जाजरकोट भूकम्पको केन्द्रविन्दु रामीडाँडा पुग्दा …….

  पी.टी.लोप्चन  478 पटक हेरिएको

काठमाडौ : ‘भूकम्पको केन्द्रबिन्दु । सबै घरहरु ढलेर पाखोमै छाप्रो हालेर बसेका होलान्, सक्नेहरुले घरको छानो हाल्दै गरेको हुँदो हो,  बालबालिकाहरु टेन्ट टाँगेर पढिरहेका होलान् ? स्वास्थ्य चौकीको सेवा प्रभावित भएको होला ? शौचालय भत्किएपछि खुला ठाउँमै दिसापिसाब गर्ने बाध्यता आईलाग्यो होला ?’

जाजरकोटको नलगाड नगरपालिकाबाट अगाडि बढेर बारेकोट गाउँपालिकाको वडा नं. १ रामीडाँडा तर्फ बाटो सोझ्याउँदै गर्दा रामीडाँडाको बारेमा मैले यस्तै सोचेको थिएँ ।

गाडी चालक उत्तम दाइले रामीडाँडाको स्वास्थ्य चौकीकै अघिल्तिर पुर्‍याएर गाडी रोक्नु भएछ। बाहिर निस्किँदा पो थाहा पाएँ । ‘हाम्रो स्वास्थ्य चौकी यही हो’ स्वास्थ्य चौकी भवन देखाउँदै विष्णु ज्योतिले भन्नुभयो । स्वास्थ्य चौकीका प्रमुख ज्योति पनि हामी सँगै गाडीमा सवार हुनुहुन्थ्यो।

स्वास्थ्य चौकीको गेटबाट प्रवेश गर्नसाथ ‘खुसी र सुखी जीवनका लागि स्वस्थकर बानी व्यवहार’ भन्ने होर्डिङ बोर्डले स्वागत गर्दो रहेछ।

खुसी र सुखी बन्ने चाहना कस्को हुँदैन होला ? झनै स्वस्थकर बानी व्यवहारले नै परिवारमा खुसी र सुख छाउँछ भने किन नगर्ने ? सायद यस्तै सम्झेर होला, स्वास्थ्य चौकीमा आउने धेरै जसो त्यही आएर अडिँदा रहेछन् । आफ्नै आँखाको सामुन्ने ठड्याएको बोर्डले मेरो पनि ध्यान नतान्ने कुरै भएन।

‘चर्पी प्रयोग गरेपछि अनिवार्य रुपमा पानीले सफा गरौं र कम्तीमा हप्ताको १ पटक केमिकलले चर्पी सफा गरौं, बच्चाको दिसा सधैं चर्पीमा नै विसर्जन गरौं’ लेखिएको रहेछ बोर्डमा ।

‘खानेपानीलाई शुद्धिकरण गरेर मात्र पिउन, जोखिमपूर्ण अवस्थामा सबै साबुन पानीले हात धुन, महिनावारी भएको समयमा सफा कपडा वा स्यानिटरी प्याड प्रयोग तथा व्यवस्थापन गर्न पनि बोर्डमै सचित्र बर्णन गरिएको रहेछ।’

होर्डिङ बोर्डको पुछारमा लेखिएको नाम हेरेर थाहा पाएँ, आफ्नो बानी व्यवहारमा सुधार ल्याए सुखी र खुसी जीवन जिउन सकिने सन्देश सहितको बोर्ड युएसएआइडी/स्वच्छता परियोजनाले टाँसेको रहेछ।

हामीसँग युएसएआइडी/स्वच्छता परियोजनाका जिल्ला संयोजक रबिन्द्र विक्रम शाही पनि सँगै हुनुहुन्थ्यो । अब मलाई यस परियोजनाका बिषयमा थप जान्ने उत्सुकता जागेर आयो ।

स्वच्छता परियोजनाले रामीडाँडा स्वास्थ्य चौकीमा खानेपानी आपूर्ति तथा सरसफाइ सम्बन्धीका कामहरु गरिएको उहाँले बताउनुभयो । ‘खानेपानीका लागि पाइपलाइन कार्य, पानी शुद्धिकरण प्रणाली र महिला तथा अपाङ्गतामैत्री शौचालय निर्माण र प्लम्बिङको कार्य गर्‍यौं’ उहाँले भन्नुभयो।

‘कहाँ त्यत्ति मात्र हो र सर ?’ जिल्ला संयोजक शाहीको कुरा राम्रो सँग सकिन नपाउँदै स्वास्थ्य चौकीका प्रमुख ज्योतिले बेलिबिस्तार लगाउन थाल्नुभयो ‘हाम्रो प्रत्येक वार्डमा फरक फरक रङका बाल्टिनहरु राखिदिनुभएको छ । संक्रमण रोकथाम र नियन्त्रण सम्बन्धी तालिम दिनुभएको छ । प्रत्येक सेवा दिने ठाउँहरुमा हात धुने बेसिन बनाई दिनुभएको छ, सम्बन्धित वार्डमै हात धुने बेसिनको व्यवस्था भएपछि सेवा दिन कत्ति सजिलो भएको छ।’

