न्यून बजेट विनियोजन हुँदा पर्वतका १ सय १५ खानेपानी आयोजना भग्नावशेषमा परिणत हुँदै

करिब एक अर्ब ८० करोड बजेट आवश्यक

  वास खबर सम्वाददाता  405 पटक हेरिएको

पर्वत : बजेट अभावले पर्वतका १ सय १५ खानेपानी आयोजना अधुरै रहेका छन्। ‘एक घर एक धारा’ पुर्‍याउने लक्ष्य सहित आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएका दुई बर्षे र पाँच बर्षे योजना बजेट अभावमा डेढ दशक सम्म पनि बन्न सकेका छैनन्।

हाल जिल्लामा सङ्घीय र प्रदेश सरकारका दुई करोड देखि २० करोड लागतका एक सय ३० खानेपानी आयोजना छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङको पर्वत एकाइका इन्जिनियर प्रेम थापाले सात स्थानीय तहमा रहेका ती आयोजना सम्पन्न गर्न करिब एक अर्ब ८० करोड बजेट आवश्यक पर्ने बताउनुभयो।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख सिनियर डिभिजनल इन्जिनियर किरण पौडेलले बर्षेनी कम्तीमा ५० करोड बजेट आवश्यक पर्नेमा चालु आर्थिक वर्षमा १८ करोड ९० लाख मात्र अख्तियारी आएको बताउनुभयो।

‘यो वर्ष आवश्यक बजेटको १० प्रतिशत मात्र विनियोजन भएको छ’, पौडेलले भन्नुभयो, ‘हामीले द्रुतगतिमा काम गर्छौं भने पनि बजेट अभावले कार्यान्वयनमा रहेका योजना पनि सो अनुसार अगाडि बढाउन सकेका छैनौं। त्यसैले धेरै योजना भग्नावशेषमा परिणत हुँदैछन्।’

यहाँका अधिकांश आयोजना लागत साझेदारीमा सञ्चालित छन्। उपभोक्ताले २० प्रतिशत श्रमदान र मर्मत सम्भार कोषमा एक प्रतिशत नगद लगानी गर्नुपर्ने नियम छ।

‘एक घर एक धारा पुर्‍याउने सङ्घीय र प्रदेश सरकारको लक्ष्य भए पनि पर्याप्त बजेट नहुँदा १६ वर्षअघि देखिका योजना समेत पूरा हुन सकेका छैनन् । यद्यपि करिब १५ हजार घरमा एक घर एक धारा जडान भएको छ’, कार्यालय प्रमुख पौडेलले भन्नुभयो, ‘योजना थप्दै जाने तर पर्याप्त बजेट विनियोजन नहुने समस्याले अधुरा र अपूरा योजनाको संख्या बढ्दै गएका छन्। अब बजेटको आकार बढाउन पहल गर्नुपर्ने आवश्यकता छ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार