जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

  वास खबर सम्वाददाता  293 पटक हेरिएको

काठमाडौ : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताउनुभएको छ ।

काठमाडौमा आयोजित ‘विश्व जल नेतृत्व कार्यक्रम अन्तर्गत जलस्रोत व्यवस्थापन विषयक अध्ययन प्रतिवेदन’ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापन, उपयोग, संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नदी बेसिनको सहज व्यवस्थापनका सन्दर्भमा भएको अध्ययन प्रतिवेदनलाई राजनीतिकर्मीले स्वीकार गरी नीतिगत कार्यान्वयनमा लैजानुपर्ने मन्त्री बस्नेतको भनाइ छ ।

पानीको सहज व्यवस्थापनका लागि थप गम्भीर बन्नुपर्ने, समस्याको पहिचान गरेर अगाडि बढ्नु आजको प्रमुख कार्यभार भएको उहाँले स्पष्ट पार्नुभयो । जलस्रोतको व्यवस्थापनलाई एकीकृत दृष्टिकोणका साथ हेर्नुपर्ने विषयमा यस अध्ययनले विशेष जोड दिएकोमा मन्त्री बस्नेतले खुसी व्यक्त गर्नुभयो । उहाँले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृत रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

नदी बेसिनको बहुपक्षीय प्रयोगलाई विशेष ध्यान दिँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको र कानुनी एवं संरचनागत विषयलाई ध्यान दिँदै बजेटको विनियोजनलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । जलवायु उत्थानशील जलस्रोत व्यवस्थापनका लागि विश्व जल नेतृत्व कार्यक्रम अन्तर्गत जलस्रोत व्यवस्थापनमा परेका बाधा अड्चन लगायतका विषय अध्ययन प्रतिवेदनमा समेटिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार