दैलेख (तल्लोडुङ्गेश्वर) : ‘हामी दुई नदीका बीचमा छौं । एकातिर लोहोरेखोला अर्कोतिर कर्णाली नदी । नदी तल छ । बस्ती माथि । पानी माथितिर आउदैन । ‘फेद्उनो कर्णाली वग्दो रैगो पानी तिर्खा’ भन्दै दुल्लू नगरपालिका –१ की ९० बर्षिया इन्द्रसरा वादीले पानी नपाउँदाको पीडा सुनाउनुभयो ।
खानेपानी अभावले बजार र नमुना बस्तीका बासिन्दाले नदी र खोलाकै दुषित पानी पिउँदै आएको दैनिकी उहाँले सुनाउनुभयो । ‘खोलाबाट पानी ल्याउन नै आधा घण्टा लाग्छ । बर्षातमा त झनै धमिलो पानी भएकाले तिर्खा लागे पनि पिउन सकिदैन थियो । एक आधा घण्टा धमिलो पानी बालुवा थिग्रिएपछि पिउँथ्यौं । प्यास मेटाउन पनि पर्खिनुपथ्यौं ।’
तर एक महिना यता भने नमुना वस्ती र तल्लोडुङ्गेश्वर बजारमा घरैपिच्छे धारा निर्माण भएका छन् । घर आँगनमै शुद्ध पिउने पानी पाउँदा उपभोक्ता औधी रमाएका छन् । ‘घर आँगनमै शुद्ध पिउने पाउँदा हामी खुशी छौं । यसरी हामीलाई टाढाबाट पानी ल्याईदिलान भनेर सोचेका पनि थिएनौ’ जिङ्रिङ्ग परेको कपाल मिलाउँदै ५५ बर्षिया जैसरी दमाईले भन्नुभयो ‘पानी ल्याईदिनेको जयहोस ।’
घरमा शुद्ध पिउने पानी आउँदा खोला र नदीबाट पानी ल्याउने समयको बचत भएको छ । बचत भएको समयलाई घरको सरसफाइ र तरकारी खेतीमा खर्च गर्ने गरेको देवीसरा वादीले बताउनुभयो । ‘पानी त छोडिदिनुहोस खोलाबाट ल्याएर पिउँथ्यौं । शौचालयको अभाव पनि उस्तै थियो । शौचालय नहुँदा झाडी, जंगलमा खुल्ला दिशापिसाव गर्नुपर्ने बाध्यता थियो । अब त पानी पनि पायौं शौचालय पनि बने, अब चिन्ता केही छैन । चिन्ता छ, रोजगारीको’ उहाँले भन्नुभयो।
वस्तीमा शौचालय नहुँदा नमुनावस्ती आवातजावत गर्ने अधिकाँश मानिस नाक थुनेर हिडनुपर्थ्यो। कतिपय मानिसको खिसीटियुरी गर्थे । नमुना बस्ती आयो कि आएन भनेर । बस्तीमा शौचालय वनेपछि बस्ती सफासुग्घर देखिएको छ । हिजोका दिनमा बस्तीमा आएर नबस्ने मान्छे पनि वस्तीमा आएर सरसफाइको प्रशंसा गर्ने गरेको बसन्ताले बताउनुभयो।
पाँच किलोमिटर टाढा भुवापानी मुहानबाट ल्याईएको खानेपानीबाट मन्दिर, बजार र नमुना वस्ती गरी १ सय १० वटा धारा निर्माण गरिएको प्राविधिक जयबहादुर विष्टले बताउनुभयो । हेल्भेटास नेपालको आर्थिक सहयोग र सोसेक नेपालको सहजीकरणमा ७० लाख लगानीमा खानेपानी र शौचालय निर्माण गरिएको हो ।
बसेर दिन विताउँछन् बादी समुदायका महिला
वस्तीमा खानेपानी र शौचालय निर्माण भएपनि पर्याप्त जमिन नहुँदा वादी समुदायका महिला बसेर नै दिन विताउँछन् । रोजगारीका अवसर नहुँदा वसेर दिन विताउन थालेको उहाँहरुको भनाइ छ। पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन भएपनि आफूहरुलाई कुनै जानकारी नभएको वसन्ता वादीले बताउनुभयो।
पहुँच वालालाई मात्र काममा बोलाउँछन् । आफ्नो समुदायबाट पालिका सदस्य बन्नु भएको महिलालाई साक्षीका लागि मात्र राख्ने गरेको उहाँको आरोप छ । गिट्ठी वालुवा लोड गरेर विहान, वेलुका हातमुख जोर्न पुग्थ्यो, क्रसर उद्योगका कारण आफूहरुको रोजगारी गुमेको उहाँहरुको भनाई छ । वसन्ता भन्नुहुन्छ ‘प्रविधिले गर्दा खान लाउन पाएनौं । वस्तीमा पोषण र स्वास्थ्यको समस्या पनि उस्तै छ।’