सरस्वती माध्यमिक विद्यालय ‘दुई तारे’ घोषणा

  भक्तबहादुर शाही  211 पटक हेरिएको

दैलेख :दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ ठूलो ओइरी स्थित सरस्वती माध्यमिक विद्यालयलाई ‘दुई तारे’ विद्यालय घोषणा गरिएको छ । बिद्यालय सेवाक्षेत्र भित्र पर्ने ग्रामीण बस्तीहरु सहित विद्यालय भित्रका सूचक पूर्वाधारहरु निर्माण तथा व्यवस्थापन गरे पछि विद्यालयलाई दुई तारे घोषण गरिएको हो ।

डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष कलावती न्यौपानेले विद्यालयलाई प्रमाण पत्र हस्तान्तरण संगै झण्डोत्तोलन गरी दुई तारे विद्यालय घोषणा गर्नुभयो ।

सरस्वती माविका अध्यक्षलाई दुई तारे विद्यालय घोषणा प्रमाणपत्र प्रदान गरिंदै,डुगेश्वर गाउँपालिका उपाध्यक्ष

डुङ्गेश्वर गाउँपालिका, एसएनभी नेपालको आर्थिक तथा प्राबिधिक सहयोग र एभरेष्ट क्लव दैलेखको सामाजिक परिचालनमा पूर्ण सरसफाइ तथा स्वच्छता उत्मुख ‘दुई तारे’ नमूना बिद्यालय घोषणा गरिएको हो ।

घोषणाका कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कलावती न्यौपानेले शिक्षा क्षेत्रको सुधारले नै समाज र देशले दक्ष जनशक्ति पाउने, विद्यालय पाठ पढ्ने मात्र नभै ज्ञान आर्जन गर्ने थलो भएको बताउनुभयो । उहाँले भन्नुभयो‘अव सवै मिलेर हातेमालो गरौं र छिट्टै तीनतारे बनाउन पालिका पनि लाग्नेछ । विद्यालयमा विद्यमान खानेपानी सरसफाई एवं स्वच्छताको अवस्था हेरी तोकिएका मापदण्डका आधारमा विद्यालयलाई उत्कृष्ट, मध्यम र सुधारोन्मुख (एक तारा, दुई तारा र तीन तारा) गरी तीन वर्गमा वर्गीकरण गरिने प्रावधान भए अनुसार सरस्वती माध्यामिक विद्यालय ओइरीलाई दुईतारे बिद्यालय घोषणा गरिएको हो,उहाँले भन्नुभयो । ‘अहिले दुई तारा मात्र घोषणा गरिएको छ, केही सूचकहरु पूरा नभएको हुनाले तीन तारे उन्मुख विद्यालय बनाएको हो’ एसएनभीका जिल्ला संयोजक रामप्रसाद सिंहले बताउनुभयो ।

डुङ्गेश्वर गाउँपालिकामा ३१ वटा विद्यालयहरुको सुधारको लागि पालिकासँगको साझेदारीमा सूचकहरुलाई पूरा गर्न विभिन्न सात वटा समूहमा अंक सूची सहितको झण्डा विद्यालय परिसरमा राखिएको छ । ‘सवै सूचकहरुमा सुधार भएर शत प्रतिशत बनेपछि तीन तारे विद्यालय घोषणा गरिनेछ’ परियोजना संयोजक बिमला बिशुन्केले बताउनुभयो ।

सन् २०२३ देखि समावेशी जलवायु उत्थानशील ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजना मार्फत विद्यालय सेवा क्षेत्रका ग्रामीण बस्तिहरुमा तीन वटा खानेपानी आयोजना मार्फत ३२ घरधुरीका १ सय २४ जनसंख्या र विद्यालयमा अध्ययनरत २ सय ५० बिद्यार्थी स्वच्छ खानेपानीबाट लाभान्वित भएका छन् ।

तारा पद्धति के हो ?

दुई तारे विद्यालय घोषणा सभामा सात वटा झण्डोत्तोलन गरिंदै

विद्यालयमा खानेपानी र सरसफाईका सुविधा, स्वच्छता अभ्यास, संस्थागत सुदृढीकरण र दिगोपना सूचकका आधारमा स्वमूल्याङ्कनबाट पालिका स्तरिय शिक्षा समितिले प्रमाणीकरण गरेपछि वर्गीकरण हुने गर्दछ । एक, दुई वा तीन तारामा वर्गीकरण गर्दै खानेपानी, सरसफाइ र स्वच्छता प्रवद्र्धनलाई स्तरीकृत गर्दै लैजाने पद्धति हो ।

विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७५ (दोस्रो संशोधन)ले सबै विद्यालयमा आधारभूत खानेपानी, सरसफाई र स्वच्छताको प्रावधान हुनुपर्ने प्रबन्ध गरिएको छ । विद्यालयमा पानी, शौचालय, वातावरणीय सरसफाई, हरियाली वातावरण जस्ता विषयहरुको मूल्यांकन गर्ने गरिन्छ ।

त्यसैगरी विद्यालयको स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था र दिगोपना, विपद जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहिताका सूचकसहितको मापदण्ड उक्त कार्यविधिले तोकेको छ । सोही मापदण्ड पूरा भएपछि विद्यालयलाई वर्गीकरण गरी घोषणा गर्नुपर्ने प्रावधान गरिएको छ ।

तस्वीर : विशाल सुनार,दैलेख


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार