आपतकालीन अवस्थामा खानेपानी, सरसफाइ र स्वच्छता

  आनन्द गौतम  573 पटक हेरिएको

आनन्द गौतम

देशको राजधानी शहर, धेरैको सोचाईमा सवै कुराले सुरक्षित हुनुपर्ने हो । तर दुई दिनको अविरल वर्षाले जिन्दगी भरिको कमाईले किनेको एक घडेरी, दुःखजिलो गरेर निर्माण गरेको एक घरमा बाढी छिरेर तहस नहस भएको छ भने अकालमा ज्यान गुमाउनु परेको अवस्था पनि छ । नापी कार्यालयमा गएर पास गरेको नक्सा र स्थानीय सरकारले दिएको घर निर्माण सम्पन्न प्रमाण पत्र भएका घरमा वसेका सर्वसाधारणहरुलाई खोला हिड्ने वाटोमा घर वनाए भनेर गाली गर्नु उचित हुदैन । उनीहरुलाई हिजो खोला कहाँ हिड्थ्यो? खोलाको मापदण्ड कति भनेर जानकारी पनि हुदैन ।

केही सर्वसाधारण होलान् जसलाई यी सवै कुराको वारेमा थाहा छ । तर धेरैजसो सर्वसाधारणको काठमाण्डौमा सानो घडेरी र एक तला सम्म भए पनि घर भए हुन्थ्यो भन्ने मान्यता छ । उनीहरुलाई कुन स्थान जोखिम हो भन्दा पनि काठमाण्डौमा जहाँ भए पनि घर भए पुग्छ भन्ने हुटहुटीले गर्दा धेरै जोखिमपूर्ण स्थानमा पनि घरहरु वनेका हुन सक्छन् । केही परिवारहरुले कोठा खोज्दा पैसा तिर्छु भन्दा पनि कोठा भाडामा नपाएका उदाहरण पनि काठमाण्डौमा प्रशस्त भेटिन्छ जसले गर्दा उनीहरु खोलाको किनारमा टहरा वनाएर वसेका छन् ।

देशको संघिय राजधानी जहाँ लाखौको संख्यामा ईन्जिनियर, शहरी विज्ञ, योजनाकार वस्छन् । उनीहरुको पहलमा नै दुई चारवर्ष अघि मात्र वनाइएका वस्तीहरुमा पनि बाढी पस्यो भन्दा अलि नरमाईलो लाग्दो रहेछ । योजना पूर्वक निर्माण गरिएका यी वस्तीहरुमा भुुईतला भन्दा पनि माथि पानी पुग्नुले योजनाकार र उनीहरुले निर्माण गरेका योजनाहरु माथि प्रश्न चिन्ह खडा भएको छ । दुई चार वर्षको अन्तरालमा नख्खुखोलाले वहाव परिवर्तन गरेको छ । यसको वरिपरिका वस्तीहरु डुवानमा पारेको छ । ती डुवान परेको स्थानहरुमा विगतमा पनि डुवान परेको देख्दा देख्दै पनि अर्को वर्ष घरहरु वनेको देखिन्छ ।

यहाँ सिधै घर वग्न सक्छ भन्ने थाहा भएका स्थानहरुमा पनि घरहरु वनेका छन् । योजनाकारहरुको मात्र होईन नेपालमा काल नआईकन मरिदैन र भाग्य भएमा जस्तो अवस्थामा पनि बाँच्न सकिन्छ भन्ने आम जनविश्वासको कारण विपद्को पूर्व तयारी र न्युनीकरणमा कम र उद्धार, राहत र प्रतिकार्यमा बढी धन र समय खर्चिएको छ । यो वर्ष यो पटक वर्षाको पूर्व अनुमान गरिएको थियो । आरीघोप्टे पानी नै आउछ भनिएको थियो तर पनि पूर्व तयारी यति फितलो देखियो कि खोलाको नजिक टहरामा वस्नेहरुले अकालमा ज्यान गुमाउनु पर्‍यो । अघिल्लो रात मात्र जोखिमपूुर्ण स्थानमा टहरा वनाएर वसेकाहरुलाई सुरक्षित स्थानमा सर्नुहोस भनेर सूचना दिन सकेको भए पनि अकालमा ज्यान गुमाउनुपर्ने थिएन।

वाढीले धन र जनको क्षति त गर्‍यो नै तर यस पश्चात आपतकालीन अवस्थामा अर्को जोखिम निम्तन सक्ने भनेको पानी जन्य रोग हो । जुन खानेपानी, सरसफाइ तथा स्वच्छतामा आवश्यक ध्यान नदिँदा फैलिन सक्छ । आपतकालीन अवस्थामा तत्काल चाहिने भनेको खानेपानी तथा सरसफाइको पहुँच हो । मौजुुदा खानेपानी तथा सरसफाइका सेवाहरुमा क्षति पुग्ने हुँदा वैकल्पिक व्यवस्था गर्नुपर्ने देखिन्छ । यसमा कति काम हुँदैछ। यो एक गम्भीर सवाल हो ।

काठमाण्डौ उपत्यकाको नख्खु, विष्णुमती, मनोहरा, वाग्मती लगायत अन्य नदीहरुको आसपासका वस्तीका अधिकाँश घरहरुको पहिलो तलामा पानी पसेको अवस्था छ । जसले गर्दा प्रत्येक घरको पहिलो तलामा वनेका पानीका संकलन टंकीहरुमा सुरक्षित गरेको पानी प्रदुषित भएको छ । घरमा रहको सेप्टिक टंकीमा रहेको दिसाजन्य लेदो पनि बाढी सँगै यत्रतत्र भएको छ । यसले गर्दा जमिन मुनिको पानी प्रदुषित छ । धेरै सर्वसाधारणहरुले जमिन मुनिको पानी विभिन्न प्रयोजनको लागि प्रयोग गर्दछ । जुन भोलिका दिनमा महामारी फैलिने कारण वन्न सक्छ । काठमाण्डौ आफै पनि वर्षातको मौसममा प्राय वर्षमा हैजा फैलिने शहरमा पर्दछ । यो आपतकालीन अवस्थामा हैजा फैलन सक्ने प्रवल सम्भावना देखिन्छ ।

तर अहिले उद्धार र प्रतिकार्यको कुरा भईराख्दा खानेपानी र सरसफाइको महत्वको वारेमा धेरै चर्चा गरिएको छैन । उद्धार तथा प्रतिकार्यमा खटिने सवैले काठमाण्डौको अवस्थामा सोच्नुपर्ने भनेको अव हैजा फैलन नदिने हो । किनभने बाढी प्रभावित क्षेत्रमा मात्र हैजा फैलिएमा यसलाई रोकथाम गर्नको लागि काठमाण्डौमा पर्याप्त मात्रमा स्वास्थ्यकर्मी र उपचार गर्ने स्थानको अभाव हुन सक्छ । त्यसैले यो अवस्था आउन नदिनको लागि तत्काल केही कदमहरु चाल्न सकिन्छ ।

१. खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षतिको विवरण संकलन गर्ने ।

२. स्थानीय सरकारमा रहेको विपद् व्यवस्थापन समितिको समन्वयमा द्रुत टोलीको गठन गर्ने ।

३. खानेपानी तथा सरसफाइको वैकल्पिक व्यवस्था गर्ने जसको लागि खानेपानीको क्षेत्रमा काम गर्ने वोटल, ट्याँकर, र जार व्यवसायहरुको क्षमता पहिचान गरी उनीहरुलाई पूर्व तयारीको अवस्था तत्पर रहन भन्ने । काठमाण्डौ उपत्यका भित्र पानी वितरण गरिराखेको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड र वरिपरिका वस्तीहरुमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुलाई पनि आपतकालीन अवस्थाको कसरी खानेपानीको सुनिश्चितता गर्ने सम्वन्धमा योजना निर्माण गरी प्रतिकार्य अगाडि वढाउन लगाउने ।

५. स्थानीय सरकार विपद् व्यवस्थापन शाखा र स्वास्थ्य शाखाको संग्लनतामा बाढीग्रस्त क्षेत्रको द्रुत रुपमा खानेपानीको परिक्षण गर्ने । खानेपानीको परिक्षण गर्दा पिउने र घरायसी प्रयोजनको लागि भनेर राखेको पानी पनि परिक्षण गर्ने । यसको लागि पनि काठमाण्डौ उपत्यकामा रहेका सम्पूर्ण निजी प्रयोगशालाहरुलाई अनुरोध गर्न सकिन्छ । यदि बाढी प्रभावित क्षेत्रका १० प्रतिशत घरधुरीको द्रुत गतिमा पिउने र घरायसी रुपमा प्रयोग गर्ने पानीको नमुना संकलन गरी पानी परिक्षण गर्न सकियो भने हैजा फैलिने सम्भावना धेरै हद सम्म न्यूनिकरण गर्न सकिन्छ । यसको लागि स्थानीय सरकारले स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापन शाखाको समन्वयमा काम गर्न सक्छ । यसको लागि निजी र गैह्र सरकारी संस्थासँग पनि समन्वय गर्न सकिन्छ ।

७. निजी, गैह्र सरकारी संस्थाको समन्वयमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने । आम मानिसका व्यक्तिगत वानी व्यहोरामा परिवर्तन गर्दा पनि हैजाको संक्रमण फैलिनबाट जोगिन सकिन्छ । यसको लागि टोल टोलमा माईकिङ प्रभावकारी हुने रहेछ । अहिले रेडियो वा टेलिभिजन भन्दा पनि टोल टोलमा माईकिङ गरेर सूचना प्रसारण गर्दाको प्रभाव बाढी प्रभावकारी देखिन्छ ।

८. बाढी प्रभावित क्षेत्रहरुमा वुथहरु स्थापना गरी महिला स्वास्थ्य स्वयं सेविका र टोल टोलमा रहेका युवा क्लव, महिला समूह, टोल सुधार समूह, वडाका निर्वातित जनप्रतिधिहरुलाई परिचालन गर्न सकिन्छ । यदि कसैको घरमा पानी उमाल्ने वातावरण छैन भने ती घर परिवारहरुलाई अहिले निशुुल्क रुपमा क्लोरिन वितरण गर्ने प्रवन्ध स्थानीय सरकारले गर्न सक्छन् ।

९. बाढी प्रभावित क्षेत्रहरुमा शौचालयहरुको अनुगमन तथा तत्काल सेप्टिक टंकी सफा गर्नुछ भने पनि त्यसको व्यवस्था गर्नुपर्ने हुन्छ । किनभने दुर्गन्ध फैलिँदा अर्को जोखिम निम्तिन सक्छ । अस्थायी केन्द्रहरुमा मानिसहरु आएर वस्नु भएको छ भने त्यो स्थानमा क्लोरिन झोल वनाउने विधिहरुको वारेमा सिकाउन सकिन्छ । ती केन्द्रहरुमा अस्थायी शौचालयको तत्काल व्यवस्थापन गर्न सकिन्छ ।

१०. संघ र प्रदेश सरकारको पनि भूमिका महत्वपूर्ण छ । खानेपानी तथा सरसफाइको क्षेत्रमा कामको लागि स्थानीय सरकारको नेतृत्वमा सेवा प्रदायकहरुलाई जिम्मेवारी वनाउन सक्दा धेरै छिटो काम हुन सक्छ । यसरी काम गर्दा सिकेका अनुभवहरुलाई लिपिवद्ध गर्न सकियो भने अर्को पटक काम गर्न सजिलो हुन्छ । यसको लागि स्थानीय स्तरमा गठन भएको दु्रत प्रतिकार्य टोलीले काम अगाडि वढाउन सक्छ । स्थानीय सरकारको समुदाय स्तरमा खट्ने जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्यका अन्य कर्मचारीहरु मार्फत पानी शुद्धिकरणका विभिन्न विधिको वारेमा प्रचार प्रसार गर्न सकिन्छ । स्रोत परिचालनमा एक द्धार प्रणाली लागु गर्न सकिन्छ । जसको नेतृत्व स्थानीय सरकारलाई दिन सकिन्छ ।

जलवायु परिवर्तन भनौ वा मानवीय कृयाकलापको कारणले गर्दा नेपालमा बाढी, पहिरो लगायत अन्य प्रकोप आउने सम्भावना अझै बढी हुने देखिन्छ । आम मानिसले पनि अहिले पर्ने पानीको मात्रा र यसले निम्त्याउने विपद्ले गर्दा त्रषित अवस्थामा जीवनयापन गर्नुपरेको छ । काल आए पछि मात्र मरिन्छ र भाग्य भयो भने जस्तो अवस्थामा पनि बाँचिन्छ भन्ने आम मानिसमा गडेर रहेको विश्वासलाई चिर्नु जरुरी छ । प्रकोपलाई विपद्मा परिणत हुन नदिनको लागि न्यूनीकरण र पूर्व तयारीको लागि गरेको लगानीले गर्दा ठूलो धन र जनको क्षति हुन बाट वचाउन सकिन्छ भन्ने विश्वास नीति निर्माता, निर्णय गर्ने देखि आम सर्वसाधरण सम्म जगाउन जरुरी छ । खानेपानी, सरसफाइ तथा स्वच्छताको आपतकालीन अवस्था के गर्ने भन्ने सम्वन्धमा स्थानीय सरकारले योजना निर्माण र पूर्व तयारी गर्न जरुरी छ । यसको लागि स्थानीय सरकार र खानेपानी सेवा प्रदायकहरुको उल्लेखनीय भूमिका रहन्छ ।

तत्कालको लागि आम सर्वसाधारणले पिउने र अन्य प्रयोजनको लागि प्रयोग गरिने पानीलाई शुद्ध गरेर प्रयोग गर्ने हो भने काठमाण्डौ यो आपतकालिन अवस्थामा हैजा फैलनबाट वच्न सकिन्छ ।

आनन्द गौतम
(FacebookAnand Gautam | LinkedIn)

लेखक विगत दुई दशकदेखि खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थामा क्रियाशील हुनुहुन्छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार