मुगु : मुगु जिल्लाको पूर्वी क्षेत्रमा पर्ने लामा समुदायको बसोबास रहेको मुगुम कार्मारोङ गाउँपालिकाको पालिका केन्द्र पुलु बजारमै सरसफाइ सामग्री किन्न पाउने भएपछि यहाँका स्थानीय खुसी भएका छन् ।
मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयलाई आफनो गाउँबाट सरसफाइका सामान किन्न सदरमुकाम गमगढी पुग्न पैदल हिडेर आउन जान ३ देखि ४ दिन लाग्छ । यी सामग्री किन्नकै लागि सदरमुकाम पुग्नु पर्ने बाध्यता भएपछि अधिकाँस स्थानीयले आफनो घरमा शौचालय निर्माण र अन्य सरसफाइमा ध्यान पुर्याएका छैनन । अहिले पुलु बजारमै अपाङ्गता भएका ब्यक्तिहरुको लागि प्रयोग हुने शौचालय देखि अन्य सरसफाइ समाग्री किन्न पाउने भएपछि खुसी भएका हुन ।
यो पालिकाको छायल र पुलुमा दुई बजार छन । यी बजारमा स्थानीय स्तरमा चाहिने सबै सामग्री उपलब्ध भएपनि शौचालय निर्माण र अन्य सरसफाइका लागि चाहिने सामग्री पाईदैन ।
गाउँपालिकाले सबै बस्तीमा एक घर एक धारा निर्माण गर्दैछ । घरमा शौचालय नहुनेलाई धारा निर्माण गर्न सहयोग नगर्ने भएपछि अनिबार्य शौचालय बनाउनु पर्नेछ । शौचालय निर्माणका लागि चाहिने सामग्री किन्नलाई गमगढी पुग्नु पर्ने भएकाले धेरै घरपरिवार शौचालय निर्माण गर्न मान्दैनथे । अब पुलु बजारमै सबै सामग्री पाउने भएपछि शौचालय बनाउने भएका राजालिङ्ग खानेपानी उपभोक्ता समितिका अध्यक्ष पासाङ छिरिग लामाले बताउनुभयो।
यो गाउँपालिकामा नेपाल सरकार, युरोपियन युनियन र फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा सञ्चालित सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना लागु भएपछि दिगो सरसफाइका लागि सबैको घरमा खानेपानी र शौचालय निर्माणका लागि स्थानीयलाई सामग्री खरिद गर्न सहज होस भन्ने उद्देश्यले स्थानीय बजारमै स्थानिय ब्यापारीसँग समन्वय गरिएको हो ।
सरसफाइका सामग्री खरिदै गरी आफनो घर सम्म ढुवानी गर्न आर्थिक रुपमा महँगो भएपछि केही स्थानीयहरुले आफनो घरमा धारा र शौचालय निर्माण गर्न नसकेपछि यो उपाय अपनाएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनुभयो ।
यो गाउँपालिकामा ९ वटा वडा छन्। १ हजार ४० घरधुरी छन् । यी मध्ये २ सय ९ घरधुरी शौचालय बिहीन छन । १ घर धारा २ सय ८५ घरधुरीमा पुगेको छैन। दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाको उद्देश्य नै प्रत्येक घरमा सुरक्षित शौचालय र खानेपानी तथा सरसफाइ सेवा पुर्याउने भएकाले धारा निर्माण गर्दा अनिबार्य सुरक्षित शौचालय निर्माण गरी दिगो सरसफाइ तिर ध्यान पुगोस भन्नका लागि स्थानीय बजारबाटै सबै सामग्री छोटो समयमै उपलब्ध गर्न पाउन भन्ने उद्देश्यले स्थानीय ब्यापारी सँग सहजीकरण गरी सबै खाले सामान उपलब्ध गराएको मुगुम कार्मारोङ गाउँपालिका दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना संयोजक मुकुन्द बहादुर रावलले बताउनुभयो ।
सयोजक रावलका अनुसार यहाँ पाउने शौचालयका सबै सामग्री पानी प्रयोग कम हुने नयाँ प्रबिधिका स्याटो प्यान र ढुवानी गर्दा समेत हल्का हुने र टुटफुट समेत नहुने भएकाले पनि स्थानीयका शौचालय सुरक्षित र दिगो हुनेछ ।