कम्पोष्ट मल उत्पादन तथा प्रशोधन केन्द्रको अवलोकन पछि जनाए यस्तो प्रतिबद्धता

  वास खबर सम्बाददाता  498 पटक हेरिएको


काठमाडौ : ललितपुरको गोदावरी नगरपालिकामा फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको सिर्जनसीप सेवा प्रा. लि. का व्यवस्थापक तथा सरसफाइ कर्मचारीले काठमाडौको शंखरापुर नगरपालिका स्थित कम्पोष्ट मल उत्पादन तथा प्रशोधन केन्द्रको अवलोकन गरे । यसको चाँजोपाँजो मिलाएको थियो, गोदावरी प्रावल्य वास परियोजनाले ।

शंखरापुर नगरपालिकाले फोहोर व्यवस्थापनमा अपनाउँदै आएको नवीन प्रविधि, तौरतरिका र व्यवस्थापकीय सीपलाई गोदावरी नगरपालिकाको फोहोर व्यबस्थापनमा समेत अबलम्बन गराउने उद्देश्यले अवलोकन भ्रमणको आयोजना गरिएको थियो।

शंखरापुर नगरपालिकामा सुरु देखि नै ब्लु वेष्ट टु भ्यालु नामक कम्पनीले फोहोर व्यवस्थापन गर्दै आएको छ । कम्पनीका जनरल म्यानेजर रोनिश शाक्यले कम्पनीले घरघरबाट फोहोर संकलन गरी त्यसको प्रशोधन गर्ने प्रक्रिया र बजारीकरण सम्मको चरणबारे बताउनुभयो।


सुरुमा घरघरमै कुहिने र नकुहिने फोहोर वर्गीकरण हुने र त्यसलाई छुट्टाछुट्टै बारमा संकलन गरी प्रशोधन केन्द्रमा ल्याईने उहाँले बताउनुभयो । प्रशोधन केन्द्रमा ल्याएपछि कुहिने फोहोरबाट कम्पोष्ट मल र नकुहिने फोहोरबाट विभिन्न वस्तुहरु उत्पादन गरी विक्री गरिरहेको म्यानेजर श्रेष्ठले बताउनुभयो।

उहाँले प्रशोधन केन्द्रमा फोहोरहरुलाई कसरी प्रशोधन गरिन्छ र कुहिने फोहोरबाट कसरी मल बनाईन्छ ? त्यसको अवलोकन गरेर समेत देखाउनुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

कम्पनीले शंखरापुर नगरपालिका भित्रको फोहोरलाई प्रशोधन गरी शून्यमा झार्ने र विभिन्न स्वरुपमा बदलेर बातावरण प्रदुषण हुनबाट जोगाएको छ।

उक्त प्रशोधन केन्द्रमा हिजोआज विभिन्न नगरपालिका, विश्वविद्यालयका विद्यार्थी र विभिन्न अनुसन्धाता समेत दैनिक अवलोकनका लागि पुग्ने गरेका छ । कम्पोष्ट मल उत्पादन तथा प्रशोधन केन्द्रको अवलोकन गरे पछि आयोजित अनुशिक्षण कार्यक्रममा गोदावरी प्रावल्य वास परियोजनाका प्रमुख आनन्द गौतमले सरसफाइ कर्मचारीले आफ्नो र परिवारको स्वास्थ्य सुरक्षाका लागि सुरक्षात्मक उपायहरु अपनाउनुपर्ने बताउनुभयो ।


उहाँले सरसफाइकर्मीले कार्यस्थलमा काम गर्दा अनिवार्य मास्क,पञ्जा र गम्बुट लगाउनुपर्नेमा जोड दिनुभयो । सिर्जनसीप सेवा प्रा.लि.का व्यवस्थापन तहका कर्मचारी, सरसफाइकर्मी र गोदावरी नगरपालिकाको विपद तथा वातावरण शाखाका कर्मचारीहरुले आगामी दिनमा निम्न कार्यहरु गर्न गराउन प्रतिबद्धता समेत जनाएका छन्।

√ फोहोरमैला संकलन, बर्गीकरण केन्द्रमा काम गर्दा अनिवार्य मास्क, पञ्जा, बुट तथा पिपीई सेट लगाउनुपर्ने र लगाउने

√ चेन्जिङ रुममा लकर बनाउनुपर्ने

√ मास्क दिनको २ पटक चेन्ज गर्नुपर्ने

√ महिनावारीको समयमा प्याड अनिवार्य गरिनुपर्ने

√ खानेपानीको राम्रो व्यबस्था गर्नुपर्ने ।

√ हावा आउने व्यवस्था राम्रो हुनुपर्ने यसका लागि पंखाको संख्या थप्नुपर्ने ।

√ कार्यरत क्षेत्रमा प्रयोग भएका लगाईका ड्रेस खाना खाने समयमा फेर्नुपर्ने र कार्यरत क्षेत्रबाट बारि नजाने

√ पुनः प्रयोगमा आउने सर सामान प्रयोग गर्न मिल्ने÷नमिल्ने सोधेर मात्र लैजाने व्यवस्था गर्ने । मापदण्ड नै बनाउने ।

√ कर्मचारीसँग सम्झौता अनिवार्य गर्नुपर्ने ।

√ कर्मचारीको सामूहिक बीमा गर्नुपर्ने ।

√ पिपीई प्रत्येक कर्मचारीलाई २ जोर उपलब्ध गराउनुपर्ने

√ आईडी कार्ड अनिवार्य लगाउनुपर्ने

√ कार्यस्थलमा साबुन, स्याम्पु, अनिवार्य व्यवस्था गर्नुपर्ने

√ फोहोर संकलन केन्द्र सञ्चालन मापदण्ड (S.O.P) बनाएर लागु गर्ने ।

नियम पालना नगरे कार्वाही हुने

गोदावरी नगरपालिकाको विपद तथा वातावरण शाखाका प्रमुख अनिता बोहोराले सरसफाइकर्मीहरुको स्वास्थ्य सुरक्षा प्रति नगरपालिका संवेदनशील रहेको र यस प्रति सम्बन्धित सफाइ कर्मचारी र सेवा प्रदायक कम्पनीले ध्यान दिनुपर्ने बताउनुभयो । ‘अब यी शर्तहरु पालना भए नभएको नगरपालिकाले अनुगमन गर्नेछ, अनुगमन गर्दा पालना गरेको नभेटिए कार्वाहीको भागिदार हुनुपर्नेछ’ उहाँले भन्नुभयो।


केही समय अघि अनुगमनको शीलशीलामा फोहोर वर्गीकरण केन्द्रमा पुग्दा सरसफाइकर्मीहरुको अवस्था निक्कै नाजुक भएको पाईएको र अगामी दिनमा यस्तो पाईएमा कार्वाही हुने उहाँले बताउनुभयो।

सरसफाइकर्मीले आफ्नो स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिनुपर्ने र कथंकदाचित रोग लागेमा वा दुर्घटना भएमा कम्पनीको तर्फबाट स्वास्थ्योपचार गराईदिने गरी स्वास्थ्य तथा दुर्घटना बीमा लगायतको सुविधा उपलब्ध गराउन उहाँले कम्पनी समक्ष अनुरोध गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार