पुराना कुवा र इनार संरक्षण गर्दै गाउँपालिका

  वास खबर सम्वाददाता  302 पटक हेरिएको

घोराही : दाङको राप्ती गाउँपालिका वडा नं. ४ मा पुराना कुवा तथा इनारहरू संरक्षण गर्न थालिएको छ । स्थानीय सरकारको पहलमा पुराना कुवा तथा इनारको संरक्षणको काम थालिएको हो ।

खानेपानीसँगै घरायसी कामका लागि प्रयोग गरेका इनार तथा कुवाहरू बिस्तारै जीर्ण हुँदै गएपछि स्थानीय सरकार संरक्षणमा जुटेको राप्ती गाउँपालिका वडा नं.४ का अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिनुभएको छ । पुराना तथा जीर्ण अवस्थामा पुगेका कुवा तथा इनारहरूको मर्मतसँगै ट्रष्ट निर्माण गरी टिन तथा तार जाली लगाई संरक्षण गर्ने काम गरिएको बताउनुभएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा वडा कार्यालयले विनियोजन गरेको करिब २ लाख रुपैयाँबाट वडा नं. ४ का खिनैटा र जनकपुर गाउँमा रहेका २ वटा पुराना इनार तथा कुवा मर्मत तथा संरक्षण गरिएको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष चौधरीले भन्नुभयो, ‘अहिलेपनि कतिपय स्थानमा वर्षौँ पुराना कुवा र इनार रहेका छन् । त्यी कुवा र इनारलाई संरक्षण गरेर राख्नुपर्छ भन्ने उद्देश्यले तारजालीसँगै जस्ताको पाताको छाना हाल्ने काम गरिएको छ ।’ पछिल्लो समय धाराको पानी खाने क्रम बढेसँगै वडाका विभिन्न बस्तीमा रहेको सार्वजनिक कुवा तथा इनारहरूको संरक्षण नहुँदा वडा कार्यालयले बजेट विनियोजन गरेर संरक्षणमा जुटेको हो ।

वडा अध्यक्ष चौधरीका अनुसार राप्ती गाउँपालिका वडा नं. ४ का विभिन्न १३ वटाबस्तीमा दुई दर्जन बढी कुवा तथा इनारहरू रहेको तिनको पनि संरक्षण गरिने बताउनुभएको छ । इनार तथा कुवाको मर्मत सम्भार गर्दा पुरानो परम्परागत संस्कृतिका रूपमा रहेका कुवा तथा इनारहरूको संरक्षण हुने र गर्मी दिनमा चिसो पानी खान पाइने विश्वास रहेको स्थानीय शालिकराम चौधरी बताउनुहुन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार