
धादिङ : धादिङको गंगाजमुना गाउँपालिका स्थित वडा नं.६ को मंसिरे, भंगेरी, आरुबोटे र भैसे टोललाई नमुना सफा तथा स्वच्छ टोल घोषणा गरिएको छ।
गाउँपालिका अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्य एवं प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठको विशेष आतिथ्य तथा वडा नं ६ का कार्यवाहक अध्यक्ष धन बहादुर गुरुङको अध्यक्षतामा नमुना सफा तथा स्वच्छ टोल घोषणा गरिएको शान्ति नेपालका परियोजना संयोजक इन्द्रमान शाक्यले जानकारी दिनुभयो।
गंगाजमुना गाउँपालिकाको आर्थिक सहयोग तथा शान्ति नेपालको सहजीकरणमा सञ्चालित सरसफाइ अभियानबाट थप २६८ घरलाई सफा तथा स्वच्छ नमुना टोल घोषणा गरिएको शाक्यले बताउनुभयो।

पालिक भरिको कुल ५ हजार २६४ घरधुरी मध्ये ९१३ घर सफा र स्वच्छ क्षेत्र घोषणा भईसकेका छन्। यो कुल घरधुरीको १७ प्रतिशत हो। यस अघि पालिकाका १२ प्रतिशत अर्थात ६४५ घरलाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको थियो।
गाउँपालिका अध्यक्ष भक्त लामाले आगामी दिनमा पूर्ण सरसफाइ अभियानलाइ तीव्रता दिई WASH नीति अनुसार सबै वडामा कार्यान्वयन गरिने बताउनुभयो। उहाँले यस कार्यमा वडा तथा समुदायको सक्रियता अपरिहार्य रहने बिश्वास व्यक्त गर्नुभयो।

गंगाजमुना गाउँपालिकाको आर्थिक सहयोग तथा शान्ति नेपालको सहजीकरणमा गाउँपालिकाको ७ वटै वडामा सरसफाइ अभियान सञ्चालन भैरहेको छ।



553 पटक हेरिएको 

