चाँगुनारायण नगरपालिकाको वायु गुणस्तर व्यवस्थापन कार्य योजना सार्वजनिक

  वास खबर सम्वाददाता  780 पटक हेरिएको
🔗
81
Shares

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले वायु गुणस्तर व्यवस्थापन कार्य योजना– २०८० सार्वजनिक गरेको छ । देशका ७५३ स्थानीय तहहरु मध्ये चाँगुनारायण नगरपालिका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने पहिलो नगरपालिका हो । कार्य योजना कार्यान्वयनको चरणमा चाँगुनारायण नगरपालिका अगाडि बढि रहेको छ ।

नेपालको संविधान २०७२ को धारा ३० ले सबै नागरिकलाई स्वच्छ वातावरणमा बाच्न पाउने हकको सुनिश्चित गरेको छ । दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा दिगो सरसफाई उन्मुख देश बनाउने लक्ष्यलाई साकार पार्न चाँगुनारायण नगरपालिकाले सबै वडा, टोल स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरु लगायत बहुसरोकारवालाहरुको सक्रियता र नेतृत्वदायी भूमिकालाई अगाडि बढाईरहेको छ ।

नगरपालिकालाई नमूना नगरपालिका बनाउने अभियान अन्र्तगत वायु गुणस्तर सुधारको लागि पहिलो चरणमा वायु गुणस्तर योजना निर्माण गरी आज सार्वजनिक गरिएको हो।

कुनैपनि योजना वा कार्ययोजना छनौट वा निर्माण गर्दा नागरिकको सहभागिता अनिवार्य हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै चाँगुनारायण नगरपालिकाले वायु गुणस्तर कार्ययोजना निर्माणको क्रममा समेत आम नागरिकलाई सहभागिता गराएको वास शाखाका संयोजक सुरेन्द्र लामिछाने जानकारी दिनुभयो।

२०७९ पौष २४ गतेको १६ औं कार्यपालिका बैठकको निर्णय अनुसार वायु गुणस्तर व्यवस्थापन योजनाको लागि गठन गरिएको ५ सदस्यीय कार्यदलले विभिन्न चरणमा नागरिक संजाल, ईट्टा उद्योग व्यवसायी, फोहोरमैला संकलन तथा व्यवस्थापन गर्ने सेवा प्रदायक संस्था, विद्यालय, स्वास्थ्यकर्मी जनप्रतिनिधि, विषयगत शाखा लगायत सरोकारवाला व्यक्ति तथा संस्थाहरुसँग बैठक, समुहगत छलफल, अन्तरक्रिया लगायतका कार्य गरी जनस्तरबाट राय सुझाव संकलन र पृष्ठपोषण लिने काम गरिएको उहाँले बताउनुभयो।

नगरपालिका क्षेत्रको वायु गुणस्तर सुधारको लागि नगरपालिकाले काठमाण्डौं उपत्यका वायु गुणस्तर योजना–२०७६, मा आधारित भएर चाँगुनारायण नगरपालिकाको वायु गुणस्तर योजना २०८० तयार गरी मिति २०८०/०४/२५ गते नेपाल सरकार, वातावरण विभागको प्रतिनिधिको साथै अन्य सरोकारवालाहरुको उपस्थितिमा योजनालाई थप पृष्ठपोषण सहित अनुमोदन गरी नगर कार्यपालिकाको मिति २०८० श्रावण २५ गतेको कार्यपालिका बैठकबाट कार्य योजना स्वीकृत भएको थियो।

चाँगुनारायण नगरपालिका क्षेत्रको वायु गुणस्तर सुधारको लागि USAID स्वच्छ हावा परियोजना अन्तर्गत FHI 360 र वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) को प्राविधिक सहयोगमा चाँगुनारायण नगरपालिकाको वायु गुणस्तर योजना–२०८० तयार भई सार्वजनिकीकरण भएको हो ।

योजना कार्यान्वयनको लागि सरोकारवाला पक्षहरुको भूमिका महत्वपूर्ण हुन्छ । जसमा नगरपालिकाको नेतृत्व, सरोकारवाला पक्षहरु बीचको आपसी साझेदारी, समुदाय तथा नागरिकहरुको अपनत्व आवश्यक हुन्छ भन्ने भनाई नगर प्रमुख जीवन खत्रीले बताउनुभयो।

“सरसफाइ नै सभ्यता हो, यही भावना जगाऔं, सबै मिली चाँगुनारायणलाई हराभरा बनाऔं’’ भन्ने नाराका साथ योजना सार्वजनिक भएको छ । योजना कार्यान्वयन गरी स्वच्छ र सफा नगरपालिका बनाउने अभियानमा सबै सरोकारवालाहरुको सक्रिय सहभागिताको लागि नगर प्रमुखले सबैलाई अनुरोध गर्दै योजना निर्माणको चरणमा सहयोग गर्ने सबैमा धन्यबाद व्यक्त गर्नुभयो।

नगरपालिकाले आफ्नो आन्तरिक स्रोत साधनको साथै सहयोगी संघ संस्थाहरुको सहयोगमा यो तीन बर्षे कार्ययोजना कार्यान्वयनको चरणमा अगाडि बढिरहेको छ र बिकास साझेदारहरुले नगरपालिकाको बिकासमा निर्वाह गरिरहनु भएको भूमिकालाई सम्मान गदै सहभागीहरुलाई प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले स्वागत गर्नु भएको थियो ।

वडा अध्यक्ष जयन्द्र खड्का, शिक्षा शाखा प्रमुख बीर बहादुर खड्का, कार्यपालिका सदस्य कमला गिरी, स्वच्छ हावा संजाल चाँगुनारायणको अध्यक्ष रबिता कार्की, भक्तपुर ईट्टा उद्योग संघको अध्यक्ष नातिभाइ हेम्बाले बायु गुणस्तरको बिषयमा सल्लाह सुझाब एंव महत्वपूर्ण मन्तव्य राख्नु थियो ।

एन्फोका प्रोजेक्ट म्यानेजर जयश्री राजभण्डारीले वायु गुणस्तर कार्य योजनाले समेटिएको मुख्य बिषयवस्तुहरु माथि प्रस्तुतीकरण गर्नु भएको थियो भने एन्फोक प्रोजेक्ट कोअर्डिनेटर सृजना शाक्यले नगरपालिकाले तयार गरेको वायु गुणस्तर योजनालाई आफ्नो संस्थाबाट कार्यान्वयनको लागि सक्दो सहयोग प्रदान गर्ने भनाई राख्नु भएको थियो । आगामी तीन वर्ष भित्र लक्ष्य पुरा गर्ने गरी वायु गुणस्तर सुधारको लागि मुख्यतया ६ वटा उदेश्यहरु योजनामा समाबेश गरिएको छ ।

विगत केही वर्ष यता बढ्न थालेको काठमाण्डौं उपत्यकाको वायु प्रदुषणले जनस्वास्थ्यमा ठूलो असर पारिरहेको छ । विश्व स्वास्थ्य संगठन (WHO) को तथ्याङ्क अनुशार काठमाण्डौं उपत्यकामा धुलोका कणहरुको बार्षिक औसत घनत्व विश्व स्वास्थ्य संगठनको स्वास्थ्य निर्देशिकामा उल्लेख भएको भन्दा दश गुणा उच्च रहेको देखिन्छ ।

मूलत: यातायातको साधन, फोहोर तथा खेतको सुकेको बोट जलाउने, ईट्टा भट्टा, कालकारखानाबाट निश्किएको धुँवा, बाटो र निर्माण सामग्रीहरुबाट निश्किएको धुलो आदिलाई वायु प्रदुषण कारणको मुख्य रुपमा लिईन्छ । नेपालको तथ्याङ्क अनुसार वायु प्रदुषणले जनस्वास्थ्यमा अत्यधिक असर पारि रहेको छ ।

जस अन्तर्गत बढ्दो फोक्सोको क्यान्सर र दीर्धकालिन स्वास प्रस्वास सम्बन्धी रोगहरु मुख्य रुपमा रहेका छन् । द स्टेट अफ ग्लोबल एअर २०२० ले सन् २०१९ मा वायु प्रदुषणका कारण अनुमानित ४२,१०० जनाको ज्यान गएको छ । जुन सन् २०१५ (वि.स. २०७२) को महाभुकम्प भन्दा बढी छ ।

यसका साथै वायु प्रदुषण धेरै भएको क्षेत्रहरुमा बसोबास गर्ने कोभिड–१९ का विरामीहरुको मृत्यु हुने संभावना पनि उच्च रहेको प्रारम्भिक अध्ययनहरुले देखाएको छ।

USAID स्वच्छ हावा परियोजनाको सहयोगमा कार्ययोजना निर्माण गरिएको हो । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) लगायत FHI360, AIT, EPIC-India / One to Watch Pvt. Ltd स्वच्छ हावाका साझेदार संस्थाहरु हुन् ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार