कोखारी गाउँ बन्यो पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय

  वास खबर सम्बाददाता  319 पटक हेरिएको

मकवानपुर : मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँपालिकाको वडा नंं.९ स्थित कोखारी गाउँलार्ई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता र कार्यपालिका सदस्य शान्ता अर्यालको अध्यक्षतामा कोखारी गाउँलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । गाउँका ३९ घरधुरीहरु समेटेर पालिकाकै पहिलो पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।

गाउँपालिकाको सरसफाइ तथा स्वच्छता सम्बन्धी नीतिगत व्यवस्थालाई सहयोग पुर्‍याउने उद्देश्यले राक्सिराङ्ग गाउँपालिकासँगको समन्वयमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले डब्लुएचएचको सहयोगमा सञ्चालन गरेको खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजनाको सहजीकरणमा पालिकाका सबै वडामा पूर्ण सरसफाइ अभियान सञ्चालन भैरहेको छ ।

पूर्ण सरसफाइ मार्गदर्शन २०७३ ले निर्दिष्ट गरे अनुसारका ७ वटा मुख्य सूचक तथा अन्य उपसूचकहरुको आधारमा वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति र गाउँपालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले अनुगमन तथा प्रमाणीकरण गरी घोषणाको लागि सिफारिस गरिएको हो । पूर्ण सरसफाइका मुख्य ७ वटा सूचकहरुमा १) चर्पीको समुचित प्रयोग २) व्यक्तिगत सरसफाइ ३) सुरक्षित पानीमा पहुँच तथा प्रयोग ४) सुरक्षित र स्वच्छ खाना ५) घरायसी एवंम संस्थागत सरसफाइ ६) वातावरणीय सरसफाइ र ७) योजना तर्जुमा तथा कार्यान्वयन रहेका छन्।

कोखारी बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सहजकर्ता बाल कृष्ण खत्रीले खानेपानी प्रणालीको दीगोपना कायम गरी गाउँमा सरसफाइको अवस्थालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

घोषणा सभामा महिला समुहले सरसफाइ र स्वच्छता सम्बन्धी सन्देशमुलक गीतहरु प्रस्तुत गरेका थिए । स्थानीय शाइसा मल्लले सरसफाइ सम्बन्धी गीति कविता बाचन गर्दै अतिथिहरुलाई स्वागत गर्नु भएको थियो ।


कार्यक्रममा आरआरएनका कार्यक्रम संयोजक लिल कार्कीले गाउँपालिकासँगको समन्वयमा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यक्रम विगत दुईवर्ष देखि सञ्चालन तथा ब्यवस्थापन गर्दै आएकोे जानकारी गराउनु भयो । कोखारी स्वास्थ्य संस्थाका प्रमुख जीवन मल्लले सरसफाइ र स्वच्छताको क्षेत्रमा संस्थाले सञ्चालन गरेको सचेतनामुलक कृयाकलापहरुको नजिता चेपाङ्ग समुदायको बाहुल्यता रहेको पार्सिवाङ्ग जस्तो पछाडि पारिएको क्षेत्रमा समेत सरसफाइ सम्बन्धी व्यवहारमा सुधार आएको आफूले देखेको बताउनु भयो ।

वडा नं. ४ का वडाध्यक्ष सञ्जय कोइरालाले संस्थाले खानेपानी सरसफाइको क्षेत्रमा गरेको काम नतिजामूखी रहेको बताउनुभयो । कार्यक्रमा सहयोगी संस्था नेपाल ग्रामीण पुननिर्माण संस्था (आरआरएन) का कार्यक्रम व्यवस्थापक निराजन पोखरेल संस्थाको कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सरसफाई तथा स्वच्छता अभियानलाई गाउँपालिकाको समन्वयमा अन्य वडा एवंम टोलहरुमा समेत विस्तार गर्दै पूर्ण सरसफाइ उन्मूख टोल घोषणा गर्न पालिकालाई सहजीकरण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

घोषणा सभामा प्रमाण पत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाको नीति तथा कार्यक्रम लक्षित क्रियाकलापहरु सञ्चालन गर्दै स्थानीय स्तरमा देखिएको समस्या विशेष गरी खानेपानी तथा सरसफाइको क्षेत्रमा आरआरएन तथा डब्लुएचएचको उल्लेनीय भूमिका रहेको बताउनुभयो ।

घोषणा सभामा अतिथिको रुपमा राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, वडा नंं. १ का अध्यक्ष बाबिराम मोक्तान, वडा नंं. ३ का अध्यक्ष उत्तम वाइवा, वडा नंं. ४ का अध्यक्ष सञ्जय कोइराला, वडा नंं. ५ का अध्यक्ष हरि बहादुर प्रजा र वडा नंं. ६ का अध्यक्ष अकल बहादुर मोक्तान लगायतको समेत उपस्थिति थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार