वेल्फेयरको प्राविधिक ज्ञानलाई स्थानीय योजनामा अंगीकार गर्ने

  वास खबर सम्वाददाता  527 पटक हेरिएको


प्युठान : प्युठानको झिमरुक गाउँपालिकाले गोर्खा वेल्फेयर ट्रष्टद्वारा सञ्चालित खानेपानी योजनाको प्राविधिक ज्ञान तथा सीपलाई स्थानीय तहको योजनासँग अन्तर आबद्धता गर्ने भएको छ। पालिकाले निर्माण गर्ने खानेपानी योजनाहरुमा समेत वेल्फेयरकै ढाँचा अबलम्बन गर्ने झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाहीले बताउनुभयो।

‘ट्रष्टले निर्माण गर्ने खानेपानीको सामाजिक तथा प्राविधिक पक्ष नै फरक छ’ प्रमुख प्रशासकीय अधिकृत शाही भन्नुहुन्छ ‘खानेपानी योजना निर्माण गर्नु भन्दा पहिले खानेपानी उपभोक्ता समिति तथा उपभोक्ताहरुलाई तालिम दिने, मर्मत सम्भार कार्यकर्तालाई पहिले नै छनौट गरी तालिम तथा निर्माण अवधिमा क्षमता वृद्धि गर्ने कुराहरु अबलम्बन नगरी नहुने पक्षहरु छन्।’

उहाँले खानेपानीको संरचना निर्माण गर्दा नै मुहान संरक्षण र व्यवस्थापनलाई केन्द्र विन्दुमा राखेर निर्माण गर्ने भएकाले वेल्फेयरको प्रविधिलाई गाउँपालिकाले निर्माण गर्ने योजनामा समेत अन्तर अबद्धता गर्ने बताउनुभयो। ‘हामीले उहाँहरुको जस्तो गुणस्तर त दिन सक्दैनौं, तर केही हदसम्म सुधार भने अवश्य गर्न सक्छौं, अबलम्बन गर्न सकिने जत्ति प्रविधिलाई हामीले किन अंगीकार नगर्ने त ?’ उहाँले भन्नुभयो।

गोर्खा वेल्फेयरले झिमरुक गाउँपालिकामा १० बटा खानेपानी योजना निर्माण गरेको छ। वेल्फेयरकै सहयोगमा वास प्लान निर्माण भएको र आगामी दिनमा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) अद्यावधिक गरी सोही आधारमा मात्र तहगत सरोकार साझेदार निकायबाट आयोजना कार्यान्वयन गर्ने उहाँले बताउनुभयो।


गोर्खा वेल्फेयरसँगको सहकार्यले खानेपानी क्षेत्रमा आधुनिक तथा प्रविधिमैत्री भौतिक संंरचना निर्माण भएको र सुरक्षित खानेपानीमा उपभोक्ताहरुको पहुँच स्थापित भएको उहाँले बताउनुभयो।

गाउँपालिकाको आगामी कार्यक्रम

झिमरुक गाउँपालिकाले पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा देखि अन्य विविध कार्यक्रमहरु तय गरेको छ। प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार गाउँपालिकाले आगामी दिनमा निम्न कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ।

√ पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने ।

√ वास प्लान अनुसार योजन तथा कार्यक्रम गर्ने ।

√ विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा आधारभुत तहको सरसफाइ कार्यक्रम लागु गर्ने ।

√ सुरक्षित खानेपानी सुनिश्चितताका लागि निरन्तर खानेपानी गुणस्तर जाँच गर्ने ।

√ खानेपानी तथा सरसफाइ सम्वन्धी प्राविधिक जनशक्तिको व्यवस्था र क्षमता विकास तालिम सञ्चालन गर्ने ।

√ एन.वास.एम.आई.एस.मा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी तथ्याङ्कहरु अद्यावधिक गर्ने ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार