यस बर्षको वृक्षारोपण अभियान समापन, अब रोपिएका विरुवाको संरक्षण गरिने

  वास खबर सम्वाददाता  245 पटक हेरिएको


भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. २ मा सञ्चालित यस बर्षको वृक्षारोपण अभियानको समापन गरिएको छ। समुदायको लागि दुई घण्टा अभियान अन्तर्गत ६९ औं हप्ताको कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्री रुपा वि.क. को प्रमुख आतिथ्यमा यसबर्षको वृक्षारोपण अभियान समापन भएको घोषणा गरिएको हो ।

चाँगुनारायण नगरपालिकाको २ नम्बर वडाको आयोजनामा समुदायको लागि २ घण्टा अभियान अन्तर्गत प्रत्येक हप्ताको शुक्रबार बिहान ७ बजेबाट ९ बजेसम्म वृक्षारोपण, फोहोरमैला व्यवस्थापन र सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ ।

अभियानको ६७ औं हप्तामा यस बर्षको वृक्षारोपण अभियानको समापन गरेको समुदायको लागि दुई घण्टा अभियानले अब वृक्षारोपण संरक्षणको शुभारम्भ भएको जनाएको छ।

चाँगुनारायण नगरपालिकाको वडा नं. २ दुवाकोटले हाल हरियाली प्रबर्द्वनका लागि वृक्षारोपण कार्यक्रमका अलावा विरुवा संरक्षणका लागि ट्रि गार्ड राख्ने काम गरिरहेको वडा नं. २ की वास सहजकर्ता राममाया राना मगरले जानकारी गराउनुभयो । उहाँका अनुसार वडा नं. २ मा फोहोरमैला व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर बर्गीकरण गरी व्यवस्थापन गरिएको छ।


वृक्षारोपण कार्यक्रमको समापन कार्यक्रममा डाबर नेपाल, समुदायका लागि २ घण्टा अभियान, चाँगुनारायण एबोगाडो सिटी अभियन, नेपाल रेडक्रस सोसाईटी दुवाकोट शाखा, स्वास्थ्य शाखा, सुरक्षा निकाय, टोल विकास संस्थाहरु लगायत विभिन्न संघसंस्था तथा विद्यालयका शिक्षक एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री रुपा बि.क.ले समुदायका लागि २ घण्टा अभियानमा सरिक विभिन्न सघसंस्थालाई सम्मान तथा प्रसंशा पत्र वितरण गर्नुभयो।


शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, उपत्यका विकास प्राधिकरणका प्रमुख जानुका ढकाल तथा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवण खत्रीको विशेष आतिथ्य एवं वास शाखाका संयोजक सुरेन्द्र लामिछाने, २ नं वडाका वडा सचिब र सबै कर्मचारीहरुको उपस्थितिमा वडा नंं २ का अध्यक्ष सोम प्रसाद प्रधानको अध्यक्षतामा सम्पन्न भयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार