ललितपुर : काठमाडौ उपत्यकामा अर्को स्मार्ट शौचालय थप भएको छ। ललितपुर महानगरपालिकाको वडा नं. ४ जावलाखेलमा महिलामैत्री, अपाङ्गतामैत्री, बालबालिकामैत्री, वातावरणमैत्री अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सम्पन्न भएको हो। यो सँगै काठमाडौंमा ६ तथा ललितपुर महानगरपालिका भित्र ३ गरी अत्याधुनिक स्मार्ट शौचालयको संख्या ९ वटा पुगेको छ।
ललितपुर महानगरपालिका, एरोसान सस्टेनेवल स्यानिटेशन र वाटर एड नेपालको साझेदारीमा निर्माण गरिएको स्नान गृह सहितको सुविधा सम्पन्न अत्याधुनिक शौचालयको ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन र वाटर एड नेपालका राष्ट्रिय निर्देशक सुदर्शन न्यौपानेले संयुक्त रुपमा विहीबार उदघाटन गर्नुभएको हो।
“विदेश भ्रमणको क्रममा त्यहाँको शौचालय अवलोकन गर्दा त्यहाँको शौचालय भन्दा पाटन ढोकामा एरोसानले निर्माण तथा संचालन गरेको शौचालय सफा र व्यवस्थित रहेको महसुस भएको छ’ महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भन्नुभयो।
उहाँले सार्वजनिक शौचालयमा स्नान गृहको सुविधा देख्न पाउँदा उत्साहित भएको र एरोसानले बनाएको अत्याधुनिक सार्वजनिक शौचालयको गुणस्तर विदेशको भन्दा २० गुणा बढी राम्रो रहेको टिप्पणी गर्नुभयो।
मेयर महर्जनले ललितपुर महानगर भित्र मंगलबजार र पाटनढोकामा अत्याधुनिक सार्वजनिक शौचालय निर्माणको मार्गदर्शक स्व. प्रकाश अमात्यलाई सम्झिदै जावलाखेलमा पनि उहाँको परिकल्पना बमोजिम निर्माण सम्पन्न भएर उदघाटन गर्न पाउँदा खुसी लागेको बताउनुभयो।
‘सार्वजनिक शौचालयको सञ्चालन पनि व्यवस्थित रुमा हुने आशा गर्दछु, अब चाँडै लगनखेलमा पनि स्मार्ट बसपार्क परियोजनासँगै यस्तै अत्याधुनिक सार्वजनिक शौचालय एरोसान सस्टेनेबल स्यानिटेशनको सहकार्यमा निर्माण गर्ने योजना रहेको छ’ उहाँले भन्नुभयो।
ललितपुर महागरपालिकाकै सबै भन्दा ठूलो मच्छेन्द्रनाथ जात्राको समयमा शौचालयको सुविधा दिन निकै नसकेको अवस्था उल्लेख यो शौचालयले जात्रामा आउने स्थानीय लगायत आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो। अत्याधुनिक सार्वजनिक शौचालयको सञ्चालन र व्यवस्थापनका लागि ललितपुर महानगरपालिका र वडा नंं. ४ को सदैव साथ सहयोग र सहकार्य रहने वडा नं. ४ का अध्यक्ष सन्तोष खड्काले प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्व. प्रकाश अमात्यले सुरुवात गर्नु भएको अत्याधुनिक सार्वजनिक शौचालयको सफलता नेतृत्वदायी पदमा रहनु भएका हानगर प्रमुख चिरीबाबु महर्जनको साथ र सहयोगका कारण सम्भव एरोसान सस्टेनेबल स्यानिटेसनका सल्लाकार सोनी श्रेष्ठले बताउनुभयो। ‘एरोसान महानगरमा सफा, महिलामैत्री, अपाङ्गतामैत्री तथा वातावरणमैत्री अत्याधुनिक सार्वजनिक शौचालय निर्माण कार्यमा सदैव महानगरसँग हातेमालो गर्दै अगाडि बढ्नेछ’ उहाँले भन्नुभयो।
शौचालय उदघाटन कार्यक्रममा वाटर एड नेपालका राष्ट्रिय निर्देशक सुर्दशन न्यौपानेले विगत लामो समय देखि स्वास्थ्य तथा सरसफाइ क्षेत्रमा वाटर एड नेपालले पैरवी गर्दै आइरहेको र दिगो सरसफाइका लागि एरोसान सस्टेनेवल स्यानिटेसन र ललितपुर महागरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो।
‘साँच्चिकै यो अत्याधुनिक सार्वजनिक शौचालयमा रहेका सुविधाहरु अन्तराष्ट्रिय स्तरको छ’ उहाँले भन्नुभयो ‘काठमाडौं र ललितपुर महानगरपालिकामा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनको कार्य गर्दै आईरहेको एरोसानले नै यसको सञ्चालन र व्यवस्थापन गर्ने हुँदा शौचालयको दिगो व्यवस्थापन हुने कुरामा म विश्वस्त छु।’
कार्यक्रममा आगामी दिनमा स्थानीय सरकार लगायत अन्य सामाजिक संस्थाहरुसँगको सहकार्यमा मुलुकका अन्य स्थानमा समेत अत्याधुनिक सार्वजनिक शौचालयको निर्माण गर्ने कामलाई निरन्तरता दिने कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले बताउनुभयो।