हेटौंडा : हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्ट उद्योग लिमिटेड जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार बनेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएपछि स्थानीय बासिन्दाको मागको सुनुवाइ र समस्या समाधान गर्न समिति गठन गरिएको छ । उद्योगले सिमेन्ट उत्पादनका क्रममा कोइलाको सट्टा प्लास्टिकजन्य वस्तु प्रयोगमा ल्याएको आरोप लागेको छ ।
हेटौँडा उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले आन्दोलनरत स्थानीयको समस्या पहिचान गरी सुझाव दिन हेटौँडा उपमहानगरपालिका–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको संयोजकत्वमा समिति गठन गरेको हो ।
सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनका क्रममा प्लास्टिकजन्य पदार्थ जलाएको र लामो समयदेखि धुलोका कारण समस्यामा परेको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका थिए । सर्वपक्षीय बैठकले जनताका गुनासाको समाधान गर्ने गरी काम गर्न उद्योगलाई निर्देशन दिँदै अनुगमनका लागि समिति गठन गरिएको हो । समितिलाई स्थानीयको समस्या पहिचान र समाधानका लागि सुझाव सहितको प्रतिवेदन एक साताभित्र तयार गर्ने गरी जिम्मेवारी दिइएको छ ।
उद्योगको नियमित अनुमन गर्ने गरी गठित १८ सदस्यीय समितिको सहसंयोजकमा वडा नं. १७ का वडाध्यक्ष उद्धव सत्याल र सदस्य सचिवमा हेटौँडा उपमहानगरपालिकाका वातावरण इन्जिनियर चन्दा खड्का रहनुभएको छ ।
उद्योगले सिमेन्ट उत्पादनका क्रममा चुनढुङ्गाबाट निस्कने धुलो र सञ्चालनका क्रममा आउने ध्वनि प्रदूषण नियन्त्रण गर्नुपर्ने र उद्योग परिसरमा विभिन्न स्थानबाट सङ्कलित प्लास्टिक जलाए नलाएको निरीक्षण गर्दै सुधारका लागि उद्योगलाई सुझाव सहित निर्देशन दिन नियमित अनुगमनका लागि समिति बनाइएको उपमहानगरपालिकाले जनाएको छ । बैठकमा स्थानीयले विगत १९ वर्षदेखि उद्योगले फैलाएको प्रदूषणका कारण स्थानीयमा श्वासप्रश्वासको समस्या देखिएको बताउँदै पटक पटक उद्योग सञ्चालकसँग बैठक बस्दै सम्झौता गरे पनि उद्योग सञ्चालकले समस्या समाधानका लागि कुनै काम र पहल नगरेको बताएका थिए ।
बैठकमा हेटौँडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले उद्योग सञ्चालकलाई समस्या समाधानका लागि जिम्मेवार बन्न आग्रह गर्दै उद्योगलाई जिम्मेवार बनाउने काममा स्थानीयको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले स्थानीय बासिन्दा बराबर स्थानीय सरकारका लागि कोही नहुने भन्दै अनुगमन समितिको काममा सहयोगी बन्न समेत नगर प्रमुख लामाले उद्योगीलाई सुझाउनु भएको छ ।
बैठकमा नगर उपप्रमुख राजेश बानियाँले स्थानीय बासिन्दालाई दुःख दिँदा उद्योगका समस्या थपिने भएकाले सचेतता अपनाउन आग्रह गर्नुभयो । यो खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ।
नगर प्रमुख लामाको अध्यक्षतामा भएको बैठकमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजाल, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र शिवम् सिमेन्ट प्रभावित क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।