ओखलढुंगा : मोलुङ गाउँपालिका–४ स्थित अति दुर्गम र लेकाली बस्तीमा खानेपानी पुग्दा स्थानीय खुसीले नाचे। उर्लेनी, माझखर्क र खस्रेनीका स्थानीयले विकास के हो भनेर अनुभूत गर्ने विषय भनेकै एउटा खानेपानी योजना भयो।
यसले धेरैका अनुहारमा हाँसो ल्याएको छ। घण्टौं हिँडेर पानी बोक्नुपर्ने बाध्यता हटेर घरघरै धारा छन्। दैनिक निश्चित समयमा पानी आउँछ। ‘पानी भर्न खाना बसालेर पनि सकिन्छ, पहिले–पहिले २ घण्टा हिँडेर पानी बोक्नुपर्थ्यो’, स्थानीय महिलाले भनिन्।
नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको दिगो र समावेशी खानेपानी, स्वच्छता तथा सरसफाइ प्रबर्द्वन कार्यक्रम र मोलुङ गाउँपालिकाको स्रोत साझेदारी तथा स्थानीयको श्रमदानबाट ६२ घरमा धारा जडान गरिएको छ। एउटा स्कुल र एउटा स्वास्थ्य एकाइ समेत उक्त खहरे खस्रेनी खानेपानी आयोजनाबाट ६४ धारा वितरण गरिएको छ।
उपभोक्ताहरूले लगातार ३३ दिन श्रमदान गरेका छन्। पूर्ण अशक्तलाई श्रमदान लगाइएको छैन भने एकल महिला र एकल पुरुषलाई आधा समय श्रमदानमा लगाइएको छ। यसरी पालिकाबाट १५ लाख, दाताबाट ४४ लाख र स्थानीयको १५ लाख बराबरको श्रमदानले बनेको आयोजनाबाट २०८० पुसदेखि घर घरै पानी पुगेको छ।
यसअघि यी गाउँमा २०४५ सालमा सामुदायिक अस्पताल मिसनको एक कार्यक्रममा २०र२२ धारा पानी ल्याउने काम भएपनि त्यसपछि कुनै योजना पुगेको थिएन। अहिले यो खानेपानी आयोजना सम्पन्न भएपछि रेडक्रसकर्मी पुग्दा स्थानीयले ‘पानी खुवाउने सर आयो’ भन्छन्। २०४५ सालपछि गाउँमा आएको यही योजनाले स्थानीयको मुहारमा खुसी ल्याएको रेडक्रसका जिल्ला कार्यक्रम संयोजक खिला गुरागाईँले बताउनुभयो।
गत वर्ष मात्रै यो कार्यक्रम सम्झौता भएर काम सुरु भएपछि स्थानीय बासिन्दा र पालिकाको सहजीकरणमा सहजै योजना सम्पन्न भएको उहाँको भनाइ छ। अघिल्लो वर्ष मात्रै उर्लेनी, माझखर्क र खस्रेनी भञ्ज्याङ जोड्न मोटरबाटोको ट्र्याक खुलेको छ। हिउँदमा जेनतेन बोलेरो र ट्र्याकटर चल्छन्। वर्षात्मा सबै बन्द हुन्छ। यही ट्र्याक खुलेपछि खानेपानी आयोजना पनि सफल भएको हो।
यो गाउँमा अब सडक स्तरोन्नति र बिजुली अति आवश्यक देखिएको खानेपानी आयोजना अनुगमनमा पुगेका नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति नारायण दाहालले बताउनुभयो। ‘यहाँ पानी पछि अब बिजुली अति आवश्यक देखिएको छ’, उहाँले भन्नुभयो।