सरसफाइ सम्बन्धी गीत सुनाउँदै फोहोर संकलन

  वास खबर सम्बादाता  314 पटक हेरिएको

तुलसीपुर :  कैलालीको टीकापुर नगरपालिकाले सरसफाइ सम्बन्धी सन्देशमूलक गीत सुनाउँदै बजार क्षेत्रमा फोहोर संकलन गर्ने गरेको छ । नगरपालिकाको फोहोर बोक्ने गाडी आउँदा ‘सरसफाइ गरौं’ भन्ने सन्देशमूलक गीत बजाउँदै आउने गरेको स्थानीय गणेश चौधरीले बताउनुभयो।

टीकापुर बजार क्षेत्रमा दैनिक ५ ट्रली फोहर संकलन हुने गरेको छ । फोहोर संकलनका लागि नगरपालिकामा नवप्रवर्द्धन कार्यक्रम अन्तर्गत गत वर्ष नै ‘गारबेज कम्प्याक्टर मेसिन’ (फोहर बोक्ने मेसिन सहितको गाडी) प्राप्त भएको थियो । उक्त मेसिन सुदूरपश्चिममै ठूलो रहेको नगरपालिका कार्यालयको दाबी छ।

पालिकाभित्र फोहोर संकलन गर्न दुई वटा ट्रली र एउटा फोहर वाहन दैनिक प्रयोग हुने गरेको छ । साथै १४ जना सरसफाइकर्मी दैनिक सरसफाइमा जुट्ने गरेका छन् ।

बिहान ५ बजेदेखि सरसफाइ सुरू गर्छौं, नगरबासीले डस्टबिन (फोहोर फाल्ने भाँडो)मा फोहोर राखिदिएमा सहज हुने थियो’, सरसफाइकर्मी कालुराम डगौंरा थारुले भन्नुभयो ‘फरक फरक खालका फोहोर फरक भाँडोमा राखिदिएमा हामीलाई सजिलो हुने थियो । नगरबासीले सबै खाले फोहोर एउटै डस्टबिनमा राख्ने गर्नुहुन्छ ।’

सरसफाइकर्मी सञ्जु कुश्मीले हरेक दिन बिहान ६ घण्टा सरसफाइमा खट्ने गरेको बताउनुभयो। यो खबर अनलाइन खबरमा छ। ‘सरसफाइ गर्दा चोटपटक लाग्ने, कहिलेकाहीं सुई (सिरिन्ज), सिसाले काट्ने डर हुन्छ’, उहाँले भन्नुभयो, ‘फोहोरमा काम गर्दा विभिन्न रोग लाग्ने, चोटपटक लाग्ने भएकाले पालिकाले स्वास्थ्य बीमा गरिदिनुपर्ने माग गरिरहेका छौं ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार