खानेपानी मन्त्रालयको सचिव : आचार्यको सरुवा, बज्राचार्यको प्रवेश

  वास खबर सम्वाददाता  540 पटक हेरिएको

काठमाडौ : खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई जल तथा उर्जा आयोगमा सरुवा गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले एकै पटक २१ जना सचिवको सरुवा गर्दा खानेपानी मन्त्रालयका सचिव आचार्यलाई जल तथा उर्जा आयोगमा सरुवा गरिएको हो ।

खानेपानी मन्त्रालयको सचिवमा भने नेपाल ट्रष्टमा रहेकी प्रमिलादेवी बज्राचार्यलाई सरुवा गरिएको छ । प्रमिला देवीले खानेपानी मन्त्रालयको दोस्रो पटक सचिवको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । उहाँले २०७८ असार १९ गतेदेखि २०७८ माघ २४ गतेसम खानेपानी मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

आचार्य र बज्राचार्य बीच यस्तो संयोग जुटेको छ कि, २०७८ माघमा बज्राचार्यले खानेपानी मन्त्रालयबाट विदाई हुँदै गर्दा आचार्य खानेपानी मन्त्रालयमा प्रवेश गर्नुभएको थियो । पुनः आचार्य बाहिरिदै गर्दा बज्राचार्य प्रवेश गर्दै हुनुहुन्छ । आचार्यले समेत खानेपानी मन्त्रालयका दुई कार्यकाल सचिवको जिम्मेवारी पूरा गर्नुभएको छ ।

मन्त्री परिषद बैठकले सतर्कता केन्द्रमा रहेका रामआधार साहलाई नेपाल ट्रष्टमा सरुवा गरिएको छ । अर्थ सचिवमा रामप्रसाद घिमिरेलाई सरुवा गरिएको छ । उहाँ अर्थमै राजस्व सचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो। राजस्व सचिवमा भने वाणिज्य मन्त्रालयबाट दिनेशकुमार घिमिरेलाई ल्याइएको छ । अर्थ सचिव मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । सञ्चार सचिवमा उपराष्ट्रपति कार्यालयमा रहेकी राधिका अर्याललाई ल्याइएको छ ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मन्त्रालयमा भरतमणि सुवेदीलाई लगिएको छ । उहाँ सार्वजनिक खरिद अनुगमन कार्यालयमा हुनुहुन्थ्यो।

राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । उहाँ पूर्व अर्थ सचिव हुनुहुन्छ। भूमि का गोकर्णमणि दुवाडीलाई तथ्यांक कार्यालयमा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रामेश्वर दंगाललाई रक्षा सचिवमा पठाइएको छ भने रक्षाका किरण शर्मालाई प्राकृतिका स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई उर्जा मन्त्रालयमा सरुवा गरिएको छ भने उर्जा आयोगका केशवकुमार शर्मा बिडारीलाई भौतिक मन्त्रालयको सचिव बनाइएको छ । प्रधानमन्त्री कार्यालयमा रहेका नारायणप्रसाद दुवाडीलाई राष्ट्रपति कार्यालय पठाइएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ । मधुसुधन बुर्लाकोटीलाई वाणिज्य सचिवमा सरुवा गरिएको छ ।

लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । लोकसेवामा राष्ट्रपति कार्यालयबाट डिल्लीराम शर्मालाई पठाइएको छ भने श्रम तथा रोजगार मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियारको सचिवमा पठाइएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार