
नेपालगन्ज : गर्मीको समयमा नेपालगन्जका अधिकांश हाते पम्पमा पानी आउन बन्द हुन थालेपछि पानीको वैकल्पिक व्यवस्थाका लागि परम्परागत इनारको संरक्षणमा स्थानीय जुटेका छन् ।
अत्यधिक गर्मीका बेला पानीको सतह घट्ने गरेकाले पानीको समस्या हुन थालेपछि परम्परागत रूपमा रहेका जीर्ण भइसकेका र पुरिइसकेका इनारको समेत पुनः मर्मत सम्भार गरेर सरंक्षण सुरु गरिएको हो ।
नेपालगन्ज–११ का वडाध्यक्ष नन्दकिशोर कश्यपले वडामा पानीको सतह घटेर पानीको समस्या हुन थालेपछि वडाभित्रका इनार संरक्षण सुरु गरिएको बताउनुभयो । उहाँले इनार सरंक्षणले हाते नलमा पानी घटेका बेला वैकल्पिक पानीको व्यवस्था गर्नुका साथै साँघुरो गल्ली र टोलमा आगलागी हुँदा मोटरसाइकल, दमकल लगायतलाई पानी लिन सहज हुने बताउनुभयो ।
उता नेपालगन्ज उपमहानगरपालिकाले पनि नगरका साँघुरा गल्लीमा हुन सक्ने आगजनीको जोखिमलाई ध्यान दिई परम्परागत इनारको संरक्षण गर्न सुरु गरिएको जनाएको छ । नेपालगन्जका मेयर प्रशान्त विष्टले नेपालगन्ज–३ र ७ का अधिकांश ठाउँ साँघुरा रहेकाले चारपाङ्ग्रे सवारीसमेत प्रवेश गर्न नसक्ने बाटो रहेका कारण आगलागीजन्य विपत्का समयमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि इनार संरक्षणमा जोड दिइएको बताउनुभयो ।
उहाँले यसले पानीको वैकल्पिक व्यवस्था गर्ने र आगलागीमा पनि सहज हुने हुँदा इनार कुवा संरक्षण सुरु गरिएको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीले उपमहानगरमा सञ्चालन गरेको सहरी विपत् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले इनार संरक्षणमा सहयोग गरिरहेको छ ।
वडा नं. ७ मा पुराना कुवालाई संरक्षण गरी चार हजार लिटर पानी ट्याङ्कीमा सङ्कलन गरिराख्ने व्यवस्था मिलाइएको स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “वडा कार्यालय र स्थानीय टोलवासीसँगको सहकार्यमा परम्परागत कुवा संरक्षण गरी आगजनीजन्य विपत्का बेला पानी प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।” साँघुरो गल्लीभित्रको बस्तीमा आगजनी भएमा ट्याङ्कीमा जम्मा गरिएको कुवाको पानीले आगो नियन्त्रण गरिने योजना बनाइएको छ ।
आगो नियन्त्रण तथा समुदायस्तरमा खोज, उद्धार र प्राथमिक उपचारका लागि १८३ स्वयम्सेवक परिचालन गरिनुका साथै वडा नं. ३ र ७ मा जनचेतना कार्यव्रmमसमेत सञ्चालन गरिएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताउनुभयो ।
दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेका बस्तीमा आगजनी नियन्त्रणका लागि स्थानीय कुवाबाट पानी सङ्कलन गरी ‘ड्राइफायर हाइड्रेन्ड’ विधिको विकास गरिएको छ ।
यस विधिमा कुवाको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीमा बस्तीभित्र पुग्ने गरी पाइप जडान गरिएको नेपालगन्ज उपमहानगरपालिका–७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले जानकारी दिनुभएको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ।
उहाँले वडाभित्रका सबै जसो कुवाको संरक्षण सुरु गरिएको बताउनुभयो । इनारलाई सफा गरेपछि अहिले लुगा धुन, नुहाउन, करेसाबारीमा प्रयोग गर्नेलगायत कामका लागि पानीको प्रयोग हुन थालेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।


490 पटक हेरिएको 

