कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा सञ्चालित कलुवापुर खानेपानी आयोजना १४ बर्षपछि सञ्चालनमा आएको छ । पाँच करोड रुपैयाँको लागतमा २०६७ सालदेखि सुरु भएको खानेपानी आयोजना बल्ल आंशिक रुपमा सञ्चालनमा आएको हो ।
बजेट अभाव, कोरोना महामारी लगायत कारणले निर्माण कार्य ढिलो भएको उपभोक्ता समितिले जनाएको छ। आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्न अझै केही समय लाग्ने जनाएको छ।
आयोजना अन्तर्गत दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्की, दुईवटा डिपट्युबेल जडान, ५० किलोमिटर पाइप लाइन विस्तार गरिएको छ । उपभोक्तालाई चौबीसै घण्टा दैनिक पानी उपलब्ध गराउने व्यवस्था गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार दमाईले बताउनुभयो ।
उहाँका अनुसार हालसम्म निजी पाँच सय ६५, सार्वजनिक तीनवटा धारा जडान गरिएको छ । आठ कठ्ठा क्षेत्रमा पक्की पर्खाल सहितको आयोजनाको कार्यालय भवन निर्माण गरिएको छ । यसका अतिरिक्त पानी प्रशोधनका लागि संयन्त्र निर्माण, भल्व च्याम्बर २७ वटा, मेन भल्व च्याम्बर एक र पानी परीक्षण गर्ने मेसिन एक राखिएका छन । आयोजनाको रेखदेख र सञ्चालनका लागि तीन जना कर्मचारीको व्यवस्था गरिएको छ ।
समितिले धारा जडानका लागि रु दुई हजार शुःल्क लिने गरेको छ । पानीको महसुलदर १० युनिट सम्म खपत गर्ने ग्राहकबाट रु एक सय शुल्क लिने गरिएको समितिका कोषाध्यक्ष टेकबहादुर भण्डारीले बताउनुभयो । “उपभोक्तालाई सुरक्षित खानेपानी उपलव्ध गराउन महिनाको दुई पटक ट्याङ्की सरसफाइ गर्ने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “पानी परीक्षण संयन्त्रबाट वितरण गरिने पानीको गुणस्तर मापन कार्य पनि हुन्छ, पानीको आपूर्तिमा बाधा आउन नदिन टुटफुट भएका ठाउँमा तत्कालै कर्मचारी खटाएर मर्मत हुन्छ ।”
विद्युत् अभाव भएका बेला पानी निरन्तर उपलब्ध गराउन भने कठिनाइ हुँदै आएको उहाँले उल्लेख गर्नुभयो । आर्थिक अभावले सोलार तथा जेनेरेटरको व्यवस्था गर्न नसकिएकाले अनुदानमा उपलब्ध गराउने दातृ निकायको खोजीमा रहेको उहाँले बताउनुभयो ।
वडाको वर्तमान जनसङ्ख्या १५ हजार एक सय ३० छ । जसमा एक हजार सात सय परिवार रहेका छन् । सबै घरपरिवारमा खानेपानी पु..याउने लक्ष्यका साथ समितिले काम अगाडि बढाउँदै आएको जनाएको छ ।