फोहोरपानी र दिसाजन्य लेदो एकैसाथ प्रशोधन हुने प्लान्ट नेपालमै पहिलो : आयोजना निर्देशक सापकोटा

  वास खबर सम्वाददाता  358 पटक हेरिएको


काठमाडौ : आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का आयोजना निर्देशक राजेन्द्र सापकोटाले काठमाडौको गोकर्णमा निर्माण सुरु भएको फोहोरपानी प्रशोधन केन्द्र नेपालकै पहिलो नमुना प्रशोधन केन्द्र भएको बताउनुभयो। उहाँले प्रशोधन केन्द्रबाट दिसाजन्य लेदो र फोहोरपानी एकैसाथ प्रशोधन हुने भएकाले यो अन्य ठाउँका लागि समेत अनुकरणयोग्य बनाउनुपर्ने बताउनुभयो ।

बिहीबार प्रशोधन केन्द्रको शिलान्यास कार्यक्रममा आयोजना निर्देशक सापकोटाले भन्नुभयो ‘गुहेश्वरीमा अहिले हेर्नका लागि सयौं जना आउँछन्, यसलाई पनि नमुना बनाउनुपर्छ । यसका लागि कुनै सम्झौता हुने छैन ।’ उहाँले विकासको नेतृत्वकर्ता नै स्थानीय सरकार भएकाले प्रशोधन केन्द्र निर्माणको शीलशीलामा समस्या आएमा स्थानीय सरकारको सहयोग लिने बताउनुभयो ।


प्रशोधन केन्द्र निर्माणमा स्थानीय सरकारले देखाएको चासो र चिन्ताकै कारण यो अवस्थामा आउन सम्भव भएको उहाँको भनाइ थियो । ‘प्रशोधन केन्द्र निर्माण हुँदैन कि भन्ने अवस्थामा पुगिसकेको थियो, तर गोकर्णेश्वर नगरपालिकाको सहयोगबाटै यो सम्भव भयो’ उहाँले भन्नुभयो ।

आयोजना निर्देशक सापकोटालेले प्रशोधन केन्द्र निर्माणको काम र ढल प्रणाली निर्माणको काम सँगसँगै सम्पन्न हुने बताउनुभयो । ‘ढल प्रणाली बिछ्याउने काम सँगसँगै प्रशोधन केन्द्र पनि सम्पन्न हुनेछ’ उहाँले भन्नुभयो । गोकर्ण ढल प्रशोधन केन्द्र सम्पन्न भएपछि पाँच बर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन गर्ने र त्यसपछि नगरपालिकालाई हस्तान्तरण गर्ने भएकाले जनशक्तिको विकास पनि गर्दै लानुपर्ने उहाँले बताउनुभयो ।


निर्माण कम्पनी TEAMS-BCPL JV- Nepal ले एक बर्षभित्र काम सम्पन्न गर्ने उहाँको दाबी छ । प्रशोधन केन्द्र सम्पन्न भएपछि दैनिक ३० लाख लिटर फोहोरपानी र १० हजार लिटर दिसाजन्य लेदो प्रशोधन हुनेछ ।

आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक योगेन्द्र चित्रकारले पुरानो ढल प्रशोधन केन्द्रलाई स्तरोन्नति तथा अत्याधुनिक बनाउने सरकारको नीति अनुसार गोकर्ण फोहोरपानी प्रशोधन केन्द्रको पुनः निर्माण गर्न लागेको बताउनुभयो ।


उहाँले विगतमा निर्माण भएका ढल प्रशोधन केन्द्रहरु नियमित मर्मत सम्भार हुन नसक्दा पूर्ण रुपमा सञ्चालन हुन नसकेको यथार्थलाई मध्यनजर गर्दै नयाँ प्रशोधन केन्द्रहरु ५ देखि १० बर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन गर्नुपर्ने सम्झौतामै उल्लेख भएकाले अब दिगोपनामा समस्या नहुने विश्वास व्यक्त गर्नुभयो ।

आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौ उपत्यका फोहोरपानी व्यवस्थापन आयोजना अन्तर्गत निर्माण गर्न लागेको प्रशोधन केन्द्र २ हजार ६६ वर्ग फिट क्षेत्रमा निर्माण हुनेछ । प्रशोधन केन्द्रको लागत भ्याट बाहेक ३७ करोड, २ लाख ९३ हजार ३०७ रुपैयाँ रहेको छ ।

फोहोरपानी प्रशोधन केन्द्र निर्माणमा ERMC/TAEC को सहकार्यमा DOHWA ईन्जिनियरिङ्ग कम्पनी लिमिटेडले परामर्शदाता कम्पनीको रुपमा काम गरिरहेको छ । फोहोरपानी प्रशोधन केन्द्रको गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले शिलान्यास गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार