मोरङ : खानेपानीमन्त्री प्रदीप यादवले उर्लाबारी वृहत खानेपानी तथा सरसफाइ सहलगानी आयोजनाको उदघाटन गर्नुभएको छ । निर्माण व्यवसायले समयमै आयोजना सम्पन्न गरेपछि आज एक समारोहका बीच मन्त्री यादवले खानेपानी उदघाटन एवं हस्तान्तरण गर्नुभएको हो ।
आर्थिक बर्ष २०७९ असोज २२ देखि सुरु भएको खानेपानी आयोजनाको २०८१ असोज २३ गतेसम्मको निर्माण अवधि थियो ।
प्रथम चरणको उर्लाबारी सहलगानी खानेपानी तथा सरसफाइ आयोजना आर्थिक बर्ष २०७१/०७२ मा सुरु भई आर्थिक बर्ष २०७४/०७५ मा सम्पन्न भएको थियो ।
सेवा क्षेत्र भित्र अत्याधिक खानेपानीको माग भई खानेपानी आपूर्ति गर्न नसक्ने भएपछि उपभोक्ता समितिको मागलाई ध्यानमा राखी खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागबाट ४८ करोड ८ लाख ७० हजार ५८ रुपैयाँमा उर्लाबारी वृहत सह लगानी खानेपानी तथा सरसफाई आयोजना स्वीकृत भएको संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजना बिराटनगरका आयोजना प्रमुख सुरत चौधरीले जानकारी दिनुभयो।
निर्माण व्यवसाय स्वामिनारायण निर्माण सेवा प्रा.लि.धरान सुनसरीले २८ करोड २८ लाख ५० हजार ८३८ मा ठेक्का सम्झौता गरी समयमै कार्य सम्पन्न भएको आयोजना प्रमुख चौधरीले बताउनुभयो ।
आयोजनाबाट जडित धारा संख्या ४ हजार १ सय रहेको छ । यो सँगै हालसम्मको कुल जडित धारा संख्या ९ हजार ३ सय पुगेको छ ।
उर्लाबारी वृहत सहलगानी खानेपानी तथा सरसफाई आयोजनाले उर्लाबारी नगरपालिका, वडा नं ८, ९, रतुवामाई १०, पथरी ५ र दमक १० क्षेत्रलाई समेटेको छ । आयोजनाबाट अन्तर्गत २८ हजार ७ सय १ जनसंख्या र ४ हजार १ सय घरधुरी प्रशोधित खानेपानी सेवाबाट लाभान्वित भएको उहाँले जाकारुी दिनुभयो ।
उर्लाबारी नगरपालिकाको जम्मा जनसंख्या ७० हजार ९ सय ८ र घर संख्या १७ हजार ६ सय ७० मा साविकको योजनाबाट ९ हजार ३ सय घरधुरी लाभान्वित भईरहेको छ । उर्लाबारी प्रथम र दोस्रो सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाबाट ५ हजार २ सय घरधुरीमा कनेक्सन भई सकेको र बाँकी १२ हजार ४ सय ७० घरधुरी मध्ये ४ हजार १ सय घरधुरी यसै आयोजनाबाट निजी धारा कनेक्सन गरी स्वच्छ खानेपानी उपलब्ध गराइएको छ ।
बाँकी रहेको घरमा सालबारी लक्ष्मीपुर सह लगानी खानेपानी तथा सरसफाइ आयोजना श्रोत सहमति भएमा यसै आर्थिक बर्षमा ठेक्का व्यवस्थापन गरी नगर क्षेत्र भरि नै खानेपानीको समस्या समाधान हुने उहाँले बताउनुभयो ।
खानेपानी आयोजनाको उदघाटन कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ, संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजना कार्यालय विराटनगरका आयोजना प्रमुख सुरतलाल चौधरी, जनप्रतिनिधी, उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी र खानेपानी उपभोक्ता लगायत सहभागी हुनुहुन्थ्यो ।