
सल्यान : दार्मा गाउँपालिका–२, लिरापाजाकी बिर्मी ओली उमेरले ७३ वर्ष पुगे पनि उहाँको घरभित्र र घरबाहिरको सरसफाइको सक्रियतामा कुनै कमी आएको छैन । बिहान सखारै उठ्नु, धारामा जानु र छेउछाउको फोहोर हटाउनु उहाँको नियमित काम जस्तै छ । घर वरिपरि र धारा वरिपरि उहाँले प्रायः नियमित सफाइ गर्नुहुन्छ । पहिले सामान्य व्यक्तिगत सरसफाइमा मात्र ध्यान दिने उहाँ अहिले घरायसीसंँगै आसपासको सरसफाइमा समेत ध्यान दिँदै आउनुभएको छ ।
लिरापाजाकै खिमा खत्रीले पनि कुनै बेला सामान्य सरसफाइ मात्र गर्नुहुन्थ्यो तर अहिले अचेल धारा र घरआँगनको मात्र सरसफाइ गर्नुहुन्न, साना बालबालिकाले गरेको खुला दिसा शौचालयमा फाल्नुहुन्छ, खाना खानु र खुवाउनुअघि साबुनपानीले हात धोएर मात्र खानुहुन्छ । यो गाउँमा सोचे जति र भने जति सबै लागु नभए पनि सरसफाइमा निकै सुधार हुँदै गएको छ । अहिले दार्मामा सबैमा एकनासको बुझाइ छ, सरसफाइ अरूका लागि नभई आफ्ना लागि भन्नेमा एकमत भएका छन् ।
दार्मा गाउँपालिका र सुस्वा परियोजनाको सहकार्यमा २०८४ सालसम्म पालिकालाई सरसफाइयुक्त पालिका बनाउने लक्ष्य सहित खानेपानी र सरसफाइका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । यहाँ घर घरमा सरसफाइ प्रभावकारी बन्दै गएको छ । अहिले सरसफाइ अभियानमा समुदायस्तरमा सक्रिय भएका छन् । गाउँमा सरसफाइ अभियानको सुरुवाती जस्तै अवस्था भने छैन । धेरै व्यक्तिले निरन्तरता दिएका छन् । जसले सरसफाइको दिगो व्यवस्थापनमा थोरै भए पनि सहयोग मिलेको दार्मा गाउँपालिका–६, मलिबाङका निमा विकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले सामान्य सरसफाइ गर्दै आए पनि घरायसी सरसफाइलाई कसरी ध्यान दिनु पर्छ भन्ने थाहा थिएन तर अहिले गाउँपालिकाले घरमा स्वच्छ खानेपानीको धारासँगै भाँडा सुकाउने चाङ, जुठेल्नु, फोहोर फाल्ने खाडल लगायतको व्यवस्था गरिदिएको छ ।”
दार्मा गाउँपालिका–३ की कल्पना विष्टले सरसफाइसम्बन्धी कार्यक्रम भए पनि व्यक्तिगत सरसफाइसम्बन्धी ज्ञान प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महिनावारी हुँदा पनि सरसफाइ गरेर खाना पकाएर खाने गर्छौं । व्यक्तिगतसँगै घरायसी र वातावरणीय सरसफाइबारे सचेत भएकाछौं।
दार्माका प्रत्येक घरमा पुगेर सरसफाइको काम सिकाउने मात्र होइन, आवश्यक पूर्वाधारको निर्माण गरिएको छ । दार्मा गाउँपालिका वास संयोजक प्रकाश थापाले प्रत्येक घरमा शौचालय निर्माण, हात धुने तरिका, फोहोर व्यवस्थापन, सुधारिएको चुलो, चाङ, जुठेल्नुलगायत बारेमा जानकारी दिने र सिकाउने गरिरहेको बताउनुभयो । उहाँका अनुसार खानेपानी, शौचालय, फोहोर व्यवस्थापनलगायतका भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ ।
गत आर्थिक वर्षमा पालिकाका छ वटा वडाका ५८० घरमा खानेपानीको धारा निर्माण गरिएको छ । पाँच सय घरमा पक्की चाङ, जुठेल्नु र हात धुने स्थानको व्यवस्था गरिएको छ । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले भूकम्पले भत्किएका सहित ५८६ वटा शौचालय निर्माण, पालिकालाई सिसा र प्लास्टिकमुक्त बनाउन प्रत्येक वडामा टोल विकास संस्था गठन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त पालिका बनाउनका लागि सरसफाइका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।”
दार्मा गाउँपालिकाले सरसफाइ र खानेपानीका साथै धुवाँरहित चुलो निर्माणको काम पनि सँगसँगै अघि बढाएको छ । २० हजार ११५ जनसङ्ख्या रहेको दार्माका प्रत्येक घरमा धुवाँरहित सुधारिएको चुलो निर्माण गर्न थालिएको छ । दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेसम ओलीले यस वर्ष थप चार हजार घरधुरीमा धुवाँ रहित सुधारिएको चुलो निर्माण गरिएको बताउनु भएको खबरआजको गोरखापत्र दैनिकले प्रकाशन गरेको छ।
उहाँले भन्नुभयो, “पालिकाभित्रको सरसफाइ अन्तर्गत प्रत्येक घरमा सूचकसहितका कार्ड टाँसिएको छ । सुरुमा पहेँलो कार्ड टाँसिएको घरमा सरसफाइका सूचक पूरा हुँदै जाँदा ती कार्ड पनि परिवर्तन गर्ने गरिएको छ ।”


365 पटक हेरिएको 

