कर्णाली प्रदेशबाट स्वच्छता परियोजनाले लियो बिदा, यी हुन् मुख्य उपलब्धी

  वास खबर सम्वाददाता  533 पटक हेरिएको
🔗
34
Shares


सुर्खेत : युएसएआईडी स्वच्छता परियोजना (USAID Health and Hygiene Activity) को अवधि सकिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा परियोजना अवधिमा हासिल गरेका सिकाई आदानप्रदान तथा प्रदेश स्तरीय समापन कार्यक्रमको आयोजना गरी परियोजनाले कर्णालीबाट औपचारिक रुपमा बिदा लिएको हो ।

स्वच्छता परियोजनाले सन् २०१६ देखि २०२४ सम्म कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका ७ जिल्लामा काम गरेको थियो । स्वास्थ्य सेवामा सरसफाइलाई समावेश गरी समुदायको स्वास्थ्य अवस्थामा सुधार ल्याउने प्रमुख उद्देश्य राखेर सञ्चालन गरिएको कार्यक्रमले १८१ स्वास्थ्य संस्थाहरूमा खानेपानी, सरसफाइ, र स्वच्छताका पूर्वाधार निर्माण र पुनर्स्थापना गरिएको, १७० स्वास्थ्य संस्थाहरूमा लैङ्गीक तथा अपाङ्गतामैत्री शौचालय निर्माण गरिएको र ६१ स्वास्थ्य संस्थाहरूमा सौर्य ऊर्जा प्रणाली जडान गरिएको परियोजना प्रमुख बि.बी थापाले जानकारी गराउनुभयो।


स्वच्छता परियोजनाको मुख्य उपलन्धीहरुका वारेमा प्रस्तुतीकरण गर्दै उहाँले ८० स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणाली स्थापना गरिएको, २४८ स्वास्थ्य संस्थाहरूमा संक्रमण रोकथाम र व्यवहार परिवर्तन सम्बन्धि तालिम प्रदान गरिएको बताउनुभयो । यस्तै स्वास्थ्य संस्थाहरूमा ग्रामिण मर्मत सम्भार कार्यकर्ताको तालिम प्रदान गरी समुदायलाई नै संलग्न गराई निर्माण कार्यको निरीक्षण तथा पूर्वाधार सुधारहरू कायम राख्ने कार्य गरिएको बताउनुभयो।

‘USAID स्वच्छता परियोजनाले छलफल र समावेशी निर्णय प्रक्रियाले दिगो उपलब्धिहरू हासिल गरेको छ’ परियोजना प्रमुख थापाले भन्नुभयो ‘यसले आवश्यकता अनुसार उचित मर्मत सम्भारका कार्यहरू सम्पन्न गर्ने आधार बनाएको छ।’

सिकाई आदान प्रदान कार्यक्रममा युएसएआइडी नेपालका वास सल्लाहकार रोसेल रेनीले संयुक्त राष्ट्र संघले निर्धारण गरेको दिगो विकास लक्ष्य परिपूर्तिका लागि नेपाल सरकारको कार्यक्रमहरुमा हातेमालो गर्दै आएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताउनुभयो ।


युएसएआइडी नेपालकै वातावरण तथा स्वास्थ्य विषेशज्ञ प्रज्ञा श्रेष्ठले अन्तर्राष्ट्रिय अमेरिकी विकास सहयोग नियोग (USAID) ले नेपालमा विकास साझेदारको रुपमा काम गर्न थालेको ७७ बर्ष पुगेको जानकारी गराउदै पछाडि परेको भौगोलिक क्षेत्र र सीमान्तकृत समुदायको विकासको लागि काम गरिरहेको बताउनुभयो । युएसएआईडी स्वच्छता परियोजना समेत यसैको निरन्तरता रहेको बताउदै उहाँले आगामी दिनमा पनि जारी रहने बताउनुभयो।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेकां स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवण कुमार थापाले नेपालमा बालमृत्युदर, मातृ मृत्युदर घट्दै गएको, स्वास्थ्य संस्थामै सुत्केरी गराउने महिलाको संख्या बढ्दै गएको उल्लेख गर्दै विस्तारै सचेतनाको स्तर वृद्धि भए सँगै स्वास्थ्य सूचकांकमा पनि सुधार हुँदै गएको बताउनुभयो । उहाँले स्वास्थ्यसंस्थाजन्य फोहोर व्यवस्थापनको समस्यालाई समाधान गर्न कार्यविधि बनिरहेको र यसको कार्यान्वयनबाट स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनमा समेत समस्या नरहने बताउनुभयो।


नेपाल नगरपालिका संघ, कर्णाली प्रदेशका अध्यक्ष तथा गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनले नेपालीहरुको औसत आयू वृद्धि हुँदै गएकोमा खुसी व्यक्त गर्दै यो स्वास्थ्य संस्था तथा समुदायको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाहरुको लगानीको परिणाम भएको बताउनुभयो ।

सिकाई आदानप्रदान तथा परियोजनाको समापन कार्यक्रममा समुदाय र स्वास्थ्य सेवा प्रदायक संस्थामा खानेपानी र सरसफाइको अवस्था, यसको प्रबर्द्वनका लागि विभिन्न तहको भूमिका, बहुक्षेत्रीय सहकार्यको प्रभाव र आगामी योजनाका बिषयमा प्यानल छलफल समेत गरिएको थियो ।


सिम्ता गाउँपालिका, सुर्खेतका अध्यक्ष, ऐन बहादुर चन्द, आठवीस नगरपालिका, दैलेखका स्वास्थ्य संयोजक, देवराज तिमल्सिना, चिङगाड गाउँपालिकाको मटेला स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बीर बहादुर जि.सी.र सिम्ता गाउँपालिका सुर्खेतको आग्रीगाउँ स्वास्थ्य चौकीका प्रमुख सृजना सापकोटा बीच गरिएको प्यानल छलफलको कर्णाली प्रदेशको भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालयका सिनियर डिभिजज्नल इन्जिनियर रमेश सुवेदीले टिप्पणी गर्नुभएको थियो ।


कार्यक्रमको उद्देश्यबारे प्रकाश पर्दै युुएसएआईडी स्वच्छता परियोजनाका डेपुटी चिफ अफ पार्टी महेश ढुङ्गेलले स्वागत गर्नुभएको थियो। कार्यक्रम कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृष शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार