
काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताह ‘सफा धर्ती स्वस्थकर बानी, दिगो सरसफाइ भविश्यको लगानी’ भन्ने नाराका साथ मनाईदैछ। हरेक बर्ष विश्व वातावरण दिवस अर्थात जुन ५ देखि सप्ताहव्यापी मनाईने यस बर्षको ‘सरसफाइ सप्ताह’ २५ औं संस्करण हो ।
यस्तै ‘हाम्रो भूमि, हाम्रो भविश्य भन्ने नाराका साथ ५२ औं विश्व वातावरण दिवस समेत मनाईदैछ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
यसै सन्दर्भमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको छाता संगठन खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन तहगत महासंघ, उपभोक्ता समितिहरु र सरोकारवाला समक्ष अनुरोध गरेको छ।
२०६० सालमा स्थापना भएको महासंघले खानेपानी तथा सरसफाइ क्षेत्रको नीतिगत पैरवी, उपभोक्ता समितिहरुको क्षमता विकास, उपभोक्ताहरुमा सचेतना अभियान लगायत सञ्चालन गर्दै आईरहेको छ ।


823 पटक हेरिएको 

