पाँच वटा नदीलाई प्लाष्टिकजन्य फोहोरमुक्त बनाईने

  वास खबर सम्वाददाता  327 पटक हेरिएको

चितवन : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो ।

प्लास्टिकजन्य फोहर फाल्न नदिन र फ्याँकिएका फोहर सङ्कलन तथा ‘रिसाइकल’ गरी नदीलाई सफा र स्वच्छ बनाउने उद्देश्यका साथ यो परियोजना सञ्चालन गरिएको क्याप परियोजनाका परियोजना प्रमुख उज्वल उपाध्यायले जानकारी दिनुभयो।

ती नदीहरुलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउन ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, बर्दिवास नगरपालिका, गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका र सिन्धुलीको गोलान्जोर गाउँपालिकासँग सहकार्य गरिने क्याप परियोजनाका परियोजना प्रमुख उपाध्यायले जानकारी दिनुभयो।

परियोजना प्रमुख उपाध्यायका अनुसार स्थानीय तहको सहकार्यमा प्लास्टिकजन्य फोहरले पार्ने असरबारे जनचेतना र व्यवस्थापनका विषयमा परियोजनाले विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ ।

‘क्याप परियोजना विश्व बैंकको आर्थिक सहयोगमा क्रिएशन नेपालद्वारा सञ्चालित परियोजना हो । जसले प्लास्टिकको फोहर सङ्कलन संयन्त्रलाई सुदृढ गर्दै प्राविधिक नवप्रवर्तन मार्फत रिसाइक्लिङलाई बलियो बनाएर ल्यान्डफिल र नदीबाट प्लास्टिकको फोहरलाई उत्पादन मूल्य शृङ्खलामा लैजाने लक्ष्य छ’ उहाँले भन्नुभयो।

चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि यो कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्लास्टिकजन्य फोहरले नदीको सौन्दर्य बिग्रिनुका साथै स्वास्थ्यमा असर गर्ने भएकाले अध्यक्ष गुरुङले गाउँपालिकाले यस अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नदी सरसफाइ भएसँगै त्रिशूली नदीमा जलयात्रा पर्यटन वृद्धि हुने उहाँको आशा छ ।

परियोजना प्रमुख उपाध्यायका अनुसार त्रिशूली नदी सरसफाइ अभियानका लागि गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकासँग सहकार्य गरिनेछ । त्रिशूली नदी आसपासका बजार बस्तीबाट निस्किने प्लास्टिकजन्य फोहर सङ्कलन गरी त्यसलाई रिसाइकल गरि मुल्य श्रृङ्खलामा परिणत गरिनेछ । रिसाइकल गरी आम्दानीको स्रोत बनाएपछि प्लास्टिकजन्य फोहर व्यवस्थापनमा सहज हुने उहाँको भनाइ छ ।

स्थानीय तहहरुका लागि प्लास्टिकजन्य फोहर व्यवस्थापन चुनौती बनेकाले यस अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । कार्यक्रम अन्तर्गत समुदायमा पैरवी, नदी सरफाइ अभियान लगायतका काम हुनेछन् । विद्यालयका बालबालिका मार्फत प्लास्टिकजन्य फोहरलाई कसरी वर्गीकरण गर्ने, कसरी व्यवस्थित तरिकाले फोहोरको व्यवस्थापन गर्ने, नदीनालालाई प्लास्टिकमुक्त कसरी बनाउने भन्ने बारे समुदाय स्तरमा चेतना फैलाउने परियोजनाले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार