काठमाडौ : काठमाडौमा आगामी जेठको तेस्रो साता हुन लागेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय संवादमा विश्वका १० देशका मन्त्रीलाई आमन्त्रण गरिने भएको छ।
जलवायु परिवर्तनका विषयमा पर्वतीय क्षेत्रका मुद्दामा सबै पर्वतीय राष्ट्रको समान धारणा बनाउने र यो विषयमा गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई थप प्रभावकारी बनाउने उद्देश्यले संवाद गर्न लागेको मन्त्रालयका सहसचिव डा.महेश्वर ढकालले जानकारी गराउनुभयो।
काठमाडौँको चन्द्रागिरि हिल्समा आगामी जेठ ९ र १० मा हुन लागेको ‘इन्टरनेसनल डाइलग अन माउन्टेन, पिपुल एन्ड क्लाइमेट’ नामक संवादमा विश्वका पर्वतीय मुलुकका प्रतिनिधि, विषय विज्ञ र साझेदार संस्थाका प्रतिनिधि सहित २०० जना सहभागी हुने बन तथा वातावरण मन्त्रालयले जनाएको छ।
जलवायु विज्ञान तथा पर्वतीय प्रमाण, पर्वतीय समाधान र साझा विषयवस्तु र पर्वतीय संसाधन तथा अवसर गरी ३ प्रमुख बिषयमा सवाल केन्द्रित रहने उहाँले बताउनुभयो। यो सम्मेलनमा २ बटा प्लेनरी र सात बटा संवाद सञ्चालन गर्ने तयारी छ।
वन तथा वातावरण मन्त्री नोबल किशोर साहले जलवायु परिवर्तनको विषयमा नेपालले पर्वतीय राष्ट्रको नेतृत्व लिनुपर्ने र अन्तर्राष्ट्रिय संवाद सफल पार्न सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभयो।
सम्मेलनले पारित गरेका विषयवस्तुलाई जूनमा जर्मनीको बोनमा आयोजना हुन लागेको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धी (युएनएफसिसिसी) को वैज्ञानिक तथा प्राविधिक परामर्शका लागि सहायक निकाय (एसबिएसटिए) को ६०औं बैठकमा प्रस्तुत गरिने ढकालले बताउनुभयो।
सम्मेलनमा पर्वतीय क्षेत्रमा हुने जलवायु परिवर्तनको असर भोगिरहेका बङ्गलादेश, श्रीलका तथा माल्दिभ्स जस्ता तल्लो तटीय राष्ट्रलाई सहभागी गराइने तयारी रहेको छ। प्रधानमन्त्री पुष्ककमल दाहालले उद्घाटन गर्ने उक्त सम्मेलनमा संयुक्त राष्ट्र संघका उच्च अधिकारीलाई पनि निम्तो दिइएको डा ढकालले बताउनुभयो।
सम्मेलन तयारीका लागि बन तथा वातावरण मन्त्रीको नेतृत्वमा सल्लाहकार समिति र बन तथा वातावरण मन्त्रालयका सचिवको नेतृत्वमा आयोजक समिति गठन बनाएको छ।