खानेपानी प्रणालीको बहुउपयोग र दिगोपना

  आनन्द गौतम  932 पटक हेरिएको

आनन्द गौतम

नेपालमा वनेका पोखरीहरु, सिँचाईका कुलाहरुसँग जोडेर निर्माण गरिएका पानीबाट चल्ने घट्टहरुले नेपालमा परम्परागत रुपमा नै पानीको बहु उपयोग गर्ने प्रचलन थियो भन्ने प्रमाणित गर्छ । अहिले पनि कतिपय स्थानमा पानीका पोखरीहरुलाई घरपालुवा जनावरलाई पानी खुवाउने देखि लिएर कपडा धुने र तरकारी खेती उत्पादन, वर्खाको समयमा धान उत्पादनसम्म गरेका उदाहरणहरु भेटिन्छन् । पहाडतिर पानीको मुहान नजिक वर्खामा धान र हिउँदमा तरकारी खेती गर्नु सामान्य जस्तै हो । यसले के पुष्टि गर्दछ भने हाम्रा पुर्खाहरु पानीको हरेक थोपाको उचित प्रयोगमा निपुण थिए ।

नेपालमा पाईप प्रणाली मार्फत खानेपानीको वितरण गर्न थाले पश्चात पुर्खाहरुले अभ्यास गरेका पानीको बहु उपयोग गर्ने परिपाटीमा क्रमश कमी आएको हो कि भन्न सकिन्छ । खानेपानी वितरण प्रणालीहरु निर्माणको लागि लागत अनुमान तयार गर्दा नै पानीको एकल प्रयोग गर्ने हेतुले निर्माण गरिए पश्चात पानीको बहु उपयोग भन्दा एकल उपयोग तिर ध्यान गएको मान्न सकिन्छ । खानेपानी प्रणालीहरुवाट वितरण हुने पानीको बहु उपयोग गर्ने हेतुले निर्माण नहुनु अरु पनि कारणहरु हुन सक्छन जस्तो पहिलो पानीको मात्रा नै पानीको बहु उपयोग गर्न नपुग्ने र अर्को भनेको खानेपानी प्रणालीलाई वहु उपयोगी वनाउँदा हुने फाईदाहरुको वारेमा आम उपभोक्ताहरुलाई थाहा नहुनु र बहुउपयोगी खानेपानी प्रणालीको आम उपभोक्ताबाट माग पनि नआउनु हुन सक्छ ।

पानीको बहुउपयोगको वारेमा विश्वभरमा चर्चा र परिचर्चा नभएका होईनन् । नेपालमा ग्रामीण खानेपानी तथा सरसफाइ सम्बन्धी राष्ट्रिय नीति २०६० अनुसार नेपालको ग्रामीण क्षेत्रमा प्रतिव्यक्ति प्रतिदिन ४५ लिटरका दरले पानी वितरण गर्नु पर्ने थियो । पहाडमा चिसो हुने हुदा एक व्यक्तिले दिनमा ४५ लिटर पानी प्रयोग नगर्ने धेरै स्थानहरु थिए । त्यहाँ ४५ लिटर पानी पनि वढी हुन्थ्यो । ती खानेपानी प्रणालीहरुमा पानीको बहु उपयोग गर्न आम उपभोक्ताहरुलाई पैरवी गरिएको पनि देखिन्छ । तर सन् २००० पश्चात नेपालमा विभिन्न संस्थाहरुले खानेपानी प्रणालीको निर्माण गर्दा पानीको बहु उपयोगलाई मध्यनजर गरेका पनि छन् ।

नेपालमा खानेपानी तथा सरसफाइलाई संविधानले अधिकारको रुपमा लेखे पश्चात खानेपानी तथा सरसफाइ ऐन २०७९ र खानेपानी, सरसफाइ तथा स्वच्छता नीति ०८० पनि लागु भईसकेको अवस्था छ । खानेपानी, सरसफाइ तथा स्वच्छता नीति २०८० को वुदा नंं. ५.१ नीतिको मार्गदर्शक सिद्धान्त तथा आधारहरुको (ट) नं बुँदामा समन्वय र सहकार्यमा आधारित जलस्रोत वहुउपयोगी विकासमा जोड दिने भनिएको छ । अन्य बुँदाहरु जस्तै बुँदा नं ५.६.३ मा खानेपानीको बढ्दो माग आपूर्ति गर्न जलस्रोतको वहुउपयोग, एकीकृत उपयोग तथा पुनर्उपयोगलाई प्रोत्साहन र प्रवर्द्वन गर्न कार्यक्रमहरु समन्वयात्मक रुपमा सञ्चालन गरिनेछ भनेको छ ।

बुँदा नं. ५.६.८ मा जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रसँग सम्बन्धित भौतिक पूर्वाधारहरुमा हुने क्षतिको न्यूनीकरण गर्ने उपायहरुको अबलम्वन गरिनेछ भने बुँदा को (ङ) मा पानीको सञ्चिती, बहुउपयोग, पुनप्र्रयोग, किफायती प्रयोग, पुनर्भरण र चुहावट नियन्त्रण गर्ने विधिहरुको विकास र प्रवर्द्वन गरिनेछ । खानेपानी मन्त्रालयले हालसालै प्रकाशीत गरेको मस्यौदा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रगत विकास योजना २०८१ को प्रतिफल ४ मा समेत दिगो पानी उत्पादनको लागि सुद्दढ पारिस्थितिक पद्धतिको कुरा गरिएको छ ।

यस अन्तर्गत लक्ष्य ४ः सन् २०४३ सम्ममा पानी उत्पादनको दिगो वृद्धि सुनिश्चित गर्न पारिस्थितिक प्रणाली पुनरुत्थान र संरक्षणलाई प्रोत्साहन गर्ने भन्ने बुँदा नं. ५ मा प्रष्टसँग के लेखेको छ भने खानेपानी सरसफाइ तथा स्वच्छताका पूर्वाधार विकास र सेवा वितरणलाई एकीकृत जलस्रोत व्यवस्थापनको सिद्धान्तसँग समन्वय गर्ने : खासस्वका पूर्वाधार विकास र सेवालाई एकीकृत जलस्रोत व्यवस्थापनको सिद्धान्तसँग समन्वय, जुन विभिन्न विधिहरु जस्तै पानीको वहु उपयोग गर्ने, मागलाई व्यवस्थापन, महशुल विहिन पानीलाई कम गर्ने, पारिस्थितिक प्रणालीको भुक्तानी र फोहर पानीको पुन प्रयोग गर्ने भनेर उल्लेख गरेको छ ।

जलवायु उत्थानशील खानेपानी संरचनाहरु निर्माण गर्दा खानेपानी प्रणालीहरुलाई वुह उपयोगी गराउनु पर्दछ भन्ने पैरवीहरु भईरका छन्

खानेपानी मन्त्रालयले प्रकाशित गरेको खानेपानी, सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा प्रतिवेदन २०८० अनुसार नेपालका करिव ७१ प्रतिशत ग्रामीण खानेपानीहरुको सुचारुपनामा समस्या देखिएको छ । दिगो विकास लक्ष्य, खानेपानी तथा सरसफाइ ऐन २०७९ र खानेपानी तथा सरसफाइ नीति २०८० को लक्ष्यलाई पुरा गर्ने हो भने पनि यी ग्रामीण स्तरका खानेपानीहरुलाई सुचारु गर्नु गर्ने देखिन्छ ।

ग्रामीण क्षेत्रमा पानीको महुशल उठाउन पनि समस्या देखिएको छ । विभिन्न ग्रामीण क्षेत्रमा मिटर सहितका एक घर एक धारा छन् । एक घर एक धारा मिटर सहित भन्ने अभियानको मुख्य उद्देश्य पानीको मात्रा अनुसार पानीको महशुल संकलन गर्ने र खानेपानी प्रणालीहरुलाई नियमित मर्मत तथा संभार गरी जीवन अवधि सम्म चलाउनु थियो । तर खानेपानी योजना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई हस्तान्तरण गरेको दुई चार महिना पश्चात समितिले खानेपानीको महशुल संकलन गर्दा दामासाही हिसावले मिटर नै नहेरिकन रकम संकलन गरेका उदाहरणहरु अझै भेटिन्छ । यस्ता अभ्यासहरुले के देखाउँछ भने संकलित खानेपानीको महशुलले सामान्य मर्मत तथा संभार पनि धान्न सक्दैन जसले गर्दा योजनाहरुमा छिटो समस्याहरु आउने देखिन्छ ।

ग्रामीण खानेपानीहरुलाई पुन सुचारु गर्ने विभिन्न विकल्पहरु मध्य खानेपानी प्रणालीहरुवाट वितरित पानीलाई वहुउपयोगी वनाउने पनि विकल्प हुन सक्छ । सामान्यतया पानीलाई घरायसी प्रयोजन वाहेक अन्य उत्पादनमूलक काममा प्रयोग गरिन्छ भने यसलाई पानीको वहु उपयोग भन्न सकिन्छ ।

विन रक ईन्टरनेशलले विभिन्न संस्थाहरुसँग मिलेर सन् २००७ मा पानीको वहु उपयोग सम्वन्धी निकालेको प्रतिवेदनले पानीको वहुउपयोगका विभिन्न तहहरुमध्ये मध्यम स्तरको पानीको वहुउपयोग गर्दा यदि २० लिटरले एक जना व्यक्तिको घरायसी कामलाई पुग्छ भने त्यस पश्चात वढेको एक व्यक्तिको १ लिटर पानीले वार्षिक रुपमा ६० रुपैयाँ देखि १३० रुपैयाँ सम्म आम्दानी वढाउँछ ।

यदि वितरण पानीको क्षमतालाई प्रति व्यक्ति २० लिटर देखि १०० वनाउने हो भने प्रति व्यक्ति प्रति वर्षको आम्दानी ५ हजार देखि १० हाजार सम्म थप आम्दानी हुने देखिन्छ । पाँच जनाको परिवारले मध्यमस्तरको पानीको वहु उपयोग गरेको छ । त्यो परिवारमा थप २६ हजार देखि ५२ हजार सम्म नेपाली रकम आम्दानी हुने देखाएको छ ।

यी अध्ययनहरु हेर्दा खानेपानी प्रणालीहरुलाई वहुउपयोगमा लैजाँदा एक भन्दा बढी फाईदा पुग्ने देखिन्छ । वहु उपयोगी पानीको प्रयोग गर्ने हो भने करिब ७० लिटर प्रति व्यक्ति प्रति दिनको दरले खानेपानी प्रणालीहरुको शुरुको लागत अनुमान गर्नुपर्ने हुन्छ । विभिन्न अध्ययनहरुले के देखाएको छ भने पानीको एकल प्रयोग गर्दा लाग्ने लगानी भन्दा २० देखि ३० प्रतिशत वढाउन वहुउपायोगी खानेपानी प्रणाली निर्माण गर्न सकिने देखिन्छ । विभिन्न अध्ययनहरुले पानीको वहुउपयोग गर्दा विभिन्न फाईदाहरु देखाएको छ । जस्तै :

१. परिवारको आम्दानी वढ्ने सम्भावना

२. तरकारी खेतीको प्रयोग गर्दा घर परिवारमा पोषण तथा स्वास्थ्यमा सुधार

३. पानीको महशुल उठाउने दरमा पनि वृद्धि हुने किनभने खानेपानी प्रणालीहरुले गर्दा घरपरिवाहरुको आम्दानी वढ्यो भने उपभोक्ताहरु महशुल तिर्छन भन्ने मान्यता राख्न सकिन्छ ।

४. पानीको वहुउपयोग गर्दा आपतकालीन अवस्थामा पनि प्रयोग गर्न सकिन्छ ।

५. अधिकाँश स्थानमा तरकारी खेतीमा महिलाहरु संलग्न हँुदा तरकारी वेचेको आम्दानी महिलाहरुले प्रयोग गर्न पाउँदा महिलाहरु आत्मनिर्भर र आर्थिक रुपमा मजवुत भएका उदाहरण पनि छन् ।

३. खानेपानी प्रणालीहरुमा एकल प्रयोग भन्दा वहु उपयोगी प्रणाली निर्माण गर्दा जलवायु हिसाबले उत्थानशील वनाउन मद्दत पुग्ने देखिन्छ।

खानेपानी प्रणालीहरुलाई वहु उपयोगी वनाउने वा शुरुमा नै पानीको वहु उपयोग गर्ने गरेर निर्माण गर्दा केकही चुनौती तथा सिमितताहरु देखिए जस्तै :

१. नेपालका अधिकाँश स्थानमा खानेपानीका स्रोतहरु नै सुकेको भनेर आम उपभोक्ताहरुले गुनासो गरेको अवस्था छ । यो अवस्थामा वैकल्पिक स्रोतहरु खोज्नु पर्ने देखिन्छ ।

२. पुराना खानेपानी प्रणालीहरुलार्ई वहुउपयोगी वनाउँदा थप संरचनाहरु पनि निर्माण गर्नुपर्ने हुन्छ । यसले गर्दा राज्यलाई थप आर्थिक भार पनि पर्न सक्छ । तर यसमा सजिलो उपाय के पनि छ भने कृषि र पशु कार्यालयसँग समन्वय गरेर कृषि र पशुको लागि छुट्टाइएको स्रोतलाई प्रयोग गर्न सकिन्छ । पानीको पहुँच विना कृषि र पशुपालन सम्भव नहुने हुँदा कृषि र पशुसँग पानी पहिला अनि कृषि र पशु भनेर पैरवी गर्ने राम्रो आधार बन्न सक्छ ।

३. शहरी क्षेत्रमा लागु गर्न नसकिने हुन्छ । किनभने शहरी क्षेत्रहरुमा पानीको घरायसी भन्दा अन्यत्र प्रयोग गर्ने स्थान नै हुदैन ।

४. कतिपय स्थानमा तरकारी उत्पादन भए पनि विक्री हुन नसकेको अवस्था छ । यसले गर्दा कृषिहरु तरकारी खेती भन्दा पुरानो नै खेती प्रणालीमा जान सक्छन् । त्यो स्थानमा घरमा अनिवार्य करेसावारी निर्माण गर्न लगाएर उपभोक्ताहरुलाई पोषणको वारेमा नियमित रुपमा वुझाउन जरुरी हुन्छ । यसको लागि स्थानीय स्तरको स्वास्थ्य शाखाले काम गर्न सक्छ । किनभने पोषण खानेकुराहरुको उत्पादनको लागि नियमित पानी आवश्यक हुन्छ । त्यो पोषण कुन कुन ताजा तरकारीहरुबाट पाउन सकिन्छ भनेर स्वास्थ्यका स्थानीय कर्मचारीहरुले जानकारी गराईदिन सक्छन् ।

नेपालको संविधानको मर्म, खानेपानी तथा सरसफाइ नीति २०८० र मस्यौदा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रगत विकास योजना २०८१ ले अबका दिनमा खानेपानीको समस्यालाई समाधान गर्न, पानीको स्रोतको उचित प्रयोग गर्नको लागि पनि खानेपानी प्रणालीहरु एकल भन्दा वहु उपयोगी प्रणालीमा जाँदा राम्रो हुने निष्कर्ष निकालि सकेको छ ।

अव जत्ति नयाँ खानेपानीका प्रणालीहरु विकास गर्दा यदि पानीको मात्रा पनि वहु उपयोग गर्न पुग्ने र आम उपभोक्ताहरुसँग कृषिको लागि जग्गा पनि उपलब्ध छ भने पानीको एकल भन्दा वहुउपयोगमा जाँदा उपभोक्ताहरुको थप आम्दानी वढ्ने जसले गर्दा पानीको महशुल पनि समयमा संकलन भई खानेपानी प्रणालीहरुलाई दिगो वनाउन मद्दत गर्दछ ।

 

आनन्द गौतम
(FacebookAnand Gautam | LinkedIn)

लेखक विगत दुई दशकदेखि खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थामा क्रियाशील हुनुहुन्छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार