काठमाडौं : सेप्टिक ट्याङ्कीमा बर्षौसम्म जम्मा भएर बसेको दिसाजन्य लेदो खाली गर्ने काम एकदम जोखिमपूर्ण भए पनि अधिकांश सरसफाइकर्मी कुनै भरपर्दो सुरक्षात्मक उपाय बिनै काम गर्छन् । अनौपचारिक क्षेत्रमा काम गर्ने सरसफाइकर्मीसँग व्यक्तिगत सुरक्षा साधनकै अभाव छ भने औपचारिक क्षेत्रका सफाइकर्मीले समेत नियमित प्रयोग गर्दैनन् ।
चारआली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था अन्तर्गत सञ्चालित मानव मलमूत्र व्यबस्थापन केन्द्रमा कार्यरत गोपाल बहादुर सुबेदी संस्थाले व्यक्तिगत सुरक्षा सामग्री दिएको भए पनि प्रयोग गर्नै असजिलो हुने भएकाले प्रयोग नगरेको बताउनुहुन्छ । ‘संस्थाले गम्बुट दिएको छ, ठूलो यत्ति लामो छ, लगाएर काम गर्न असजिलो हुन्छ । तर हिलो ठाउँ छ भने गम्बुट पनि लगाउँछौं नत्र चप्पलले नै काम चलाउँछौं ।’ उहाँले भन्नुभयो ।
सेप्टिक ट्याङ्क खाली गरिरहेको बेला भेटिएका सुवेदीले हातमा पञ्जा बाहेक अन्य कुनै पनि सुरक्षा सामग्री लगाउनु भएको थिएन । खुट्टामा सामान्य चप्पल, टिसर्ट, पाइन्ट र क्याप लगाउनु भएका सुवेदीको नाकमा मास्क पनि थिएन ।
‘यो काम गर्दा के कस्ता समस्याहरु सँग सामना गर्नु भएको छ ?’ सुबेदीलाई सोध्यौं । ‘कतिपय घरको सेप्टिक ट्याङ्क अफ्ठ्यारो ठाउँमा हुन्छ, बाटो हुँदैन । तीन वटासम्म पाइप गाँस्नुपर्ने हुन्छ । ढक्कन पनि ढलाई गरिदिएको हुन्छ । झ्याम्पलले हानेर ढक्कन उठाउँदा हात च्याप्ने हुन्छ, ठूला ढक्कन उठाउन दुई जनालाई पनि धौ धौ हुन्छ । कहिले दिसाका छिटाहरु अनुहारमा पनि आउँछ’ उहाँले एकै सासमा भन्नुभयो ।
उहाँले अर्को घटना पनि सुनाउनु भयो । ‘यो मेसिनले एक किलोसम्मको ढुङ्गा पनि तान्छ । अनि पाइप गाँसेको ठाउँमा आएर अड्किन्छ । त्यसपछि पाइप जोइन गरेको ठाउँ खुस्किँदा एक दुई पटक दिसाले नुहाएको पनि छ ।’
सेप्टिक ट्याङ्क सरसफाइको क्षेत्रमा काम गर्ने सफाइकर्मीले कल्पनै गर्न नसकिने घटनासँग सामना गर्नुपर्ने सरसफाइकर्मीहरु बताउँछन् । सर्लाही लालबन्दीका प्रमोद माझी भन्नुहुन्छ ‘जत्ति सावधानी अपनाए पनि कहिलेकाही नसोचिएको घटना हुन्छ । अनुहारमा दिसाको छिटा पर्नु त सामान्य हो । सेप्टिक ट्याङ्कको ढक्कनले हात च्यापिने, कतै सेप्टिक ट्याङ्की भित्र पस्नुपर्यो भने निस्सासिने सम्भावना हुन्छ।’
सरसफाइकर्मीहरुको पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी वकालत गर्दै आउनु भएका राम डंगोल सेप्टिक ट्याङक सरसफाइमा काम गर्ने सरसफाइकर्मीमा जैविक जोखिम, रसायनिक जोखिम, भौतिक जोखिम र मानसिक जोखिम रहने बताउनुहुन्छ । ‘जैविक जोखिम अन्तर्गत स्वास्थ्यमा नकारात्मक असर गर्ने भाइरस, ब्याक्टेरिया, हेल्मिन्थ, प्रोटोजोवा, किटपतंग, जनावर र कूहिने ठोस पदार्थले गर्दा छाला चिलाउने, श्वासप्रश्वास प्रणाली, छाला र आँखामा संक्रमण फैलिने सम्मको असर हुन सक्छ’ डंगोल भन्नुहुन्छ ‘सेप्टिक ट्यांकी विषाक्त ग्याँसले भरिएको हुनसक्छ र यस्तो ठाउँमा अक्सिजनको अभाव हुन्छ । यस्तो ठाउँमा काम गर्दा टाउको दुख्ने, ज्वरो आउने दम, रिंगटा लाग्ने हुनसक्छ ।’
यस्तै भर्याङ चढ्दा/झर्दा, सेप्टिक ट्याङ्कको ढक्कन खोल्दा बन्द गर्दा, चिप्लो सतहले गर्दा पटक पटक दुर्घटनाहरु हुन सक्ने उहाँले बताउनुभयो । ‘चिप्लो ठाउँ, साँघुरो प्रवेशद्धारले गर्दा उपकरणको ओसारपसारमा अवरोध हुने लड्ने, हात खुट्टा भाँचिने समस्या आउन सक्छ’ उहाँले भन्नुभयो ।
सेप्टिक ट्याङ्क ससरसफाइकर्मीले मानसिक जोखिमको पनि सामना गर्नुपर्ने हुन्छ । डंगोल भन्नुहुन्छ ‘सरसफाइ कार्यमा संलग्न कामदारलाई सामाजिक दृष्टिकोण र दुव्र्यवहारले आत्मसम्मानमा चोट पुग्न सक्छ, जसले गर्दा तनाव, लाज, हिनताबोध हुन सक्छ ।’