मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिकाको वडा नंं.९ को ३ वटा टोल एकैसाथ पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानको प्रमुख आतिथ्य, पालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी र वडा अध्यक्ष भुवनसिंह घलानको अध्यक्षतामा वडा नं. ९ को विता, अम्बोटे र बरेटारलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानी युक्त समुदायहरु घोषणा गरिएको हो ।
यस अघि मकवानपुरको कैलाश गाउँपालिका वडा नं. २ स्थित रानाटोल बुढ्यौली टोललाई गाउँपालिकाकै पहिलो पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको थियो । १९ घरधुरी रहेको रानाटोल बुढौलीटोललाई पालिकाको पहिलो पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरेपछि कैलाशकै वडा नंं.९ को ३ वटा टोललाई पनि घोषणा गरिएको हो ।
कैलाश गाउँपालिकासँगको समन्वयमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN) को सहजीकरण, WELT HUNGER HILFE (WHH) र गाउँपालिकाको सहयोगमा सञ्चालित खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना अन्तर्गत सरसफाइ अभियान सञ्चालन गरेपछि तीन वटा टोलका ४८ घरधुरीलाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो ।
पूर्ण सरसफाइ अभियानमा पूर्ण सरसफाइ मार्गदर्शन २०७३ ले निर्दिष्ट गरे अनुसारका ७ वटा मुख्य सूचक तथा अन्य उपसूचकहरुको आधारमा वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति र गाउँपालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले अनुगमन तथा प्रमाणीकरण गरी घोषणाको लागि सिफारिस गरिएको हो । पूर्ण सरसफाइका मुख्य ७ वटा सूचकहरुमाः १) चर्पीको समुचित प्रयोग २) व्यक्तिगत सरसफाइ ३) सुरक्षित पानीमा पहुँच तथा प्रयोग ४) सुरक्षित र स्वच्छ खाना ५) घरायसी एवंम संस्थागत सरसफाइ ६) वातावरणीय सरसफाइ र ७) योजना तर्जुमा तथा कार्यान्वयन रहेका छन् ।
घोषणा सभामा विर्ता, अम्बोटे र बरेटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष राजु गोलेले खानेपानी प्रणालीको दीगोपना कायम गरी गाउँमा पूर्ण सरसफाइकोे अवस्था कायम राख्ने सामूहिक प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नामटार स्वास्थ्य संस्थाका इन्चार्ज सर्वदिन गद्दी राउतले सरसफाइमा हेलचेक्याइ गरेमा रोग निम्तने, औषधी उपचार खर्च बढ्ने बताउनुभयो । उहाँले चर्पीको समुचित प्रयोग र सरसफाइमा ध्यान दिंदा गरिने व्यवहारले ८० प्रतिशत रोगबाट छुट्कारा पाइने समेत बताउनुभयो ।
कार्यक्रममा अर्का वक्ता कालिका माध्यमिक विद्यालयको वाल क्लवकी छात्रा पुर्णीमा गोलेले आरआरएनले विद्यालयमा पनि व्यक्तिगत सरसफाइ, घरायसी तथा वातावरणीय सरसफाइको महत्व र महिनावारी व्यवस्थापनको बारेमा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी चेलनामूलक अभिमूखीकरण कार्यक्रम संचालन गरेकोले यसबाट विद्यालय र समुदायमा पूर्ण सरसफाइ अभियानमा सघाउ पुर्याएको बताउनु भयो ।
घोषणा सभामा आमा समूहबाट सरसफाइ र स्वच्छता सम्बन्धी सन्देशमुलक गीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहयोगी संस्था नेपाल ग्रामीण पुनर्निमार्ण संस्था (RRN) का कार्यक्रम व्यवस्थापक निराजन पोखरेलले कार्यक्रमको शुरुआतदेखि हालसम्म भए गरेका क्रियाकलापहरु र हासिल गरेको उपलब्धिका बिषयमा बताउनुभयो । साथै भोलिका दिनमा यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । सभामा स्थानीय १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।