बुटवल : बुटवल उपमहानगरपालिकाले बुटवलको नयाँ बसपार्कमा सुविधा सम्पन्न सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिकाले सुविधा सम्पन्न बालमैत्री र अपाङ्गमैत्री स्नान गृह सहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको हो ।
बसपार्कमा यात्रुहरूको भीड बढेपछि उनीहरूको सुविधाका लागि नुहाउने सुविधा सहितको सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याएको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो।
बसपार्कमा निर्माण भएको सार्वजनिक शौचालयमा ११ वटा शौचालय, १७ वटा युरिनल, २ वटा बालमैत्री, २ वटा अपांगमैत्री शौचालय तथा ४ वटा बाथरुम छन् । स्नानगृहमा मौसम अनुसार चिसो तातो पानीका लागि सोलार प्यानल जडान गरिएको छ ।
शौचालयको फोहोरबाट बायोग्यास उत्पादन गरी स्नान गृहको उपयोगमा ल्याउने गरी व्यवस्था मिलाइएको बुटवल उपमहानगरपालिकाका इन्जिनियर रुक्मांगत बस्यालले बताउनुभयो। पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बसपार्क सुधार गर्ने बुटवल उपमहानगरपालिकाको अभियान राम्रो भएको बताउनुभयो।
नगरप्रमुख खेलराज पाण्डेयले नयाँ बसपार्कलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने गरी योजना अघि सारिएको बताउनुभयो। उहाँले हाइमास्ट लाइट, क्यान्टिन, चार्जिङ स्टेसन, कोसेली घर र बहु तले पार्किङ भवन पनि निर्माण गरिने बताउनुभयो।
‘बसपार्कको सरसफाइ गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई हामीले छिट्टै नै अगाडि बढाउँछौँ,’ उहाँले भन्नुभयो, ‘बसपार्कलाई सफा राख्ने र सुरक्षित राख्ने काममा यहाँका समितिहरु पनि उत्तिकै सक्रिय हुन जरुरी छ ।’