संघीय सरकारले लहानमा दिसाजन्य लेदो प्रशोधन केन्द्र बनाउने

चालु आर्थिक बर्षभित्रै सम्पन्न हुनेछ : आयोजना प्रमुख यादव

  वास खबर सम्वाददाता  427 पटक हेरिएको

सिरहा : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय धनुषाले सिरहाको लहानमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ। गत आर्थिक बर्षमा विनियोजन गरिएको बजेट फ्रिज भए पनि चालु आर्थिक बर्षको लागि पुनः बजेट व्यवस्था गरिएको आयोजना प्रमुख लोकेन्द्र यादवले बताउनुभयो।

‘लहान नगरपालिकाको नगरव्यापी समावेशी सरसफाइ योजना, प्रारम्भिक कार्याशाला गोष्ठी’ मा आयोजना प्रमुख यादवले यसका लागि स्थानीय सरकारले काम गर्ने वातावरण मिलाउनुपर्ने, जग्गा क्लियर गर्नुपर्ने बताउनुभयो । ‘हामीलाई काम गर्ने वातावरण बनाउनुपर्‍यो, यहाँहरुको सहयोग बिना हामी एक पाइला पनि चल्न सक्दैनौं’ उहाँले भन्नुभयो।


नगर प्रमुख महेश प्रसाद चौधरीले भने केही समयअघि सम्म जग्गाको स्वामित्व सम्बन्धी विवाद भए पनि अहिले न्यायिक निरुपण भई विवाद समाधान भैसकेकाले कुनै समस्या नरहेको बताउनुभयो। उहाँले आफ्नो नगरपालिका भित्र चाँडो भन्दा चाँडो प्रशोधन केन्द्र निर्माण गरी सञ्चालन गर्न आतुर रहेकाले आयोजना सञ्चालनका लागि जस्तो सुकै सहयोग गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


नगरपालिकाका इन्जिनियर बीरेन्द्र कुमार महतोका अनुसार लहान नगरपालिकाको वडा नं. १५ को सरकारी जग्गामा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण सुरुवात भैसकेको छ । ‘यहाँ १७ कट्ठा १० धुर जग्गामा ट्रिटमेन्ट प्लान्ट बनाउन थालेका छौं, हामीले उक्त जग्गाको वरपर पर्खाल लगाउने काम समेत गरेका छौं’ उहाँले भन्नुभयो।

आयोजना प्रमुख लोकेन्द्र यादवले उक्त ट्रिटमेन्ट प्लाण्ट निर्माण गर्न करिब ८ करोडको डिपीआर तयार भएको र काम गर्ने बातावरण बने ८/९ महिनामै सम्पन्न हुने बताउनुभयो।

‘हामी ट्रिटमेन्ट प्लाण्ट बनाएर स्थानीय सरकारलाई सञ्चालनको जिम्मेवारी दिन तत्पर छौं, त्यसको लागि काम गर्ने वातावरण बनाउनुपर्‍यो, विवाद छन् भने विवाद समाधान गरिदिनुपर्‍यो, यो हाम्रो पूर्व शर्त हो’ उहाँले भन्नुभयो।


सरकारले चालु आर्थिक बर्षको बजेटमा सिरहाको लहानमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गर्न १० लाख रुपैयाँ र सिरहाकै गोलबजारको लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार