पटवाचौरमा झाडापखालाबाट एक बालिकाको मृत्यु

९ जना बिरामीको मिसन अस्पतालमा उपचार हुँदै

  वास खबर सम्वाददाता  323 पटक हेरिएको

पाल्पा : पाल्पाको जुठापौवामा झाडापखालाबाट ११ वर्षीया बालिका सुनिता बुढाथोकीको ज्यान गएको छ भने नौ जना बिरामी परेका छन् । पाल्पा र अर्घाखाँचीको सिमाना रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको पटवाचौरमा झाडापखाला फैलिएको वडा नम्बर ६ का सचिव हुमबहादुर कुँवरले जानकारी दिनुभयो।

सचिव कुँवरका अनुसार पटवाचौरका टिकाराम बुढाथोकीको परिवारका सबैलाई झाडापखाला भएको थियो । उहाँको श्रीमती, दुई छोरी, तीन छोरालाई झाडापखाला भएको थियो । ५ जनालाई मिसन अस्पतालमा उपचारका लागि ल्याइएको थियो भने दुई जना उपचारपछि घर फर्केका छन् । गाउँकै पदमबहादुर जोगी कुँवरको घरमा दुई जना र सीता कुँवरलाई पनि झाडापखाला भएको वडा सचिव कुँवरले बताउनुभयो।

सीताको लुम्बिनी मेडिकल कलेज प्रभास र पदमबहादुरको परिवारलाई मिसन अस्पतालमा उपचार गरिएको छ । जुठापौवा स्वास्थ्य चौकीका प्रमुख ऋषभ पाण्डेयको टोलीले गाउँमा पुगेर झाडापखाला फैलिनुको कारणबारे अध्ययन गरिरहेको छ। दुषित पानीका कारण झाडापखाला फैलिएको हुन सक्ने आशंकामा गाउँलेले पिउने पानीको नमुना संकलन गरी परिक्षण गर्ने काम भैरहेको स्वास्थ्य चौकीका प्रमुख पाण्डेयले जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार