धादिङमा बेकारबाट आविस्कार तालिम

  वास खबर सम्बाददाता  96 पटक हेरिएको


धादिङ : धादिङमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गरी वातावरण संरक्षण गर्ने उद्देश्यले फोहोर व्यवस्थापन सम्बन्धी तालिम दिईएको छ । बेकारबाट आविस्कार नारा दिईएको तालिममा खेर गएका मिनिरल वाटर, कोक, फेन्टा जस्ता पेय पदार्थका बोतलबाट विभिन्न घरायसी प्रयोजनका डोरीहरु, बाख्रा, गाई, गोरु, भैंसी बाँध्न मिल्ने, लुगा सुकाउने, टनेलमा लगाउने पिङ, झाडु बनाउने जस्ता सामग्रीहरु बनाउन सिकाईएको थियो ।

त्यस्तै खेर गएका सिमेन्टका बोराहरुबाट आकर्षक माला, सजावटका फुलहरु जस्ता आकर्षक सामाग्रीहरु समेत बनाउन सिकाईको थियो ।

घरबाट निस्कने प्लाष्टिकजन्य फोहोरलाई साना साना आकारमा काटेर एक मिनिरल वाटरको बोतलमा कोच्दा एक बोरा फोहोरलाई एउटा मिनिरल वाटरको बोतलमा कोच्न सकिने एक अध्ययनले देखाएको र सोही कुरा तालिममा पनि सिकाईएको सामुदायिक रुपान्तरण समाज नेपाल धादिङका प्रोजेक्ट म्यानेजर ईन्द्रमान शाक्यले बताउनुभयो ।

उहाँले प्लाष्टिकजन्य फोहोरलाई उल्लेखनीय परिमाणबाट घटाउन मिनिरल वाटरको बोतलमा प्लष्टिकजन्य फोहोर कोच्ने विधि उपयुक्त हुने र त्यसै बोतलबाट मुडा गमला जस्ता सामाग्रीहरु बनाउन पनि सकिने बताउनुभयो ।

दिनानुदिन बढ्दै गइरहेको शहरीकरण र सुविधाको खोजीमा मानिसहरुले धेरैै वस्तुहरु बजारबाट आयात गदैं गर्दा शहरमा मात्र नभै गाउँघरमा पनि प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्न चुनौती भइरहेको अवस्थामा सामुदायिक रुपान्तरण समाज नेपाल धादिङले तालिम आयोजना गरेको हो ।

अहिले गाउँघर र शहरी क्षेत्रमा फोहर व्यवस्थापनको नाममा प्लाष्टिकजन्य फोहोरहरु जलाउने कार्य भइरहेको छ । ती जलाइएका वस्तुबाट कार्बनमनोअक्साइड जस्ता विषालु ग्याँस पैदा हुने र त्यस्ता ग्याँसले मानव शरीरमा प्रतिकुल असर पर्ने र क्यान्सर जस्ता प्राणघातक रोगहरु लाग्ने भएकाले स्थानीय तहहरुले अन्य क्षेत्रमा विकास निर्माणका कार्यहरु गर्दा वातावरणीय प्रदुषण नियन्त्रण गर्ने तर्फ पनि ध्यान दिनुपर्ने शाक्यले बताउनुभयो ।

प्लाष्टिकजन्य फोहोरलाई मोहोरमा बदल्न यस्तै सिर्जनात्मक र रचनात्मक ढङ्गले विभिन्न वस्तुहरु निर्माण गरी आर्थिक उपार्जनमा पनि सहयोग पुग्ने र ती वस्तुहरुबाट हुने हानीहरुलाई नियन्त्रण गर्न सकिने शाक्यले बताउनुभयो ।

तालिममा सिकेको सिप अनुसारले प्रशिक्षार्थीहरुले फोहोर व्यवस्थापन गर्न सकेमा तालिम फलदायी हुने प्रशिक्षक राजेन्द्र प्रसाद कंडेलले बताउनु भयो । तालिममा सहभागी प्रशिक्षार्थीहरुले जीवनउपयोगी सीप प्रदान गरेको भन्दै संस्थालाई धन्यवाद दिनुका साथै यस्तो सुनौलो अवसरमा आफु प्रतिनिधी भएर सहभागी हुने मौका पाएकोमा खुशी व्यक्त गरेका छन् । उनीहरुले आफूले सिकेका सीपलाई आफ्नो वरपर रहेका छिमेकीहरुलाई समेत सिकाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

तालिममा नीलकण्ठ नगरपालिका, ज्वालामुखी, सिद्धलेक, खनियाबास, गंगाजमुना र रुबीभ्याली गाउँपालिकाका गरी २१ जनाको सहभागिता थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार