उद्योगको रसायनयुक्त पानी र फोहोर नदीमा नफाल्ने प्रतिबद्धता, ट्रिट्मेन्ट प्लान्ट जडान गर्ने

  वास खबर सम्वाददाता  306 पटक हेरिएको

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरूमै फोहोर लगेर थुपार्न थालेपछि उद्योगीहरूले नदीमा उद्योगको रसायनयुक्त पानी र फोहोर वस्तु नफाल्ने प्रतिबद्धता जनाएका छन् ।

नदीमा प्रदूषण नगर्न पटक पटक चेतावनी दिनुका साथै आर्थिक जरिवाना गर्दा पनि नटेरेपछि वीरगन्ज महानगरपालिकाले अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिद्धि टेक्सटाइल्स प्रालि र मोरियम लेदर इण्डस्ट्रिजको परिसरमै फोहोर थुपारिदिएको थियो। मंगलबार पनि महानगरपालिकाले अर्निका टेक्सटाइल्समा १६ ट्याक्टर फोहोर लगेर थुपारेको थियो।

त्यसपछि मंगलबार अर्निकाका सञ्चालक गौरव गाडिया, श्रीसिद्धीका सञ्चालक अशोक मित्तल र मरियमका सञ्चालक फारुख जमइले मेयर राजेशमान सिंहको कार्यकक्षमै पुगेर अबदेखि नदीमा आफूहरूले उद्योगबाट निस्किने रसायनयुक्त पानी र अन्य फोहोरवस्तु नमिसाउने लिखित प्रतिबद्धता जनाएका हुन्।

मेयर सिंहका सामु उनीहरूले बुधबारदेखि नदीमा उद्योगले प्रदूषण नगर्ने, उद्योग परिसरमा वाटर ट्रिट्मेन्ट प्लान्ट जडान गर्ने, उक्त प्लान्टमा रसायनयुक्त पानी प्रशोधन गरेर सफा पानी मात्रै नदीमा मिसाउने लगायतको लिखित प्रतिबद्धता जनाएको मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिनुभयो। त्यसक्रममा मरियमका सञ्चालक जमइले यसअघि महानगरपालिकाले गरेको ३ लाख रुपैयाँको जरिवाना २४ घण्टाभित्रै तिर्ने प्रतिबद्धता पनि जनाएको फुयाँलले बताउनुभयो।

मंगलबारको छलफलमा मेयर सिंहले भने यसअघि पनि उद्योगीहरूले आफैं महानगरपालिकामा आएर यस्तै प्रतिबद्धता जनाएको भए पनि नदीमा फोहोर पानी मिसाउने कार्य नरोकेकाले अहिले पनि उद्योगीहरूले जनाएको प्रतिबद्धता कार्यान्वयन हुनेमा आफू विश्वस्त हुन नसकेको बताउनुभयो ।

यसअघि महानगरपालिकाले नदी प्रदूषित गर्ने उद्योगहरूमा सिल नै गर्ने तयारी गरेपछि गत वैशाख ९ गते पनि ९ वटा उद्योगका उद्योगीहरूले महानरपालिकाको कार्यालयमै पुगेर मेयर सिंहसँग १५ दिनको समय माग्दै नदी प्रदूषित नगर्ने लिखित प्रतिबद्धता जनाएका थिए।

तर उक्त प्रतिबद्धता जनाएको ३ महिना बित्दा समेत उद्योगले नदी प्रदूषित गरिरहेपछि आइतबारदेखि महानगरपालिकाले ती उद्योगहरूमा सहरबाट संकलन गरिएका फोहोर थुपार्न थालेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार