
बर्दिया : बर्दियाको ध्रुव माध्यमिक विद्यालय तुल्सिपुरमा पहुँचयुक्त खानेपानी सरसफाइ तथा स्वच्छता सुविधा अन्तर्गत पहुँचयुक्त शौचालयको निर्माण कार्य सुरु भएको छ । वाटर एड नेपालको आर्थिक सहयोगमा नेपाल प्रजनन स्याहार केन्द (एनएफसीसी), राष्ट्रिय अपांग महासंघ नेपाल (एनएफडीएन) को प्राविधिक सहयोगमा बेस संस्था द्वारा संचालित वास गेन्स परियोजना अन्तर्गत पहुँचयुक्त शौचालयको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले शिलान्यास गर्नुभयो।
उक्त शौचालयमा छात्राको लागि ५ कोठा, अपांगता भएका बालबालिकाहरुका लागि १ कोठा र छात्रहरुको लागि यूरिनल सहितको ३ कोठा रहनेछ।

४१ लाख ५२ हजार लागतमा पहुँच युक्त शौचालय, सेप्टिक टंकी, सोकपिट, ८ धारा सहितको ह्याण्डवास स्टेशन, ८ धारा सहितका खानेपानी स्टेशन, फोहोर ब्यवस्थापन खाडल, ट्युवेल प्ल्याटफर्म लगायतका संरचनाहरुको नयाँ निर्माण हुने साथै विद्यालयमा रहेका पुराना खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी सुविधाको मर्मत कार्य पनि गरिने योजना रहेको वास गेन्स परियोजनाका प्राविधिक अधिकृत बसन्त यादवले जानकारी दिनुभयो।
पहुँचयुक्त शौचालय निर्माणका लागि गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तीनाथ यादवले शिलान्यास गर्दै उहाँले वास गेन्स परियोजना मार्फत गुलरिया नगरपालिकाका १० ओटा माध्यमिक विद्यालयहरुमा पहँुचयूक्त खानेपानी सरसफाइ तथा स्वच्छता संरचनाहरुका निर्माण र मर्मत कार्य निक्कै उपलब्धी मुलक भएको बताउनुभयो । उहाँले निर्माण भएका संरचनाको मर्मत सम्भार र सञ्चालन गर्ने जिम्मेवारी विद्यालय र नगरपालिकाले लिने बताउनुभयो । विद्यालयलाई नगरपालिका र संघसंस्थाले सहयोग गरिरहेको बताउँदै नगर प्रमुख यादवले शैक्षिक गुणस्तर वृद्धिको लागि सबै लाग्नु पर्ने बताउनु भयो ।
गुलरिया नगरपालिकाकै उत्कृष्ट विद्यालय बनाउनका लागि विद्यालय परिवार लाग्नका लागि निर्देशन दिँदै उहाँले नगरपालिकाको तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

तीन तारे विद्यालय बनाईने
विद्यालयलाई तीन तारा बनाउने गरी बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु र छात्रामैत्री शौचालयको निर्माण गरिने भएको छ । नेपाल सरकारको विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुरुप स्तरीय संरचना निर्माण गरी तीन तारे विद्यालय बनाउने उद्देश्यले निर्माण प्रक्रिया अगाडि बढाईएको बेस बर्दियाका अध्यक्ष विष्णु चौधरीले बताउनुभयो ।
हाल गुलरिया नगरपालिकाले आफ्नै विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि अनुमोदन गरिसकेको छ र सोही कार्यविधि अनुसार पालिकाले विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रमहरु संचालन गर्दै जानुपर्नेमा वाटर एड नेपालका प्राविधिक अधिकृत रविन्द्र गोदारले जोड दिनुभयो ।
बर्दिया जिल्लाका ३३ ओटा विद्यालयमा वास गेन्स परियोजना सञ्चालन भइरहेको छ । परियोजनाले सुरुको पहिलो बर्ष १५ वटा विद्यालयमा पहुँचयुक्त शौचालय, खानेपानी धारा, हातधुने धारा लगायतका खानेपानी सरसफाइ र स्वच्छता सँग सम्बन्धित संरचना निर्माण तथा मर्मत सम्भार गरेको थियो ।
परियोजनाको पहिलो वर्षमा करिब २ करोड ७९ लाख ७९ हजार लागतमा निर्माण तथा मर्मत सम्भार गरिएको थियो भने यस बर्ष परियोजना सञ्चालन भएका बाँकी १८ ओटा विद्यालयहरुमा खानेपानी सरसफाइ र स्वच्छताका पहुँचयुक्त संरचना निर्माण सुरुवात गरिएको छ ।
वास गेन्स परियोजनाका परियोजना संयोजक जगदिश प्रसाद चौधरीका अनुसार गत बर्ष निर्माण भएका संरचनाहरु हाल सञ्चालनमा आईसकेको र यस बर्ष निर्माण कार्यको सुरुवात संगै अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई व्यवहार परिवर्तनको लागि सचेतनामुलक कार्यक्रम समेत संचालन गरिरहेको छ।
विद्यालयमा समाबेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा उपलब्ध गराउने र अपाङ्खता भएका वालबालिकाहरु र किशोर किशोरीहरुको पहुँच बृद्धिका लागि सिकाईको वातावरण सिर्जना गर्ने उद्देश्यले वास गेन्स परियोजना १ अप्रिल २०२३ देखि सुरुवात भएको हो ।
३१ मार्च २०२६ मा सम्पन्न हुने यस परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिकाको २ माध्यमिक र ३ ओटा आधारभुत विद्यालय, बारबर्दिया नगरपालिकाको ४ माध्यमिक र ६ आधारभुत विद्यालय, गुलरिया नगरपालिकाको १० ओटा माध्यमिक विद्यालय, मधुवन नगरपालिकाको २ ओटा माध्यमिक विद्यालय, र गेरुवा गाउँपालिकाको ४ माध्यमिक र २ ओटा आधारभुत विद्यालय गरी जम्मा ३३ वटा विद्यालयहरुमा संचालन भईरहेको छ ।


775 पटक हेरिएको 