एकैछिन अघिसम्म रबिन्द्र सरसँग गफिन सुरु गरेको मेरो ध्यान अब ज्योति सर तर्फ मोडियो । ‘त्यसपछि के भयो त ? ‘फोहोर वर्गीकरण गर्ने कामहरु भैरहेको छ । सामानहरु निर्मलीकरण गर्न सजिलो भएको छ, व्यवहार परिवर्तन सम्बन्धी तालिमहरु स्वास्थ्यकर्मी, स्वयं सेविकाहरुलाई दिनुभएको छ, स्वयंसेविकाहरुले आमा समूह हुँदै घरघरसम्म पुर्‍याउनुहुन्छ ।’

सुर्खेतमा स्वास्थ्य चौकी इन्चार्ज र नर्सिङ स्टाफलाई तीन दिनको तालिम दिएको र सेवा क्षेत्रमा फर्केर आएपछि समुदाय स्तरमा तालिम प्रदान गरेको पनि उहाँले बताउनुभयो। यसले गर्दा संक्रमण रोकथाममा सघाउ पुगेको उहाँको भनाइ थियो ।

आवश्यकता भएर पनि नबनेको शौचालय….. 

उहाँले स्वच्छता परियोजनाले निर्माण गरेको अपाङ्गतामैत्री शौचालयको अवलोकन गराउनुभयो । ‘हेर्नुहोस् त, अपाङ्गता भएका व्यक्तिहरु आएमा कहाँ शौच गर्ने ? धेरै समस्या थियो पहिले । अहिले त महिलाको लागि छुट्टै र अपाङ्गता भएका व्यक्तिका लागि पनि ह्वील चेयर गुडाएर लैजान मिल्ने गरी शौचालय निर्माण भएको छ ।’

‘अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै शौचालयको आवश्यकता पर्छ भन्ने कुरा पहिले नै बोध भएको थिएन र ? मैले प्याच्च सोधिहालें’ स्वास्थ्य चौकी प्रमुख ज्योतिले भन्नुभयो ‘हामीसँग बजेटको अभाव, स्थानीय सरकारसँग स्रोत नभएको कारणले नै अहिलेसम्म बनेको थिएन । आवश्यकता बोध त पहिले नै भएको थियो । र पनि हामीले निर्माण गर्न सकिरहेका थिएनौं । स्वच्छता परियोजनाले हाम्रो सपना पूरा गराईदियो ।’

स्वच्छता परियोजना मार्फत स्वास्थ्य चौकी व्यवस्थापन समितिले निर्माण गरेको वासका संरचनाहरुबाट स्वास्थ्य संस्थालाई सेवा दिन धेरै सुविधा भएको रहेछ । कुराकानीकै शीलशीलामा प्रमुख ज्योतिले हरेक वार्डमा हात धुने बेसिन नहुँदा टुटी लगाएको बाल्टिन हरेक सेवा दिने कक्षमा राख्नुपरेको विगतको बाध्यता सुनाउनुभयो ।

‘बिरामीलाई छोए पछि, विरामीको उपचार गराईसके पछि स्वास्थ्यकर्मीले अनिवार्य साबुनपानीले हात धुनुपर्छ । तर बाहिरकै खुला धारामा आएर हात धुनुपर्ने लगायत कठिनाईले गर्दा कहिले त हतारमा धुन पनि विर्सन्थ्यौं, यस्तो अवस्थामा स्वास्थ्यकर्मी आफै संक्रमित हुने जोखिम पनि उत्तिकै हुन्थ्यो’ उहाँले भन्नुभयो।

‘स्वास्थ्य चौकीमा चौबीसै घण्टा खानेपानी उपलब्ध हुँदा स्वास्थ्य चौकीले दिने सेवाको गुणस्तरमा केही फरक हुँदो रहेछ? मैले थप जिज्ञासा राखें ।’ ‘कति हो कति फरक, सुत्केरी गराउँदा, सुत्केरी गराईसके पछि हात धुनलाई कति गाह्रो थियो। त्यसपछि सरसफाइ गर्न पनि त्यत्तिकै गाह्रो थियो भने अहिले सबै वार्डहरुमा  धारा छन्, हामीसँग साबुनपानी सहितका धाराहरु सबै ठाउँमा पर्याप्तता छ । एक्वाट्याब राखेर खानेपानीलाई सुरक्षित बनाईएको छ । सेवा दिनका लागि सबै पूर्वाधार पूरा भएपछि सेवाको गुणस्तर नबढ्ने त कुरै भएन’ उहाँको सहज जवाफ थियो।

यत्ति कुरा गरिसक्दा पनि रामीडाँडा आउँदै गर्दा मेरो मनमा खेलेको प्रश्न भने यथावत थियो । जाँदाजाँदै स्वास्थ्य चौकी प्रमुख ज्योतिलाई नै सोधें । ‘भूकम्पको केन्द्रविन्दुमा पनि खासै क्षति चाहिं भएनछ है ? प्रश्न पूरा नहुँदै उहाँले भन्नुभयो ‘यो भूकम्प प्रतिरोधी संरचना भएर केही नभएको हो । स्वच्छताले बनाएको शौचालयमा पनि कुनै क्षति पुगेन, हाम्रो भवनमा पनि खासै ठूलो क्षति भएन । कच्ची घरहरु धेरै भत्किएका छन् ।’

साँच्चिकै भूकम्प प्रतिरोधी संरचना निर्माण गर्‍यौं भने भूकम्पबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने यो भन्दा सबुत प्रमाण अरु के हुन सक्छ ?


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार