
पर्वत : पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित लुप्राङमा केही बर्ष पहिलेसम्म १३० घरको बसोबास थियो । खानेपानीको अभावका कारण ४० घरपरिवार अन्यत्रै बसाइँ सरेर गए ।
गाउँमा अहिले बल्ल खानेपानी योजना सम्पन्न भै एक घर एक धारा निर्माण भएको छ । बर्षौदेखि आशा गर्दा गर्दा बल्ल लुप्राङबासीको आवश्यकता पूरा भएको स्थानीय हरिनारायण रेग्मीले बताउनुभयो ।
घर आँगनमै धारा बनेपछि एक गाग्री पानीका लागि मध्य रातमा कुवामा लाइन लागेर बस्नुपर्ने बाध्यताको मात्र होइन, पानीकै कारण बसाईँ सरेर जानेको पनि अन्त्य हुने उहाँको अपेक्षा छ ।
वडाध्यक्ष हरि विकास जिसीले वर्षौंदेखिको समस्या समाधानका लागि लामो समयदेखि नै प्रयास गरे पनि बल्ल सफल भएको बताउनुभयो। लुप्राङ गाउँबाट करिब चार किलोमिटर टाढा रहेको जलजला गाउँपालिका–९ बनौंको लस्ती खोलाबाट पाइप बिछ्याएर गाउँमा खानेपानीको सुविधा पु¥याएको उहाँले बताउनुभयो । एक करोड रुपैयाँ भन्दा बढी लगानीमा पूरा हुने योजना सकिएपछि लुप्राङवासीले नयाँ जुनी फेर्ने वडाध्यक्ष जिसीले बताउनुभयो।
‘त्यहाँको पानीको समस्या वर्षौंदेखिको हो । त्यहाँका बासिन्दा अहिलेसम्म पनि कुवाको पानीमा भर पर्दै आएका छन् । गाउँको सबैभन्दा ठूलो पीर नै पानी थियो’ उहाँले भन्नुभयो। पानीको समस्याकै कारण गाउँ रित्तिँदै जाँदा चिन्ता थपिएको र अब खानेपानी अभावकै कारणले कसैले गाउँ छोडेर बसाईँ जानु नपर्ने उहाँले दाबी गर्नुभयो ।


374 पटक हेरिएको 

