बाँके : नेपालगन्ज–१९, फुटाहका सिताराम रैदासले आजभन्दा करिब १५ वर्ष पहिला घरमा शौचालय बनाउँदा गाउँमा कमै मात्रामा शौचालय थिए । त्यस भन्दा पहिला उहाँ खुला ठाउँमै शौच गर्न जानुहुन्थ्यो । खुला शौच गर्दा लाज हुने र सर्पको बिगबिगी हुने भएपछि उहाँले शौचालय बनाउनुभयो। करिब ७०/८० घर भएको यस गाउँमा अहिले ९० प्रतिशत भन्दा बढी घरमा शौचालय छन् ।
पछिल्लो समय मधेसी समुदायमा शौचालयको प्रयोग बढ्दै गएको छ । सरसफाइ सम्बन्धी चेतना बढ्दै जाँदा मधेसी समुदायमा शौचालयको प्रयोग बढ्दै जान थालेको हो । शौचालयको प्रयोग बढ्दै जानुमा एक तर्फ चेतना हो भने, अर्को तर्फ वर्षाको समयमा सर्पको बिगबिगी र अन्य समयमा खुला शौच गर्दा हुने लाज हो । ‘रातको समयमा पनि बाहिरै जानुपर्थ्यो, तराईको ठाउँमा सर्पको बिगबिगी हुन्थ्यो । अर्काको खेतमा जाँदा मानिसहरूले गाली गर्नुहुन्थ्यो । बाल बच्चा र गर्भवती महिलाहरु पनि सकी नसकी खुला ठाउँ खोज्दै जानुपर्थ्यो,’ सितारामले भन्नुभयो ‘घरमा शौचालय बनाएपछि धेरै सजिलो भएको छ। हाम्रा हजुरबा, हजुर आमा र बुबा आमाको पालामा खुला ठाउँमै दिसा पिसाब गर्नु हुन्थ्यो। खुला ठाउँमा दिसा पिसाब गर्दा कति सामाजिक बेइज्जत हुन्थ्यो ।’ अहिले गाउँमा सम्मानसँगै इज्जत दुवै बढाएको उहाँले सुनाउनुभयो ।
२०७१ सालमा नेपालगन्जलाई उपमहानगरपालिका बनाउँदा घर घरमा शौचालय बनाउने अभियान चलेको र सोही बेला घरमा अमृतलाल बर्माले बताउनुभयो। ‘उपमहानगरको मापदण्डमा पर्नलाई गाउँमा शौचालय बनाउने अभियान चल्दा धेरैले शौचालय बनाएका थिए,’ उहाँले भन्नुभयो ‘त्यतिबेला सरकारले विपन्न तथा गरिब परिवारलाई केही सामग्री समेत सहयोग गरेको थियो ।’ सहरसँग जोडिएका मधेसी समुदायका बस्तीहरूमा शौचालयको प्रयोग बढ्दै गएपछि गाउँहरू सफा देखिन थालेका छन्।
‘पहिला त बाटोघाटो, यत्रतत्र दिसाले हिँड्न समेत गाह्रो हुन्थ्यो,’ स्थानीय सुन्दर बर्माले भन्नुभयो ‘अहिले त्यस्तो अवस्था छैन ।’ सामाजिक, सांस्कृतिक, शैक्षिक र आर्थिक अवसरको पहुँच बाहिरका सीमान्तकृत समुदायका घर भने शौचालयविहीन भएको भन्दै उहाँले भन्नुभयो ‘त्यस्ता परिवारका बालबच्चाले गर्दा भने केही सरसफाइमा समस्या छ ।’ ‘अहिले पक्की घरहरू बन्ने गरेको र सोहीसँग शौचालय पनि बन्छन्,’ उहाँले भन्नुभयो ‘कच्ची घर बनाउनेले पनि नजिकै शौचालय बनाएका हुन्छन् ।’
‘खुला ठाउँमा जाँदा कोही आउँछन् कि, देख्छन् भन्ने त्रास मात्रै हुन्थ्यो,’ उहाँले भन्नुभयो ‘डरै डर दिसा गरेर घर फर्किन्थ्यौ ।’ कहिले कसो तः मानिसहरूको चहलपहल हुने दिन राम्रोसँग दिसा गर्नै नपाइने भन्दै उहाँले भन्नुभयो ‘घरमा शौचालय नहुँदा धेरै दुःख पाइएको थियो । अहिले त । ती सबै समस्या हटेका छन् ।’ शौचालय प्रयोगले सरसफाइमा समेत सहयोग पुगेको उहाँले बताउनुभयो।
मधेसी समुदायमा शौचालयको प्रयोग बढ्दै गए पनि अमृतलालले भने जस्तै शैक्षिक र आर्थिक अवस्था कमजोर भएका परिवारहरू भने शौचालयविहीन छन् । यो खबर नागरिक न्यूजले प्रकाशन गरेको छ। शौचालय अभावमा कतिपयले शौच गर्न जाँदा सर्पको टोकाइबाट अकालमा ज्यान गुमाउनु परेको छ ।