युनिसेफ र खानेपानी मन्त्रालय बीच सहकार्यका बिषयमा द्विपक्षीय छलफल

  वास खबर सम्बाददाता  439 पटक हेरिएको

काठमाडौ : खानेपानी मन्त्रालय र युनिसेफ बीच सहकार्य गर्न सकिने खानेपानी र सरसफाइ सम्बन्धी बिषयमा छलफल भएको छ । खानेपानी मन्त्री प्रदीप यादव, खानेपानी मन्त्रालयका सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्य, मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठ र युनिसेफ नेपालका प्रतिनिधी बीच खानेपानी र सरसफाइ क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्य सम्बन्धी छलफल भएको हो ।

खानेपानी मन्त्रालयमा भएको द्धिपक्षीय छलफलमा खानेपानी मन्त्री प्रदीप यादवले खुला दिसामुक्त अभियानका क्रममा युनिसेफले पुर्‍याएको योगदानको लागि धन्यबाद व्यक्त गर्दै अब पूर्ण सरसफाइको क्षेत्रमा समेत उस्तै भूमिकाको अपेक्षा रहेको बताउनुभयो ।

दिगो विकास लक्ष्य SDG 6 अन्तर्गत वास सम्बन्धी लक्ष्यहरू पूरा गर्न दीर्घकालीन रणनीतिक योजना बनाउन युनिसेफले सहजीकरण गर्नुपर्ने, ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा खानेपानी पहुँच पुर्‍याउने तथा पुराना प्रणालीहरूको नवीकरणमा युनिसेफको प्राविधिक एवं वित्तीय सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । छलफलमा मन्त्री यादवले ७५३ वटै पालिकाहरुको वास प्लान बनाउन सहकार्य गर्नुपर्ने, प्राविधिकहरुलाई स्वदेश वा विदेशमा तालिम दिलाउन संयुक्त पहल गर्ने, समुदायमा सुरक्षित पानीको पहुँच बढाउन सुरक्षित खानेपानीयुक्त समुदाय बनाउन प्रत्येक वितरण प्रणालीमा क्लोरिन राख्ने यन्त्र (क्लोरिन डोजिङ युनिट) जडान गर्ने अभियानमा सहयोग गर्ने, स्थानीय तह वा उपभोक्ता समितिहरूलाई तालिम, उपकरण तथा प्राविधिक सहयोग प्रदान गरी पानीको गुणस्तर जाँच, शुद्धीकरण र गुणस्तरीयता मापन प्रणाली थप मजबुत पार्न युनिसेफ सँग सहकार्य गर्न सकिने बताउनुभयो ।

यस्तै खानेपानी आयोजना सञ्चालन, निगरानी र मूल्याङ्कन गर्ने स्थानीय विशेषज्ञ तथा युवा स्वयंसेवकहरू तयार पार्न संयुक्त कार्यक्रम सञ्चालन गर्ने, बाढी, पहिरो, खडेरी जस्ता जलवायु सम्बन्धी समस्याहरूको प्रभाव, खानेपानीको स्रोत र सरसफाइमै प्रत्यक्ष पर्ने भएकाले जलवायु परिवर्तन तथा प्राकृतिक विपद्‌सँग जुझ्न पूर्वतयारी जस्ता विपद् व्यवस्थापन योजना युनिसेफ सँग मिलेर बनाउने बिषयमा द्विपक्षीय छलफल भएको थियो ।

यस्तै उपयोगी जलाशय निर्माण, जलस्रोत पुनर्भरण प्रबन्ध, जलस्रोत संरक्षण तथा सामुदायिक सचेतना कार्यक्रमहरू, विपद्‌को बेला खानेपानी तथा सरसफाइ सेवाको शीघ्र पुनर्बहालीका लागि तालिम प्राप्त कर्मचारी तथा आपत्कालीन राहत सामग्रीको संकलन र व्यवस्थापन गर्ने, पूर्वसूचना प्रणाली तथा अस्थायी खानेपानी आपूर्ति प्रणाली सिर्जना गर्ने, विभिन्न सञ्चार माध्यमबाट सचेतनामूलक कार्यक्रमहरूको समन्वय एवं सामग्री उत्पादनमा जोड दिने, खानेपानी तथा सरसफाइको अवस्थाको यथार्थ जानकारी उपलब्ध गराउन नियमित तथ्यांक संकलन, डिजिटल डाटाबेस, जिआईएस म्यापिङ् आदि कार्य मिलेर अघि बढाउने बिषयमा पनि छलफल भएको छ।

युनिसेफले विगत ६ दशक देखि नेपाल सरकारसँग सहकार्य गर्दै आईरहेको छ । युनििसेफले खानेपानी तथा सरसफाइ पहुँचको अभावमा जोखिमपूर्ण जीवन यापन गरिरहेका महिला तथा बालबालिकाहरुको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको चुनौतीसँग जुध्न खानेपानी र सरसफाइमा पहुँच अभिवृद्धिका विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार