झापा : झापाको काँकरभिट्टा स्थित मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्रको सुधारमा ढिलाई भएको छ । केन्द्रको सौन्दर्यकरण, यसअघिको डिजाइनमा भएका त्रुटी हटाएर सुधार गर्ने लगायत अन्य कामको डिजाइन तयार भैसके पनि सुरुवात हुन नसकेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका प्रमुख दिपक पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार कम्पाउण्ड भित्रको खाली जग्गामा माटो भरेर त्यसको सतह केही उठाइनेछ भने बगैंचा बनाउने, फोहोर व्यवस्थापन केन्द्रको वरिपरि वृक्षारोपण गर्ने, बर्षातको पानी निकासका लागि वरिपरि नाली निर्माण लगायत सुधारको काम हुनेछ। यसका लागि एसियाली विकास बैंकबाटै १ करोड रुपैयाँ अनुदान दिईने भएको छ।
‘युपिभिसी पाईपहरु फुटेका छन्, त्यसलाई परिवर्तन गर्ने, बर्षाको समयमा ड्राइङ बेडहरुमा सीधै पानी पर्न नदिन कम्तीमा आठ वटा जत्तिमा छानो लाउनेछौं’ उहाँले भन्नुभयो ।
त्यसपछि मानव मलमूत्र फोहोर व्यबस्थापन केन्द्र बाह्रै महिना सञ्चालनमा आउने उहाँको विश्वास छ । यस्तै ग्यास चेम्बरमा भएको केही प्राविधिक समस्यालाई हटाउने र ग्यास चेम्बरबाट कलेक्सन चेम्बरमा जाने पाइपको साइज बढाउने, ग्यास चेम्बरमा एउटा चक्का (ह्वील) राखेर मोटरबाट ह्वील चलाउने र त्यसलाई घोल्ने गरी संरचना निर्माण गर्ने काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको तयारी छ ।
दिशा व्यवस्थापन गर्ने ठाउँ पनि गन्धबिहीन हुँदो रहेछ भन्ने कुराको धारणा बसाउने, बाहिरबाट आउने मानिसलाई पनि आनन्दले भ्रमण गर्न मिल्ने र धेरै भन्दा धेरै मान्छेहरुलाई देखाउने नमुना केन्द्रको रुपमा विकास गर्ने योजना रहेको काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रोहित कुमार बुढाथोकीले बताउनुभयो।
एसियाली विकास बैंक मार्फत बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसन (BMGF) को ८५ प्रतिशत र मेचीनगर नगरपालिकाको १५ प्रतिशत गरी कुल ६ करोड ७४ लाख ६० हजार ३ सय ७ रुपैयाँ लागतमा यो मानव मलमूत्र व्यवस्थापन केन्द्र निर्माण गरिएको थियो ।
२०७६ कार्तिक ८ गते देखि सञ्चालनमा आएको मेचीनगर नगरपालिकाका दुवै मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्रहरु आंशिक रुपमा मात्र सञ्चालन भैरहेको छ।