आकाशेपानी शुद्धीकरण गरी विद्यालयमा वितरण

  वास खबर सम्बाददाता  208 पटक हेरिएको

खोटाङ : हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार माध्यमिक विद्यालयका विद्यार्थी प्यास मेटाउन विद्यालय नजिकका होटल पसल चहार्ने गर्थे । सुख्खाग्रस्त क्षेत्र च्यास्मिटरमा टाढाबाट दुःखले ल्याएको पानी त्यति सजिलो कहाँ मिल्थ्यो र ? केही खानेकुरा किन्ने बहानामा होटल पसलको पानी पिउन बाध्य थिए विद्यार्थी । कतिपय विद्यार्थी भने घरबाटै बोतलमा पानी लिएर आउँथे पनि  तर अहिले उनीहरुको दैनिकी फेरिएको छ । उनीहरु विद्यालयमै धित मरुन्जेल पानी पिउँछन् ।

कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा पिउने पानीको समस्या भएपछि आकाशे पानीलाई शुद्धीकरण गरेर विद्यालयमा प्रयोग गर्न थालिएको छ । आकाशे पानीलाई सङ्कलन गरेर शुद्धीकरण गरिएपछि विद्यालयको खानेपानीको समस्या समाधान भएको हो । विद्यालयमा आकाशे पानीलाई सङ्कलन गरेर शुद्धीकरण गरी पिउन योग्य बनाइने उपकरण जडान गरिएको हो । हलेसी तुवाचुङ नगरपालिको पहलमा बेस्ट वाटर संस्था र विद्यालयबीचको साझेदारीमा आकाशबाट परेको पानीलाई जम्मा गरी फिल्टर गरेर पिउन योग्य बनाइएको च्यास्मिटार माविका प्रधानाध्यापक तेजकुमार राईले बताउनुभयो ।

बेस्ट वाटर संस्थाको १२ लाख र विद्यालयको १ लाख ९० हजारमा उपकरण जडान र आवश्यक काम सम्पन्न भएको प्रधानाध्यापक राईको भनाइ छ । विद्यालयको २ वटा भवनको छतमा वर्षातको पानीलाई ३० हजार लिटरको तीन वटा ट्यांकीमा जम्मा गर्ने गरिएको छ । उत्त ट्यांकीबाट लिफ्ट भएर एक हजार लिटरको ट्यांकीमा जान्छ, त्यहाँ पानी फिल्टर हुन्छ, त्यसपछि ५ हजार लिटरको ट्यांकीमा पानी राखिन्छ, उक्त ट्यांकीबाट भने विद्यालयमा निर्माण गरिएको ४ वटा धारामा पानी जाने गरेको छ । वर्षातको समयमा राखिएका तीन ठुला ट्यांकी भरिएमा वर्षभरि पानीको समस्या नहुने बताइएको छ । फिल्टरिङ भएको पानी पिउनको लागि योग्य रहेको प्राविधिकको भनाइ छ ।

फिल्टरिङ गरिएको पानी गत साउनबाट विद्यालयले प्रयोग गर्न थालिसकेको छ । अहिले विद्यार्थी र शिक्षकले सोही पानी उपभोग गरिरहेका छन् । मङ्सिर ९ गते विद्यालयलाई बेस्ट वाटर संस्थाले औपचारिक रुपमा खानेपानी हन्तान्तरण गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले रिबन काटेर शुद्धीकरण गरेको पानीको उद्घाटन गर्नुभएको हो । नगरपालिकाका मेयर राईसँगै उपमेयर रमेश कुमार राउत, बेस्ट वाटर संस्थाका प्राविधिक अधिकृत गोकुल दङ्गाल, बेस्ट वाटर संस्थाका दाताहरु अर्पना पोखरेल, अनमिका अर्याल र सरोज भण्डारीको उपस्थितिमा विद्यालयलाई औपचारिकरुपमा पानी हस्तान्त्रण गरिएको प्रधानाध्यापक राईले बताउनुभयो ।

यसअघि शिक्षक तथा विद्यार्थीले नजिकैको होटल पसलमा गएर पानी पिउनुपर्ने बाध्यता थियो । “विद्यालयमा पानी नहुँदा शिक्षक एवं विद्यार्थीहरु नजिकै कसैको घर तथा होटल पसलमा गएर मागेर पिउनुपर्ने बाध्यता थियो ।” प्रधानाध्यापक राईले भन्नुभयो, “पानी पिउनकै लागि भए पनि होटल पसलमा केही खानुपर्ने अवस्था थियो, उनीहरुले पनि टाढाबाट बोकेर ल्याएको पानी हुँदा प्रशस्त हुँदैन थियो ।”

आकाशे पानीलाई फिल्टर गर्ने प्रविधि जडान पश्चात भने विद्यार्थीहरुले आनन्दले पानी सेवन गर्न पाएका छन् । नगरपालिकाको पहलमा विद्यालयमा खानेपानीको व्यवस्था भएपछि विद्यालय र शिक्षक सबैलाई सहज भएको प्रधानाध्यापक राईले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार