विद्यालयमा पहुँचयुक्त धारा निर्माण पछि खानेपानीको सुविधा

खानेपानी र शौचालयको सुविधापछि विद्यार्थीको बढ्यो नियमितता

  वास खबर सम्बाददाता  302 पटक हेरिएको

वीरेन्द्रनगर : सुर्खेतको भेरीगंगा नगरपालिका— २ मोहटीस्थित सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् बिनिता शाही । घरबाट करिब आधा घण्टाको पैदल दूरीमा छ स्कुल । तैपनि बिनितालाई स्कुल जानै मन लाग्दैन्थ्यो, अभिभावकले दिनहुँ कर गर्नुपर्थ्यो । किनभने उनलाई विद्यालय आउन आधा घण्टा लाग्थ्यो तर विद्यालय आइसकेपछि फेरि पानी खान ४५ मिनेटको दूरी पैदल हिँडेर फेरि गाउँ जानुपर्थ्यो। तर अहिले उनी उत्साहित भएर विद्यालय आउँछिन् ।

उनले भनिन्, ‘मलाई पहिले खानेपानीको समस्याकै कारण विद्यालय आउन मनलाग्दैन थियो । विद्यालयमा बोतलमा भरेर बिहान ल्याएको पानी हाफटाइमसम्म पुग्दैन थियो । फेरि पानी लिन जान आउन करिब डेढ घण्टाको पैदल हिँड्नु पथ्र्यो । पानी पिउनै जाँदा थकाइ लाग्थ्यो । विद्यालयमा पढ्न मन पनि लाग्दैनथियो । कहिलेकाहीँ त पानी खान जाँदा आधा पढाइ नै छुट्थ्यो । तर अहिले हाम्रो विद्यालयमा बालमैत्री धारा बनेको छ । हामीले जति बेला पनि शुद्ध पिउने पानी विद्यालयमै कल कल खान पाउने भएका छौं ।’

सामुदायिक विद्यालय मोहटीमा कक्षा ९ मै अध्ययनरत अर्का छात्र नवीन मिजारको पनि पीडा उस्तै थियो । उनले भने, ‘गाउँमा पानी भर्ने बोतलहरू पनि नपाइने हुनाले प्लास्टिकको बट्टामा पानी भरेर विद्यालय ल्याउनु पर्थ्यो । त्यो पनि दिनभरलाई पुग्दैनथियो । कहिले त साथीहरूले पनि खाइदिन्थे । फेरि पानी लिन जाँदा पढाइ नै छुट्थ्यो । त्यसैले विद्यालय आउन मन लाग्दैनथियो । तर अहिले हाम्रो गाउँमा भन्दा विद्यालयमा राम्रो पानीको व्यवस्था छ । महिला पुरुष शौचालयको पनि उस्तै राम्रो व्यवस्था छ । त्यसैले अहिले खुसीले विद्यालय आउन मन लाग्ने भएको छ ।’

बिनिता र नवीनजस्तै हिजो आज मोहटीको विद्यालयमा पढ्ने सबै विद्यार्थी खुसीका साथ विद्यालय आउन थालेका छन् । विद्यालयमा व्यवस्था गरिएको बालमैत्री स्वच्छ खानेपानी धारा र छात्रछात्रा शौचालयले यहाँका विद्यार्थीको मुहारमा खुसी ल्याएको छ । उनीहरू सबै दंग छन् । सामुदायिक विद्यालय मोहटीमा कक्षा ६ मा अध्ययनरत उमेश विकले भने, ‘स्कुलमा बालमैत्री धारा छ । जहाँ नियमित पानी आउछ । ट्वाइलेट पनि सफा र सुरक्षित छ । त्यसैले आजकल त स्कुल जान झ्याउ लाग्दैन ।’

सुन्दा सामान्य लाग्न सक्छ, तर मोहटीका विद्यार्थीले वर्षौँदेखि भोगेको पीडा र खानेपानी उपलब्ध भए पछि उनीहरूमा देखिएको सकारात्मक परिवर्तन उल्लेखनीय छ । दुई महिनापहिले त्यस विद्यालयमा विद्यार्थीको नियमितता र अहिलेमा निकै परिवर्तन भएको छ । विद्यालयका प्रधानाध्यापक भीमबहादुर राउवतले भने, विद्यालयमा खानेपानी र शौचालयको समस्याले विद्यार्थी नियमितता हुँदैनथियो । निकै समस्या भोगिरहेका थियौं । तर अहिले भेरीगंगा नगरपालिकाको समन्वयमा केएनएफआईडी नेपालले बालमैत्री धारा र बालमैत्री शौचालय निर्माण गरिदिँदा विद्यालयमा विद्यार्थीको नियमितता ह्वात्तै बढेको छ ।’

उनका अनुसार मोहटी विद्यालयका झन्डै ५ सय विद्यार्थीलाई पानी पिउनकै लागि दिनहुँ समस्या हुन्थ्यो । विद्यालयको सय मिटर तल भेरी बगिरहेको थियो । तर त्यहाँ जान सहज थिएन । विद्यालयको मुनि भीर भएकाले विद्यालय जालीले घेरबार गरिएको थियो । तर केएनएफआईडी ७५ मिटर गहिरो डिपबोरिङ हानेर ल्याब टेस्ट गरी १३ लाख लागतमा नियमित पर्याप्त शुद्ध पानी निकालिदिएपछि अहिले निकै सहज भएको छ । त्यसैले ९ लाखको लागतमा बालमैत्री शौचालय पनि बनाइदिएपछि त झन् सुविधायुक्त विद्यालय बनेको छ । जसमा भेरीगंगा नगरपालिका, विद्यालय व्यवस्थापन समिति र केएनएफआईडीको उल्लेखनीय भूमिका रहेको छ ।

भेरीगंगा—२ को सामुदायिक माविमा मात्र होइन, वडा नं. ४ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि २२ लाखको लागतमा बालमैत्री धारा र बालमैत्री शौचालय निर्माण गरिएको छ । भेरीगंगा—२ को सामुदायिक माविमा निर्माण भएका बालमैत्री धारा र शौचालय सोमबार उद्घाटन गर्दै भेरीगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकालले भने, ‘सहयोगी हातहरूले हाम्रो नगरपालिकाको दुई वटा विद्यालयमा निकै राम्रा बालमैत्री धारा र सुविधायुक्त बालमैत्री शौचालय निर्माण गरिदिए । अब नगरका अन्य वडामा रहेका विद्यालयमा पनि सहयोग गर्न हामीले केएनएफआईडीलाई आग्रह गरेका छौं ।’

केएनएफआईडीका निर्देशक नारायण गिरीले भेरीगंगा नगरपालिकाका दुई वटा विद्यालय मात्र नभई कर्णालीका विभिन्न जिल्लामा बालमैत्री धारा, शौचालय निर्माणका साथै अन्य सरसफाइका कामहरू भइरहेका छन् । उनले भने, ‘विद्यार्थीको सुविधालाई मध्यनजर गरी हामीले हरेक विद्यालयलाई सुविधा सम्पन्न बनाउने अभियान चलाइरहेका छौं । तर बनेका यी संरचनाहरूको दिगोपनाका लागि नगरपालिका र विद्यालयले ध्यान दिनुपर्छ ।’

कार्यक्रममा भेरीगंगा नगरपालिका उपप्रमुख धनसरा बोहोराले भेरीगंगा नगरपालिकाले विभिन्न सहयोगी हातहरूसँग समन्वय गरी सबै विद्यालयहरूलाई सुविधायुक्त बनाउँदै जाने बताइन् । उनले भनिन्, ‘हामी जनताका समस्याहरू समाधानका लागि अभियानमै छौं । जसका लागि सहयोगी नियकाहरूसँग समन्वय गरिरहेका छौं ।

कार्यक्रममा वल्ड सेयरका कन्ट्रि डाइरेक्टर हेलिम जङले विद्यालयमा बनेका धारा र शौचालयलाई आफ्नै घरको जसरी संरक्षण गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘विद्यालय हाम्रो हो । विद्यालयमा बनेका संरचनाहरू पनि हाम्रा हुन् । हामीले नै यसको संरक्षण र सरसफाइमा ध्यान दिनुपर्छ भन्ने भावना सबैको हुनुपर्छ ।’ कार्यक्रममा भेरीगंगा नगरपालिका प्रमुख ढकालले बालमैत्री धारा र शौचालय निर्माणको काम समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी अमर शाही र सहयोगी निकायहरूलाई सम्मान गरेको खबर अन्नपूर्ण पोष्टले प्रकाशन गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार