सिन्धुपाल्चोक : जथाभावी फोहोर फाल्दा धार्मिक महत्त्व बोकेका स्थानछेउ भएर बग्ने भोटेकोशी र सुनकोशी नदी प्रदूषित बनेका छन् । बलेफी गाउँपालिकाको मुख्य बजार खाडीचौरबाट जम्मा हुने फोहोर नदीको बगरमा फाल्ने गर्दा प्रदूषित बढेको हो ।
अरनिको राजमार्गमा पर्ने खाडीचौर दोलखा, रामेछाप सहित विभिन्न स्थानीय तहको केन्द्र पुग्नु अघिको मुख्य बजार पनि हो । यहाँ आकर्षक मानेर्छ्योतेन र बगरमा केही पुराना मन्दिर पनि छन् । वरपर बजारबाट प्लास्टिक, बोतल, सिसाजस्ता हानिकारक फोहोर यही बगरमा थुपारिँदा वातावरण दुर्गन्धित बनेको छ । लामो समयदेखि बाह्रबिसे नगरपालिकाले फोहोर संकलनका लागि टिपर र संकलकको व्यवस्था गरेर बजार सफा राख्ने प्रयास गरिरहेको छ । तर, नगरमा जम्मा गरिएको फोहोर भने महभिरक्षेत्रबाट नदीमा फाल्ने गरिएको छ ।
बलेफी र बाह्रबिसे नगरमा केहीले भने फोहोरमैला र ढल सिधै सुनकोशी नदीमा फाल्ने गर्छन् । फोहोर फाल्ने स्थान स्थानीय सरकारले नतोकेका कारण नदी किनारमा फाल्ने गरेको स्थानीयको भनाइ छ । महभिरमा फालिएको फोहोर कुहिँदा र जलाएको धूवाको दुर्गर्न्धले पारि सुनकोशीको पुरानो बस्ती र बजार प्रताडित छ ।
सुनकोशीमा पाँच सय वर्षभन्दा पुरानो मानिने कफेश्वर महादेवको मन्दिरभन्दा तल्लो बगरमा सुनकोशी बगेर भोटेकोशीमा मिसिन्छ । घाटसमेत रहेको उक्त स्थान त्रिवेणी धाममा स्नान र पूजाका लागि जनैपूर्णिमाका दिन भीड लाग्छ । फोहोरको दुर्गन्धले तीर्थालु दिक्क हुने गर्छन् । फोहोर फ्याँक्न नदीको बदलामा जुरेपहिरोमा विकल्प खोजिनुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।
‘घर अगाडि फोहोरको थुप्रो भएकाले रातदिन नाक थुनेर बस्नुपर्छ, दुर्गन्ध खप्न नसकेर धेरै पटक बिरामी भइसकें,’ खाडीचौरकी सानु श्रेष्ठले भन्नुभयो ‘यहाँ फोहोर नफाल्नूस् भन्दा कहाँ फाल्ने ठाउँ देखाउनूस् भन्छन्, म त वाक्कदिक्क भएर चुप बसेको छु ।’
बाह्रबिसे नगरपालिका राम्चेमा केही स्थानीयले टोल सुधार समिति बनाएर घरबाट निस्कने ढलका लागि सेफ्टी ट्यांकी बनाएका छन् । उता चौतारा साँगाचोकगढी नगरले बाह्रबिसेले झै फोहोर व्यवस्थापनका लागि फोहोर सवारी र संकलकको व्यवस्था गरेको छ । यता पनि चौतारा बजारभन्दा धेरै परको जंगलको बीचमा ‘डम्पिङ साइड’ तोकेर त्यहाँ फोहोर जम्मा गरेर फाल्ने गरिन्छ । मेलम्ची नगरमा समेत फोहोरको समस्या उस्तै रहेको खबर कान्तिपुरमा छ। । इन्द्रावती नदी र नालीमा फोहोर फाल्दा नगर दुर्गन्धित बन्दै गइरहेको स्थानीयको भनाइ छ ।
फोहोर व्यवस्थापनका लागि भूगोल र वातावरण अध्ययन गर्दै कार्ययोजना बनाइरहेको जिल्ला भरका तीन नगर र नौ गाउँपालिकाले जनाएका छन् । स्थानीय तहले नीति तथा कार्यक्रममा वातावरणमैत्री रूपमा फोहोर व्यवस्थापन गरिने भनेर समावेश गरे पनि कार्यान्वयनमा भने आएको देखिँदैन ।