शौचालय बिहीन वनका राजा, मुखिया भन्छन् ‘मेरा जनताले बनाउन मान्दैनन्’

  भक्तबहादुर शाही  146 पटक हेरिएको

दैलेख : आफुलाई ‘वनको राजा’ भन्न मन पराउने राउटे समुदायमा शौचालय छैन । परम्परादेखि नै खुल्ला ठाउँमा दिसापिसाव गर्न वानी परेकाले शौचालयमा शौच गर्न मान्दैनन् । सधैभरि एकै ठाउँमा बसोबास नगर्ने भएकाले पनि यो समुदायले शौचालय प्रति रुचि नदेखाएका हुन्।

‘हाम्रा पुर्खाले जंगलमै दिसापिसाब गर्दै आए । हामी अहिले पनि जंगलमै बस्छौं । मान्छे मर्ने वित्तिकै ठाउँ छोड्नुपर्छ । सबै ठाउँमा भने जसो पानी हुँदैन । हामीलाई त्यो शौचालय किन चाहियो ?’ मुखिया सुर्यनारायण शाहीले प्रश्न गर्नुभयो ।

‘जे गर्दा आफूलाई आनन्द आउँछ । त्यही गर्नुपर्छ । शौचालय वनाउन मेरो जनता त मान्दैनन्, वनाएर के काम ? वनाउनु भन्दा नबनाएको राम्रो’ उहाँले थप्नुभयो ।

दिसापिसाव गरेसकेपछि थोरैले मात्र हात धुने गरेको उहाँले सुनाउनुभयो। अधिकाँश बालबालिका, महिला समेत शौचगरेपछि हात धुँदैनन् । खाना खाँदा हात नधोई खाने गरेको राउटे युवा प्रकाश शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आफ्नै हात त हो । किन धुनु पर्‍यो ?’ तर पछिल्लो समय आफूहरुले बर्षको एक पटक नुहाउने, फुर्सदको समयमा सबैले सफा गर्ने बताउनुभयो।

बस्तीमा शौचालय प्रयोग नगर पनि शहरका होटलमा शौचालय प्रयोग गर्ने गरेका राउटे युवती गाजली शाहीले सुनाउनुभयो । ‘हाम्रो समुदायमा शौचालय छैन । बस्तीमा बनायो भने फोहोर हुन्छ । शहरको जस्तो सफा हुदैन । खाल्डो खनेर वनाउने हो, एउटै ठाउँमा दिसापिसाव गर्न गाह्रो हुन्छ’ उहाँले भन्नुभयो ।

राउटे समुदायका एक बृद्ध दिलबहादुर शाहीले भने देवीदेवता रिसाउने हुँदा पुर्खादेखि जंगलमा दिसापिसाव गर्ने गरेको बताउनुभयो। ‘शौचालय बनाएर एकै स्थानमा दिसापिसाब गर्दा हाम्रो कुलधर्म विरुद्ध हुन्छ । त्यो त दुनियाँले वनाउने हो । हामी राउटेले होइन।’ राउटे गैरराउटेलाई दुनियाँ भन्छन् ।’

राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद विसीले राउटेहरुले शौचालय वनाउन रुचि नराख्ने बताउनुभयो । एक दुई पटक खाल्डे चर्पी बनाए पनि प्रयोग गर्न नमानेको उहाँले बताउनुभयो । ‘हामीले उहाँहरुलाई कम्तीमा खाना खानु अघि, खाना खाए पछि, दिसापिसाब गरेपछि हातमुख धुन सिकाई रहेका छा्रैं, कोही मान्नु हुन्छ, कोही त पिटिक्कै मान्नुहुन्न’ उहाँले भन्नुभयो ।

१३५ जनसंख्या रहेको राउटे आज भोलि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ को जंगलमा बसोबास गरिरहेका छन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार