वास सुशासनमा रोल्पा उत्कृष्ट, मेयर घर्ती च्याम्पियन घोषित

  वास खबर सम्बाददाता  134 पटक हेरिएको

रोल्पा : खानेपानी, सरसफाइ र स्वच्छता (वास) सुशासनमा उत्कृष्ट काम गर्दै रोल्पा नगरपालिकाका प्रमुख ‘च्याम्पियन मेयर’ घोषणा हुनु भएको छ। नेपाल नगरपालिका संघले खानेपानी, सरसफाइ र स्वच्छता (वास) सुशासनको स्तरीकरण विश्लेषण गरी सफल पालिका प्रमुख (Champion Mayor) घोषणा गरेको हो ।

लुम्बिनी प्रदेश स्थित कपिलवस्तुको चन्द्रौटामा नेपाल नगरपालिका संघले आयोजना गरेको कार्यक्रममा खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासनमा रोल्पा नगरपालिकाले उत्कृष्ट काम गरेको निष्कर्ष निकाल्दै नगर प्रमुख घर्तीलाई च्याम्पियन मेयर घोषणा गरिएको हो।

च्याम्पियन मेयर पहिचानका लागि नगरपालिका संघले संस्थागत विकास र क्षमता अभिवृद्धि, वास प्लान, खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी ऐनहरु, विद्यालय, स्वास्थ्य संस्थाहरुमा खानेपानी, सरसफाइ र स्वच्छता (वास) को व्यवस्था, वित्तिय व्यवस्थापन, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन लगायत बिषयमा स्तरीकरण गरी विश्लेषण गरिएको थियो।

नेपाल नगरपालिका संघको आयोजनामा स्थानीय तह खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्र सुशासन सुदृढीकरण कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले सीमित स्रोत साधन भए तापनि नगरपालिकाले वास क्षेत्रमा गरेका कामहरूलाई इमानदारिताका साथ प्राथमिकता दिएको बताउनुभयो।


कार्यक्रममा एक अर्का नगरपालिकाको सिकाई आदानप्रदान गरिएको थियो । नगरपालिका संघका महासचिव नरूलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । उहाँले भौतिक पूर्वाधारको विकास सँगै नगरपालिकाहरूले स्वच्छताको सन्दर्भमा पनि काम गर्नुपर्ने भएकाले नगरपालिका संघले यस्तो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

सो कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्ती लगायत प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, वास फोकल पर्सन निशान आचार्यले आफ्नो नगरपालिकामा खानेपानी, सरसफाइ र स्वच्छतामा गरेको कामबारे विस्तृत रुपमा प्रस्तुतीकरण गर्नुभयो ।


पालिकामा भएको उदाहरणीय काम प्रति सहभागी नगरपालिका प्रमुख तथा उपप्रमुखहरूले अन्तरक्रिया गर्नुभएको थियो । कानुनविद् काशीराज दाहालले फोहोरपानी व्यवस्थापन र स्वच्छता कायम गर्न प्रयोग भएका कानुनी पक्षबारे प्रस्तुतीकरण गर्नुभएको थियो।


दुई दर्जन बढी नगरपालिकाका प्रमुख तथा उपप्रमुख सहभागी कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिज्नल ईन्जिनियर डा.रजित ओझा, लुम्बिनी प्रदेश शहरी विकास तथा खानेपानी मन्त्रालय, युनिसेफ, युके एड लगायत संस्था र विभिन्न सरोकारवाला निकायहरूको सहभागिता थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार