युएसएआईडी स्वच्छता परियोजनाको समीक्षा

  वास खबर सम्वाददाता  700 पटक हेरिएको
🔗
68
Shares


डोल्पा : कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका ७ वटा जिल्लाहरुमा सञ्चालित युएसएआईडी स्वच्छता परियोजनाको समीक्षा गरिएको छ। स्वास्थ्य सेवा कार्यालय डोल्पा र ठूलीभेरी नगरपालिकामा छुट्टाछुट्टै समीक्षा बैठकको आयोजना गरी परियोजनाको समीक्षा गरिएको हो।

समीक्षा कार्यक्रमको सुरुमा स्वच्छता परियोजनाको तर्फबाट जिल्ला संयोजक रवीन्द्र विक्रम शाहीले स्वच्छता परियोजनाले डोल्पाको जगदुल्ला गाउँपालिकाको २ वटा, काईके गाउँपालिकाको २ वटा, मुड्केचुला गाउँपालिकाको १ वटा, ठूलीभेरी नगरपालिकाको ३ वटा र त्रिपुरासुन्दरी नगरपालिकाको ४ वटा गरी १२ वटा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता पूर्वाधार निर्माण एवं विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको जानकारी गराउनुभयो।


उहाँले ती स्वास्थ्य संस्थाहरुमा खानेपानी आपूर्ति र हात धुने स्टेशन निर्माण तथा पुनर्स्थापना, लैङ्गिक तथा अपाङ्गता मैत्री चर्पीको निर्माण तथा पुनर्स्थापना तथा वास पूर्वाधार सम्बन्धी साईट सुपरभाइजर र स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनका प्रतिनिधीहरुलाई तालिम दिईएको जानकारी गराउनुभयो।

यस्तै स्वास्थ्य संस्थाहरुमा वास पूर्वाधार मर्मत सम्भारका लागि ग्रामीण मर्मत सम्भार कार्यकर्ता तालिम, वास पूर्वाधार सञ्चालन, मर्मत सम्भार र दिगोपनाको लागि स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन र खानेपानी उपभोक्ता समितिका प्रतिनिधीहरुलाई तालिम प्रदान गरिएको जानकारी गराउनुभयो।


स्वास्थ्य सेवाको गुणस्तर तथा सरसफाइ व्यवहारमा सुधार ल्याउने उद्देश्यले स्वच्छता परियोजनाले डोल्पामा सन् २०१६ देखि २०२१ सम्ममा १० वटा स्वास्थ्य संस्था र सन् २०२१ देखि ०२२ सम्म थप २ वटा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता पूर्वाधार निर्माण गरेको थियो। संक्रमण रोकथाम तथा सेवा प्रदायकको व्यवहार परिवर्तन कार्यक्रम भने १६ वटा स्वास्थ्य संस्थामा सञ्चालन गरिएको थियो। डोल्पामा २३ वटा स्वास्थ्य संस्था छन्।

परियोजनाद्वारा सम्पादन गरिएका कार्यक्रमहरुको बारेमा जानकारी गराएपछि स्वास्थ्य सेवा कार्यालय डोल्पाकी सिनियर अनमी दुर्गा ओझाले स्वास्थ्य संस्थाहरुमा संक्रमण रोकथाम र व्यवहार परिवर्तन सञ्चार सम्बन्धी तालिममा आफूले समेत भाग लिएको जानकारी गराउँदै यो निक्कै उपयोगी भएको बताउनुभयो। ‘परियोजनाले दिएको तालिमहरु एकदमै व्यवहारिक थियो, संक्रमण रोकथामका लागि सेवाग्राही तथा स्वास्थ्यकर्मी आफैले अपनाउनुपर्ने स्वच्छता बानी व्यवहारका बारेमा प्रशिक्षण गराईएको थियो, यो मेरो लागि पनि निक्कै उपयोगी रह्यो’ उहाँले भन्नुभयो।


यस्तै स्वास्थ्य सेवा कार्यालयकै कोल्ड चेन सुपरभाइजर टेक बहादुर गुरुङले डोल्पा जस्तो दुर्गम ठाउँमा स्वच्छता परियोजनाले सञ्चालन गरेका हरेक क्रियाकलापहरु गुणस्तरीय रहेको आफ्नो मूल्याङ्कन रहेको बताउनुभयो। ‘स्वच्छताले धेरै राम्रो काम गरेको छ, डोल्पा जस्तो ठाउँमा सामान ढुवानी गर्न, दक्ष मिस्त्री पाउन, समयमा काम सम्पन्न गर्न कत्ति गाह्रो छ भन्ने कुरा हामीलाई थाहा छ, यसको बाबजुद पनि परियोजनाले धेरै राम्रो काम गरेको देखिन्छ’ उहाँले भन्नुभयो।

परियोजनाले खानेपानी, सरसफाइ र स्वच्छता पूर्वाधार मात्र निर्माण नगरी त्यसको दिगोपनाका लागि निर्माण गरेको संयन्त्र निक्कै अनुकरणीय रहेको उहाँले बताउनुभयो।

परियोजनाले हरेक स्वास्थ्य चौकीमा निर्माण गरेको वासको पूर्वाधारको मर्मत सम्भारका लागि एक जना महिला र एक जना पुरुष गरी दुई/दुई जना मर्मत सम्भार कार्यकर्तालाई मर्मत सम्भार तालिम प्रदान गरेको छ। यस्तै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र खानेपानी उपभोक्ता समितिका प्रतिनिधीहरुलाई समेत वास पूर्वाधार सञ्चालन, मर्मत सम्भार र दिगोपनाको बिषयमा तालिम दिईएको छ।

परियोजनाले मर्मत सम्भार कार्यकर्ता २० जना र खानेपानी उपभोक्ता समिति र स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका २२ जनालाई तालिम दिईसकेको छ।

परियोजनाको समीक्षा बैठक स्वास्थ्य सेवा कार्यालय डोल्पाका कार्यालय प्रमुख डा.रत्न बीर सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो।


परियोजनाले ठूली भेरी नगरपालिकाका प्रमुख श्वबर्ण कुमार बुढासँग पनि सम्वाद गरी ठूली भेरी नगरपालिका भित्रका ३ वटा स्वास्थ्य संस्थामा सञ्चालन गरिएको कार्यक्रमहरुका बारेमा जानकारी गराएको छ। परियोजनाका जिल्ला संयोजक रवीन्द्र विक्रम शाहीले ठुलीभेरी नगरपालिकाको वडा नं. ५ मा रहेको माजफाल स्वास्थ्य चौकी, वडा नं. ७ को जुफाल स्वास्थ्य चौकी र वडा नंं. ११ को रह स्वास्थ्य चौकीमा परियोजनाले खानेपानी, सरसफाइ र स्वच्छता पूर्वाधार निर्माण एवं विभिन्न तालिमहरु सञ्चालन गरिएको जानकारी गराउनुभयो।


उहाँले परियोजना र नगरपालिकाको लगानीमा निर्मित सम्पूर्ण पूर्वाधारहरु सम्बन्धित स्वास्थ्य संस्थाकै सम्पत्ति भएकाले नगरपालिकाले त्यसको स्वमित्व लिई नियमित अनुगमन, रेखदेख एवं मर्मत सम्भारको लागि कोषको व्यवस्था गर्न पनि आग्रह गर्नुभयो। जिल्ला संयोजक शाहीले संक्रमण रोकथाम तथा सेवा प्रदायक व्यवहार परिवर्तनका लागि नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गर्न पनि आग्रह गर्नुभयो।

नगर प्रमुख बुढाले आफू निर्वाचित भएर आउँदा परियोजनाले कार्य सम्पन्न गरिसकेकाले कुन कुन स्वास्थ्य संस्थामा के कस्ता कार्यक्रम भएको भन्ने बिषयमा जानकारी नभएकाले नियमित अनुगमन गर्न नपाएको बताउनुभयो। उहाँले सम्बन्धित स्वास्थ्य संस्थाहरुमा निर्माण भएका संरचनाको अवलोकन गर्ने र स्वच्छताले दिएको सुझावलाई मनन गर्दै आगामी दिनमा ती क्रियाकलापहरुलाई दिगो राख्न सम्बन्धित स्वास्थ्य संस्थाको अनुरोधमा बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


यस्तै जुफाल स्वास्थ्य चौकीका प्रमुख राजन कुुमार डाँगीले स्वच्छता परियोजनाले स्वास्थ्य संस्थाहरुको सेवामा गुणस्तर अभिवृद्धि गर्नका लागि गरिएको सबै पहल अनुकरणीय रहेको बताउनुभयो। उहाँले स्वास्थ्य संस्थामा नियमित सुरक्षित खानेपानीको आपूर्ति हुनुपर्ने, अपाङ्गतामैत्री शौचालय निर्माण हुनुपर्ने, स्वास्थ्य संस्था जन्य फोहोरको वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने भनेर जुन जुन पूर्वाधार निर्माण गर्नुभयो, यो हाम्रो लागि मार्गदर्शन बन्यो’ उहाँले भन्नुभयो।


जुफाल स्वास्थ्य चौकीमा खानेपानी आपूर्ति, सरसफाइ तथा फोहोर व्यवस्थापन संरचना निर्माण तथा स्तरोन्नतिका लागि ठूलीभेरी नगरपालिकाको तर्फबाट ८ लाख ७२ हजार ३७२ रुपैयाँ, स्वच्छता परियोजनाको तर्फबाट १९ लाख ४१ हजार ४०८ रुपैयाँ र सौर्य उर्जा प्रणाली जडानका लागि वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको तर्फबाट ३ लाख २ हजार ८२५ रुपैयाँ, ठूली भेरी नगरपालिकाको तर्फबाट ३ लाख रुपैयाँ र स्वच्छता परियोजनाको तर्फबाट ३ लाख ७५ हजार रुपैयाँ गरी ३७ लाख ९१ हजार ६०५ रुपैयाँ लगानी भएको थियो।

परियोजना सफल बनाउन नगरपालिकाले गरेको सहकार्यको मूल्याङ्कन गर्दै परियोजनाको तर्फबाट नगरपालिकालाई कदर पत्र समेत वितरण गरिएको छ।


कदर पत्र ग्रहण गर्दै नगर प्रमुख बुढाले डोल्पा जस्तो जिल्लामा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी कार्यक्रमहरुको खाँचो रहेको र नगरपालिकाले विकास साझेदारहरुसँग सदैव साझेदारी गर्न तयार रहेको बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार