
खोटाङ : खोटाङको जिल्ला कारागार दिक्तेलका कैदीबन्दीले दुषित पानी पिउन बाध्य छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढे खोला मुहानको दुषित पानी ल्याएर कारागारमा वितरण गरिएको छ ।
मुहानबाट पाइप मार्फत ल्याइएको धमिलो पानी पिउनुपर्ने बाध्यता रहेको जेलर सोमप्रसाद आचायले सुनाउनुभयो। मुढेदेखि बग्ने खहरे खोलाबाट माटोले थुनेर अस्थायी इन्टेकसम्म ल्याएर त्यहाँबाट ३२ एमएमको पाइपमार्फत कारागारमा पानी ल्याइएको छ ।
‘झण्डै ३ किलोमिटर टाढाबाट ल्याइएको पानी धमिलो भएकाले कपडाले छानेर पिउनुपर्ने बाध्यता छ,’ आचार्यले भन्नुभयो ‘पहिलेदेखि नै कारागारमा पानीको समस्या थियो, म प्रशासक भएर आएपछि नगरपालिकालाई दुई वटा हिलट्याङकी र ३२ एमएमको तीनसय मिटर पाइप मागेर अहिले यो पानी ल्याइएको हो, तै पनि धमिलो आउँछ, हिलट्याङकीमा पानी जम्मा गरेर कपडाले छानेर पिउनु परिरहेको छ ।’
हिउँदमा कपडाले छानेर पानी पिउने गरे पनि वर्षामा कपडाले छान्दा समेत धमिलो पानी पिउनुपर्ने बाध्यता भएको आचार्यले बताउनुभयो। वर्षामा पाइपलाई भलबाढीले बगाइरहने भएकाले दिनहुँजसो पानीको समस्या हुने आचार्यको भनाइ छ । धमिलो पानी पिएरै कैदीबन्दी प्राय बिरामी हुने गरेको उहाँले सुनाउनुभयो।
‘दुषित पानी भएकैले कैदीबन्दी प्रायजसो बिरामी भइरहन्छन्’ आचार्यले भन्नुभयो, ‘वर्षामा भलबाढीले पाइप बगाएर लगिदिन्छ, पाइप भित्र भ्यागुत्ता, सर्प पसेर हिलट्याङकीमा पुगेछ, त्यस्तै भए पनि पानी त पिउनै पर्यो ।’
कारागारमा रहेका एक सय ७० कैदीबन्दी, २० सुरक्षाकर्मी र १० कर्मचारीले धमिलो पानी पिउने गरेको आचार्यले बताउनुभयो। गत मंसिर ५ गते कारागार निरीक्षणमा आएका महान्यायाधिवक्ता रमेश बडाललाई कारागारको खानेपानी समस्याबारे जानकारी गराउँदा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने वचन दिएको आचार्यले बताउनुभयो।
कारागारको खानेपानी समस्याबारे संघीय खानेपानीलाई माग गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो। ‘यो खबर कान्तिपुर दैनिकले प्रकाशन गरेको छ।धेरै खर्च पनि लाग्दैन, एउटा रिजर्ब ट्याङ्की भए समस्या समाधान भइहाल्छ,’ कार्कीले भन्नुभयो ‘यसका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयसँग गुहार मागेका छौं’


345 पटक हेरिएको 

