्द्र हेर्न जोसुकै उत्सुक होलान् । तर, सप्तरीको खडक नगरपालिकामा रहेको मधेश प्रदेशकै पहिलो अस्थायी दिसाजन्य लेदो व्यवस्थापन केन्द्र समेत सिकाइको केन्द्रको रुपमा विकास भइरहेको छ ।

यही बुधबारमात्र नेपालगञ्ज उपमहानगरपालिकाको टोलीले दिसाजन्य लेदो व्यवस्थापन केन्द्रको अवलोकन गरेको छ । कार्यपालिका सदस्य विना थापाको नेतृत्वमा आएको पन्ध्र सदस्यीय टोलीले सो केन्द्रको अवलोकन गरेको छ ।

अघिल्ला दुई महिनामा यस व्यवस्थापन केन्द्रमा सिराहा नगरपालिका, गोलबजार नगरपालिका तथा कर्जन्हा नगरपालिकाका प्रतिनिधि र कर्मचारीहरुले केन्द्रको भ्रमण गरेका छन् ।

सिकाइ केन्द्रको रुपमा विकास गर्ने लक्ष्य

खडक नगरपालिकाले यस लेदो व्यवस्थापन केन्द्रलाई सिकाइ केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । नगरपालिकाका वास फोकल पर्सन विजय चौधरीले केन्द्रलाई सिकाइ केन्द्रको रुपमा विकास गर्न र सुझाव लिनका लागि अन्य नगरपालिकाहरुसँग समेत भ्रमणका लागि छलफल भइरहेको जानकारी दिनुभयो । “गत ज्येष्ठ महिनामा संयुक्त क्षेत्रगत समीक्षाको क्रममा समेत यहाँ विज्ञहरुबाट भ्रमण भयो”, उहाँले भन्नुभयो, “उहाँहरुले समेत केही सिकेर जानुभयो, केही सिकाएर जानुभयो ।”

विशेषगरी सप्तरी र सिराहा जिल्लाका स्थानीय तहहरु असल अभ्यास तथा सिकाइ आदानप्रदानका लागि खडक नगरपालिकाको दिसाजन्य लेदो व्यवस्थापन केन्द्रको भ्रमणमा जाने गरेका छन् ।

खडक नगरपालिकामा एसएनभी नेपालको सहयोगमा वास एसडिजी अन्तर्गत नगर सरसफाइ व्यवस्थापनको काम सवल नेपालले सहजीकरण गरिरहेको छ ।

यस व्यवस्थापन केन्द्रमा स्वदेशीमात्र नभई विभिन्न संघसंस्थासँग सम्बन्धित विदेशी नागरिकहरु समेत यहाँ भ्रमणका लागि आउने गरेको सवल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले जानकारी दिनुभयो ।


खुला दिसामुक्त अभियानको क्रममा चर्पी निर्माण भई खुला स्थानमा दिसा गर्न नपाउने भएपछि चर्पी छिटो भरिन थाले । फलस्वरुप निजी क्षेत्रबाट समेत सेप्टिक टंकी सफा गर्ने ट्यांकर सञ्चालन हुन थाले भने सफाइकर्मीले हातैले लेदो निकालेर बाहिर फ्याँक्ने कामले समेत तीव्रता पायो । मूलतः ट्यांकरले खुला स्थानमा दिसाजन्य लेदो फ्याँक्दा मानव स्वास्थ्य र वातावरणमा नै प्रतिकूल असर पार्न थालेपछि अस्थायी व्यवस्थापन केन्द्रको अवधारणा जन्मिएको बताउनुहुन्छ एसएनभी नेपालका सहरी सरसफाइ विज्ञ कृष्ण जि.सी.।

सन् २०१८ देखि सञ्चालनमा रहेको स्वास्थ्य विकासका लागि सहरी सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत पहिलो चरणमा वानी व्यवहार परिवर्तनका लागि सरसफाइ तथा स्वच्छता क्षेत्रमा रहेका मुख्य वाधक तत्वहरुको पहिचान गरिएको थियो, जस अन्तर्गत दिसाजन्य लेदो व्यवस्थापन समेत एक मुख्य चुनौतिको रुपमा रहेको थियो ।

“तत्पश्चात् सहभागितामूलक रुपमा पाँच वर्षीय नगरस्तरीय सरसफाइ योजना तयार गरियो”, नगरपालिकाका वास फोकल पर्सन विजय चौधरीको भनाइ छ, “यस योजनामा वानी व्यवहार परिवर्तनका लागि १० वटा क्षेत्र निर्धारण गरी कार्ययोजना समेत तयार गरी कार्यान्वयनमा ल्याइयो ।”

दिसाजन्य लेदो व्यवस्थापन नगरपालिकाको एक प्रमुख समस्याको रुपमा रहेको थियो । तर, यसको सम्बोधन भएको थिएन । “दिसाजन्य लेदो व्यवस्थापन सरसफाइ तथा स्वच्छताको एक प्रमुख सवाल हो”, नगरपालिकाका वास फोकल पर्सन चौधरी भन्नुहुन्छ, “त्यसैले, हामीले कुन रणनीति अवलम्वन गर्नुपर्छ भन्ने विषयमा हामी बढी केन्द्रित भयौं ।”


दिसाजन्य लेदो व्यवस्थापन केन्द्र निर्माणका लागि तत्कालीन वडा नं ६ का वडा अध्यक्ष भगवती चौधरीले पुर्व पश्चिम राजमार्गदेखि करिव ३ किलोमिटर उत्तरमा रहेको आफ्नो जग्गालाई ३ वर्षका लागि दिनुभयो । “ट्रेन्च सञ्चालन भई सकेपछि यसको नियमितता एवं दिगोपन अर्को चुनौति बन्यो जसका लागि संस्थाले नगरपालिकासँग मिलेर सर्वप्रथम नगरपालिकाभित्र सेवा यस क्षेत्रमा कार्यरत मेकानिकल र म्यानुअल सरसफाइकर्मीहरुको पहिचान गरी विभिन्न चरणमा उनीहरुसंग वैठक वसी पिटबाट सुरक्षित तरिकाले दिसाजन्य लेदो खाली, ढुवानी तथा बिसर्जन गर्नेबारे तालिम एवम् सुरक्षाका सामाग्रीहरु प्रदान गरियो”, सवल नेपालका परमेश्वर झा भन्नुहुन्छ, “सुरक्षित तरिकाले दिसाजन्य लेदो खाली, ढुवानी तथा बिसर्जनका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरुको सञ्चालन गर्नुका साथै दिसाजन्य लेदो व्यवस्थापनमा पेशागत स्वास्थ्य तथा सुरक्षा सम्बन्धी सञ्चालन कार्यविधि २०७७ लाई नगरपालिकाले अनुमोदन गरिसकेको छ ।”

यतिमात्र नभई नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापन केन्द्रको व्यवसायिक योजना तयार गरी कार्यान्वयनमा ल्याइरहेको छ ।

लेदो व्यवस्थापन केन्द्रले विभिन्न आरोह अवरोह भोग्दै आएको छ । तीन वर्षका लागि प्रदान गरिएको जग्गाको सम्झौता अवधि समाप्त भएपछि सम्झौता नवीकरण नहुनु सबैभन्दा ठूलो चुनौति भएको सम्झनुहुन्छ नगर प्रमुख जय प्रकाश चौधरी । “लामो प्रयासपछि २०७९ मंसीरमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले पूर्वपश्चिम राजमार्गदेखि करिब ५ किलोमिटर उत्तरमा रहेको निजी जग्गा दश वर्षका लागि भाडामा लिई सुरक्षित दिसाजन्य लेदो विसर्जन स्थल एवम् फोहर विसर्जन स्थल निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय भयो”, नगर प्रमुख चौधरी भन्नुहुन्छ, “पहिलेका सिकाइलाई समेत आधार मान्दै अहिले व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ ।”

नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापन केन्द्र सञ्चालन गरेको मात्र होइन, आफ्नै ट्यांकरबाट लेदो निकाल्ने र व्यवस्थापन गर्ने सुविधा समेत प्रदान गरिरहेको छ ।

नगरपालिकाले आम जनताबाट ट्यांकर सेवा लिए बापत दुई हजार दुई सय रुपैयाँ लिने गरेको छ भने निजी क्षेत्रबाट सो सेवा लिन चाहेमा ३५०० देखि ४५०० सम्म तिर्नुपर्छ ।

यद्यपि नगरपालिका वाहेक निजी कम्पनीले पनि दिसाजन्य लेदो खाली गरे पछि यसै बिसर्जन स्थलमा विसर्जन गर्ने गरेका छन् । आगामी दिनमा यसको दिगोपनाका लागि नगरपालिकाले फोहोर एवम् लेदोको मल बनाउने योजना रहेको नगर प्रमुख चौधरी्ले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार